भर्खरै :

राज्यस्तरको षड्यन्त्र भक्तपुर काण्ड घटना अघि र पछि – ५

राज्यस्तरको षड्यन्त्र भक्तपुर काण्ड घटना अघि र पछि – ५

५. सङ्घ–संस्था र नेताहरूको प्रतिक्रिया, जाँच आयोगको माग
११ भदौ २०४५ को दिन काठमाडाँैमा श्री चुडाप्रसाद शर्माको अध्यक्षतामा एक भेला भएको थियो । भेलामा नुतन थपलिया, रामानन्दप्रसाद सिंह, खुशीलाल मण्डल, तेजसिंह मल्ल, बासुदेव यादव, , द्वारिकाराज उप्रेती, सुदीप पाठक, सूर्यनारायण यादव, नदनकुमार शर्मा, कपिल श्रेष्ठ, पीर उदीन मीर, प्रेमकृष्ण पाठक, तुल्सीलाल अमात्य, पदम ठकुराठी, पद्मरत्न तुलाधर, प्रदीप गिरी, हृषिकेश शाह, आनन्दप्रसाद आचार्य र पुरुषोत्तम दाहाल आदि उपस्थित हुनुहुन्थ्यो ।
त्यस भेलाले एक वक्तव्य प्रकाशित गरी भनेको छ, “यही भदौ ९ गते भक्तपुरमा घटेको कर्णप्रसाद ह्योजुको हत्यामा जुन तत्व सामेल छ, त्यसको भत्र्सना जति गरे पनि थोरै हुनेछ । यस किसिमको अपराध कर्ममा प्रत्यक्ष वा परोक्ष रूपमा संलग्न रहेका तत्वलाई चिन्नु, चिनाउनु र दण्डित गर्नु सरकारको काम हो भने यस्ता हुलहुज्जतबाट जनतालाई आवश्यक सुरक्षा गर्नु सरकारको प्रथम दायित्व पनि हो । तर, यस्तो नाजुक अवस्थामा हत्पत् मौका छोपेझैँ गरी पुरानो राजनीतिक रिसइबी फेर्नको निम्ति भक्तपुरका जनप्रतिनिधि माननीय गोविन्द दुवाल तथा सुप्रसिद्ध नेता नारायणमान बिजुक्छँेलाई समेत पक्राउ गरेकोमा हामी क्षुब्ध भएका छौँ ।
‘नेपालमा मानवअधिकारको प्रतिष्ठाका निमित्त, उहाँहरूले भक्तपुरका किसानहरूको पिरमर्काको निराकरणको निम्ति गरेको योगदान सर्वविदित छ । खास गरेर का रोहित राष्ट्रिय रूपमा चिनिएका व्यक्ति हुनुहुन्छ । उहाँहरूले कुनै गैरजिम्मेदार तथा हिंसा भड्काउने काम गर्नुभएको छ भन्ने सरकारी आरोप सर्वथा अविश्वसनीय तथा हास्यास्पद लाग्छ । आफ्नो राजनैतिक दुनो सोझ्याउनको निमित्त श्री ५ को सरकारले दुराग्रह नगरोस् । अन्यथा यो दुराग्रह प्रत्युपादक हुने कुरो छरछिमेकका घटनाहरूबाट दिनहुँ प्रमाणित भइरहेको छ । यहीँ कुरा सोचेर पनि सरकारले रोहितलगायतका सबै भक्तपुरका राजनैतिक कार्यकर्ताहरू अविलम्ब रिहा गरी उक्त घटनाको छानबिनका निम्ति एक विश्वसनीय तथा निष्पक्ष जाँच आयोग गठन गरोस् भन्ने हामी जोडदार माग गर्दछौँ ।
प्र.ने.क.पा. (चौथो महाधिवेशन) को तर्फबाट निर्मल लामाले हस्ताक्षर गरी प्रकाशित प्रेस वक्तव्यमा भनिएको छ, “हनुमानघाटबाट साकोठासम्मको झन्डै दुई किलोमिटर लामो सडक र गल्लीहरूमा ठूलो भिडले लछारपछार र कुटपिट गरी घुमाउँदा प्रहरी र प्रशासनले बेवास्ता गरेकै कारणबाट ह्योजु मृत्युको मुखमा पुग्नु परेको हो । बेलैमा ह्योजुलाई कुटपिटबाट जोगाएको भए उनको मृत्यु हुन पाउने थिएन, हामी भन्छाँै, यो प्रशासनको नियोजित षड्यन्त्र हो र यस काण्डमा प्रशासन पूर्ण दोषी छ । ……. भूकम्प पीडित व्यक्तिहरूलाई कुपन वितरणमा ह्योजुबाट भएको पक्षपात र धाँधलीको भण्डाफोर गर्ने उद्देश्य लिएर उक्त घटना भएको छ, निहित स्वार्थबाहेक ह्योजुको यस्तो धाँधलीपूर्ण व्यवहारको समर्थन कसैले पनि गर्न सक्दैन ।”
वक्तव्यमा “यस काण्डलाई सरकारले राजनीतिक घटनाको रूपमा हेरेर राजनीतिक कारबाही नअपनाओस् र रोहितजस्ता सबैलाई गिरफ्तारीबाट मुक्त गरी भक्तपुरमा आतङ्कको स्थिति अन्त गरोस् भन्ने माग गर्नुका साथै राजनीतिक विचलन, पतन र जनआकाङ्क्षाविपरीत क्रियाकलापमा ह्योजु संलग्न हुन थालेपछि जनतामा उनीप्रति रोष आक्रोश बढ्नु अस्वाभाविक थिएन र सो असन्तोष हाल उनको मरणासन्न कुटपिटमा अभिव्यक्त भएको देखिन्छ” भन्ने पनि उल्लेख गरिएको छ ।
यसैगरी प्र.ने.क.पा. (माक्र्सवादी) समूहका नेता मनमोहन अधिकारीद्वारा प्रकाशित प्रेस वक्तव्यमा भनिएको छ, “यस घटनामा सरकार जुन किसिमले मूकदर्शक रह्यो त्यो रहस्यपूर्ण र निन्दनीय रहेको छ । ……….. भक्तपुरको यस दुःखद घटनाको न्यायिक क्षेत्रबाट निष्पक्ष जाँच गराउनुपर्छ ……… साथै कुनै पनि वामपन्थी समूह यस्तो जघन्य घटनामा संलग्न हुनै सक्दैन ।”
टङ्कप्रसाद आचार्यको वक्तव्य
‘अझै दोषी पत्ता नलाग्नु प्रशासनको अयोग्यता हो ।’ भन्ने शीर्षकमा ‘दैनिक समाज’ ले देशका ज्येष्ठ राजनीतिज्ञ श्री टङ्कप्रसाद आचार्यको एक वक्तव्य छाप्यो । २३ असोजको वक्तव्यमा भनिएको छ, “राष्ट्रले अपराधीलाई दण्ड दिनुपर्दछ र एउटा अपराधको आडमा निरपराध सयौँलाई मुछ्ने र दुःख दिने जस्तो घृणित कार्य गर्नु हुन्न ।”
भक्तपुरको स्थितिलाई लिएर उहाँले भन्नुभयो, “भक्तपुरमा जुन दुःखद घटना घट्यो त्यसको जति निन्दा गरे पनि कमै हुन्छ र सरकारले त्यस घटनाको दोषीलाई जनसमक्ष उभ्याउन पनि सक्नुपर्दछ । तर, यस घटनाको बहानामा आज जसरी भक्तपुरका जनतालाई राजनैतिक कारणले आतङ्कित पारिएको छ त्यो ज्यादती हो र आफ्नो स्वार्थसिद्ध गर्न यस्तो मौका कसैले छोप्न खोज्दछ भने त्यसको सबैतिरबाट निन्दा गरिनुपर्दछ ।”
“घटनाको यतिका दिनसम्म पनि छानबिन हुन नसक्नु प्रशासनिक अयोग्यताको द्योतक हो । ………. अपराधीले दण्ड पाउनुपर्छ र अपराधीलाई राख्नु ठीक पनि छ, अपराधीबाहेक निर्दोषहरूलाई सरकारले यो दसैँसम्ममा तुरुन्त छोड्नुपर्दछ ।”
ह्योजु काण्डको डेढ महिना बित्दा पनि भक्तपुरको वातावरण सलिन नसक्नु वास्तवमा एउटा रहस्यको विषय बनेको कुरा आज भोलि नगर चर्चित विषय नै बनेको छ । धेरै घरका युवाहरू डरले भक्तपुरको घर छोडेर बाहिरका बाहिरै छन् भने अनेक निर्दोष व्यक्तिहरू पनि प्रहरी हिरासतमा छन् । रिसइबी परेकालाई अथवा आफ्ना राजनैतिक प्रतिद्वन्द्वीहरूलाई फसाउने एउटा राम्रो उपायको रूपमा स्वार्थी तत्वले ह्योजु काण्डलाई साधन बनाएको छ । प्रहरीमा यो पनि थियो ऊ पनि थियो भनेर उजुरी दिन लगाएर भक्तपुर पूरालाई आतङ्कित पारिएको छ, यसमा प्रहरी प्रशासनबाट पुग्नुपर्ने विवेक पनि पुग्न सकेको छैन र ऊ पनि आतङ्क फैलाउन खोज्नेहरूकै साथमा लागेको छ । घटनामा को थियो, थिएन, कसको हात थियो भन्ने जस्ता कुराको निरूपण नगरी अन्धाधुन्ध कुनै एक समूहको कथनमा अर्को समूहमाथि दोष लगाउने र पूराका पूरालाई समात्दै, यातना दिदै कुनै पनि कानुनी राज्यको चरित्रलाई नसुहाउने कुरा भइराखेको छ ।
शम्भुराम श्रेष्ठ, दिलबहादुर श्रेष्ठ, सिन्धुनाथ प्याकुरेल, बी.बी. श्रेष्ठले एक संयुक्त प्रेस वक्तव्य प्रकाशित गर्नुभएको थियो । उहाँहरूले वक्तव्यमा भन्नुभएको थियो, …….. सरकारमा कर्ण ह्योजुलाई बचाउने क्षमता हुँदाहुँदै पनि उनलाई नबचाएकोमा सरकार पनि अपराधी हुन आउँछ र यस्तो सरकारले सत्तामा बसिरहनुको कुनै औचित्य छैन । ……… ह्योजुको हत्यालाई निहुँ बनाएर सरकारले भक्तपुरका जनतालाई हाल जो आतङ्कित गरिरहेको छ, त्यो तत्काल बन्द हुनुपर्छ ।”
अनेरास्ववियु केन्द्रीय कमिटीद्वारा एक वक्तव्य प्रकाशित गरी भनिएको छ “भूकम्प पीडित जनतालाई राहत सामग्री वितरण गर्ने सिलसिलामा भएको अनियमितताको फलस्वरूप उत्पन्न जनअसन्तोषको कारणले गर्दा ह्योजुको मृत्यु भएको छ । त्यहाँ भएको अव्यवस्था, अकर्मण्यता, गैर–जिम्मेवारीपन तथा कार्यलाई पञ्चायतीकरण गर्नु नै उक्त घटनाको जिम्मेवार पक्ष रहेका छन् र सरकारले आफ्नो गैर– जिम्मेवारीपन लुकाउन भक्तपुर सहरमा सशस्त्र प्रहरी मार्च गराई जनजीवनलाई आतङ्कित बनाएको छ । वामपन्थी नेता नारायणमान बिजुक्छेँ (रोहित), रापस गोविन्द दुवाल, नगर पञ्चायतका प्रधानपञ्च आशाकाजी बासुकलालगायत पचासौँ व्यक्तिलाई गिरफ्तार गरिएको छ । ती गिरफ्तार गरिएका सबै व्यक्तिहरूलाई तुरुन्त रिहाइ गरी भक्तपुरमा चलाइएको आतङ्क बन्द गर्न माग गरिएको छ ।
मानन्धरद्वारा निष्पक्ष जाँचको माग
प्र.ने.क.पा.का महासचिव विष्णुबहादुर मानन्धरले एक वक्तव्य प्रकाशित गरी त्यस हत्यामा स्थानीय र केन्द्रीय प्रशासन जिम्मेवार भएको आरोप लगाउनुभयो ।
उहाँले वक्तव्यमा ‘आफ्नो सामु मानिसले ………हत्या भइरहेको देख्दादेख्दै मानिसलाई बचाउने प्रयत्न नगरी दोषारोपण र धरपकडद्वारा भक्तपुरलाई आतङ्कित गरिरहेको’ बताउँदै “अपराधीलाई दण्डित तुल्याउन कानुनी प्रक्रिया अपनाउनुपर्नेमा ‘फाँसी दे’ भन्ने नारा सहितको जुलुसमा सामेल हुनु र वामपन्थी राजनीतिलाई हत्या चक्रमा मुछ्ने दुष्प्रयास सरकारी रेडियोले समाचार दिनुले प्रशासनिक पूर्वाग्रहलाई प्रस्ट पारेको छ ।” भन्नुभएको छ । उहाँले “निष्पक्ष जाँचको माग गर्दै दोषी उम्कन नपाऊन्” भन्नुभएको छ ।
७. विद्यार्थी सङ्गठनहरूको संयुक्त माग
अनेरास्ववियु दसौँ के.स.का अध्यक्ष भानु शर्मा, अनेरास्ववियु के.स.का अध्यक्ष…… भट्टराई, नेक्राविसङ्घ के.स.का अध्यक्ष के.जी. बैदार, अनेरास्ववियुका के.स.का अध्यक्ष प्रभुनारायण बस्नेत, नेप्रवियु के.स.का महासचिव पुरुषोत्तम न्यौपाने र नेराविफे के.स.का सदस्य जगन्नाथ भण्डारीले एक संयुक्त वक्तव्य प्रकाशित गरी राजनैतिक प्रतिशोधको नियतले गिरफ्तार गरिएका का. रोहित, रापस गोविन्द दुवाललगायतका व्यक्तिहरूको रिहाइ गरी भक्तपुरमा व्याप्त श्वेत आतङ्क बन्द गर्न माग गरेका छन् ।
वक्तव्यमा “ह्योजुको हत्याको समयमा मूकदर्शक भएर बस्ने पञ्चायती प्रशासन तथा सरकार शवयात्रामा प्रधानमन्त्री, रा. प. अध्यक्ष र ठूलठूला पञ्चहरूले ‘रोहितलाई फाँसी दे’ भन्दै जुलुस निकाल्नुले हत्याकाण्ड सरकारको पूर्वयोजना थियो भन्ने प्रस्ट हुन्छ” भन्दै “कानुनी प्रक्रिया पूरा हुनुभन्दा अघि नै पञ्चायत व्यवस्थासँग असहमत रहने राजनैतिक कार्यकर्ता गिरफ्तार गर्नु, एकपक्षीय सरजमिन गराएर ६७ जनालाई ज्यान मुद्दामा फसाउने षड्यन्त्र गर्नुले कानुनी राज्य हात्तीको देखाउने दाँत मात्र भएको साबित भएको छ ।” भनिएको छ ।
त्यस्तै ने.प्र.वि.यु.क.स. का राजेन्द्र सापकोटाको अध्यक्षतामा सो युनियनको काठमाडाँैमा भएको पूर्ण बैठकले भक्तपुरको हत्याकाण्डमा रमिते बन्ने प्रहरी प्रशासन र सरकारको नालायकीपनको विरोध गर्दै बैठकले राजनैतिक बन्दीहरूलाई तुरुन्त रिहाइ गरी दोषीलाई सजाय होस् भन्ने माग ग¥यो ।
आतङ्क बन्द गर्ने माग
जनअधिकार सुरक्षा समिति, नागरिक अधिकार मञ्च र प्रजातान्त्रिक राष्ट्रिय एकता मञ्चले संयुक्त वक्तव्य प्रकाशित गरी देशमा प्रजातान्त्रिक शक्तिहरूको बढ्दो प्रभाव र लोकप्रियताबाट तर्सेर आफँैद्वारा योजनाबद्धरूपमा गरिएका हत्यालाई इतर पक्षमाथि दोष लगाउँदै भक्तपुरमा नगर पञ्चायतलाई बेवास्ता गर्दै ह्योजुलाई राहत वितरणमा पठाउनुले सोही कुराको पुष्टि गर्ने कुरा हो भन्ने जनाइएको छ । प्रधानमन्त्री, रापस अध्यक्षसमेतले ऐन, कानुनविपरीत फाँसीको माग गर्नु र सरकारी सञ्चारमाध्यमले ‘आफूलाई वामपन्थी भन्न रुचाउनेहरू’ ले हत्या गरेको हो भनी पूर्वाग्रहपूर्ण ढङ्गले वामपन्थीलाई दोषी घोषणा गरिएको हुनाले सरकारी, षड्यन्त्रको सङ्केत मिल्ने तर्क सो वक्तव्यमा दिइएको छ ।
ऐन, कानुन मिचेर ‘इतर दबाऊ’ अभियानमा सक्रियरूपमा सरकार लागिरहेको र मानव अधिकारको उल्लङ्घन गरिरहेकोले र त्यस किसिमको श्वेत आतङ्क बन्द गर्न आह्वान गर्दै भक्तपुर र …….. आतङ्क बन्द गर्न पनि वक्तव्यमा माग गरिएको छ ।
वरिष्ठ वकिलहरूले रोहितलाई साथ दिने ह्योजु हत्याकाण्डका नायक मानिएका नारायणमान बिजुक्छेँ (रोहित) ले अदालतमा आफूमाथि लगाएको आरोप झूठो भनी इन्कारी बयान दिएपछि सुरुमै रोहितको फाँसीको माग गर्नेहरू असमञ्जसमा पर्न थालेका छन् ।
सरकारी पक्षले ज्यानसम्बन्धी महलको १६ (क) बमोजिम १६ वर्ष कैद र १३ (क) ६ बमोजिम मृत्युदण्ड समेत हुनसक्ने सजायको माग गरेका रोहितलाई यी कुराहरू अगाडि आएपछि साधारण सजाय होला भन्ने कुरामा समेत शङ्का उत्पन्न हुन थालेको बताइन्छ । यसैबिच प्रायसः सबै वरिष्ठ कानुन व्यवसायीहरूले रोहितको पक्षमा वकालत गरिदिने दृढता व्यक्त गरेका छन् ।
तुल्सीलाल अमात्यको प्रतिक्रिया
प्र. नेपाल कम्युनिष्ट पार्टी ( अमात्य समूह) का महामन्त्री तुल्सीलाल अमात्यले त्यस हत्याकाण्डको विरोध गर्दै भन्नुभयो, “…….त्यस काण्डलाई लिएर मनपरी जसलाई पायो त्यसलाई बिनाआधार आम गिरफ्तार गर्ने जो काम भयो त्यसको पनि विरोध गर्दछौँ ।
ह्योजुको जो हत्या हुन गयो त्यसमा सरकार जिम्मेवार छैन भन्न मिल्दैन । ह्योजुप्रति भक्तपुरवासी क्षुब्ध थिए भन्ने कुरो थाहा पाउँदा पाउँदै हाल बहालमा रहेका रापस दुवाललाई बेवास्ता गरी ह्योजुलाई पठाउनु सरकारको पहिलो गल्ती हो । अनि हुलदंगा भएर ह्योजुमाथि हातपात भएपछि हेरेर बस्नु सरकारको अर्को गैरजिम्मेवारी हो । आमजनता उत्तेजनामा आएपछि अनेक गलत कार्य हुनसक्छ । तसर्थ, यस उत्तेजनालाई शान्त पार्नु पहिलो कर्तव्य थियो ।
यी कुनै कर्तव्य पूरा नगरी ह्योजुको देहान्तपछि तुरुन्तै रोहितजी र दुवालजीलाई पक्राउ गर्नु र पञ्चायती नेताहरूले ‘रोहितलाई फाँसी दे’, ‘वामपन्थी मुर्दावाद’ भन्ने नारा दिएर जुलुस निकाल्नाले स्पष्ट देखिन्छ, पञ्च नेताहरूलाई ह्योजु मरेको भन्दा बढी सरोकार वामपन्थी दबाउनतिर रहेको छ । ह्योजुको देहावसानमा पञ्च नेताहरूले वामपन्थी शक्तिलाई दबाउने निहुँ पाएको स्पष्ट छ । यसकारण, जनताको विश्वास प्राप्त एउटा निष्पक्ष जाँच कमिसन गठन गरी, घटनाको छानबिन गरी अपराधीलाई दण्ड दिइयोस् र निरपराधीमाथि हात नहालियोस् ।
नेपाल बार एशोसियसन चतुर्थ अखिल नेपाल कानुन व्यवसायी सम्मेलनद्वारा पारित प्रस्ताव
“भक्तपुर जिल्लामा भएको भूतपूर्व रापस कर्णप्रसाद ह्योजुको हत्या सम्बन्धमा मुद्दाको तहकिकात अनुसन्धान सुरु नभएकै अवस्थामा र अदालतमा मुद्दा दायर भई कसैलाई पनि दोषी ठहर नगर्दैको अवस्थामा देशका प्रधानमन्त्री र राष्ट्रिय पञ्चायत अध्यक्षलगायत सम्मिलित भएको जुलुसले ‘हत्यारा रोहितलाई फाँसी दे’ जस्ता नारा प्रदर्शन गरेबाट अनुसन्धानमा हस्तक्षेप र न्यायपालिकालाई प्रभावित तुल्याउने निन्दनीय प्रयास भएको महसुस गर्दै तहकिकातको दौरानमा कानुन व्यवसायी समेतलाई त्यो स्थानमा जान नदिएर प्रहरीको घेरामा एकपक्षीय सरजमिन गराएको समेतलाई यो सम्मेलन घोर भत्र्सना गर्दछ ।”
वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारी
“संसारभरिमा विरोध गरी तेस्रो विश्वको राजनीतिक गतिविधिमा देशसेवक राजनीतिज्ञहरूको चरित्र हत्या, हाम्रा निजहरूलाई गुप्तचर भनी वा कुनै विदेशी राष्ट्रको एजेन्ट भनी चरित्र हत्या गर्ने यस्तै कुनै अकस्मात् भएको घटनामा त्यस्ता देशभक्त राजनीतिज्ञहरूलाई संलग्न गराई … अपराधी बनेको देखाउने दुचेष्टाहरू गरिन्छ । जहाँसम्म भक्तपुरमा भूतपूर्व रापस कर्ण ह्योजुको मृत्यु छ, त्यो निःसन्देह दुःखदायी हो । सो दुःखदायी घटना हुनुमा प्रशासनिक सुरक्षाको कमजोरी तथा केही विचारहरू पनि कार्य हुनसक्छ । यस विषयमा प्रशासकले कैयौँ निर्दोष व्यक्तिहरूलाई फसाई निर्दोष राजनीतिज्ञहरूलाई फसाउने काम पनि हुनसक्छ । यस विषयमा वास्तविकरूपमा मैले तथ्य थाहा नपाइसकेको हुनाले यथार्थ भन्न मलाई मुस्किल छ । राजनीतिज्ञ व्यक्तिहरूसमेत समावेश गरिएको यस घटना सरकारी, गैरसरकारी व्यक्तिहरूको निष्पक्ष जाँच आयोगबाट पूरा अनुसन्धान गरी सत्य र न्यायको आधारमा अपराध देखिन आउने व्यक्तिहरूमाथि अपराधीको आधारमा कारबाही गरिनुपर्ने उचित देख्छु । मेरो शोकसन्तप्त परिवारमा हार्दिक समवेदना छ ।”
श्रीभद्र शर्मा
“……….मैले श्री ५ को सरकारलाई मूल दोषी ठानेको छु । यसको मतलब यो होइन कि हत्याको षड्यन्त्र श्री ५ को सरकारले रचेको हो । अढाइ–तीन घण्टासम्मको प्रत्यक्ष पाशविक कार्यमा श्री ५ को सरकार मूकदर्शक वा तमासे सरह बनेर मात्र बस्दछ ह्योजुलाई सुरक्षा दिन सकेन भने हामीले अरू कसलाई दोषी भन्ने ? श्री ५ को सरकारले मौकैमा एक्सन गर्न सकेको भए के कर्ण ह्योजु मारिने थिए त ?”


८. केही आरोपहरूका प्रतिवाद
(क) ११ भदौ २०४५ को ‘वार्तालाप’ साप्ताहिक मा संस्कृतिको यो रूप कस्तो हो ?’ भन्ने शीर्षकमा सन्दर्भ साहित्य कलमका ध्रुव मधिकर्मीले लेखे, “निरीह एवं अबोध कृषकहरूलाई जातिको सङ्कुचित घेरामा थुनेर मध्यम वर्गबाट छुट्याउने साम्प्रदायिक भावनाको जग बसाल्ने कार्य रोहितले गरे । रोहितद्वारा सङ्गठित नगरस्तरीय समूहले गरे । जातीय भावना मान्छेको निष्कृटतम कमजोरी हो । त्यही कमजोरीमाथि प्रहार गरेर रोहितले कृषकहरूलाई विचारमा भेँडा र बलमा उग्र राँगो बनाए । त्यसैको परिणति ह्योजुको निर्मम हत्या हो ।”
ध्रुव मधिकर्मीको भनाइमा कृषकहरू वा किसानहरू र मध्यम वर्ग भिन्न जात वा सम्प्रदायका हुन् । यो पूर्णतया गलत ठम्याइ हो । मध्यम वर्ग भन्नाले भक्तपुरको सन्दर्भमा मध्यम जमिनदार वर्ग अथवा मध्यम बिर्तावाल वा जग्गाधनी हुन् । कृषकहरू भन्नाले जोताहा किसानहरू हुन् । यो भेद वर्गीय भेद हो, जातीय होइन किनभने भक्तपुरका ‘ज्यापू’ भनिने किसानहरू र मध्यमवर्ग भनिने बिर्तावाल र बुथुहरू पनि नेवार जातिमै गनिएका छन् । यसकारण, किसान र मध्यम वर्गको भेद वास्तवमा वर्गीय भेद हुन्, जाति, भाषा वा धार्मिक भिन्न सम्प्रदायका होइनन् । यसकारण, त्यो भेद साम्प्रदायिक होइन ।
ध्रुव मधिकर्मीको भनाइ छ, “जातीय भावना मान्छेको निकृष्टतम कमजोरी हो ।” नेपालका एक जानिएका विद्वान प्रा. माणिकलाल श्रेष्ठ भन्नुहुन्छ, “म पहिले नेवार हुँ अनि मात्र म नेपाली हुँ ।” (जी न्हापां नेवा खः अले तिनी जी नेपाली खः) ‘निकृष्टतम’ काम नगरेसम्म कुनै पनि जातीय भावना ‘कमजोरी’ हुन्न । जातीयता कुनै पनि जात वा जातिको पहिचान र संस्कृतिसँग सम्बन्धित कुरा हो । सबै अवस्था र सबै अर्थमा जातीय भावना गलत हुन्न । त्यसो भए के विभिन्न जाति र भाषाको आन्दोलन र ‘न्हुदँ’ (नयाँ वर्ष) गलत हो ?
मधिकर्मीको अर्को भनाइ हो, “त्यही कमजोरीबाट फाइदा उठाएर रोहितले किसानहरूलाई वर्गीय र राजनैतिकरूपले सङ्गठित गर्न खोजेको २००४ सालदेखि हो । २००४ सालदेखि २०१७ सालसम्मको प्रयास ने.म.कि.सं. वा ‘रोहित पक्ष’ ले गरेको होइन बरु राणाविरोधी र सामन्तवादविरोधी प्रजातान्त्रिक आन्दोलनले गरेको हो । राजनैतिक सचेतता र वर्गीय एकतालाई नै ‘विचारमा भेँडा र बलमा उग्र राँगो’ बनाइएको सम्झने हो भने ध्रुव मधिकर्मीले साहित्यिक अथवा राजनैतिक विषयमा कलम कोर्ने जमर्को गर्नुभन्दा अहिले ‘राइटिङ’ लेख्नु बेस हुनेछ अथवा मधिकर्मीले आफ्नो गुरुसँग राजनैतिक चेतना र वर्गीय चेतनाबारे राम्रो अध्ययन गरेर आउनु उपयुक्त हुन्छ । विषयवस्तुबारे प्रारम्भिक ज्ञानकै अभावमा कलम चलाउनु सा¥है ‘निकष्टतम’ कुरा हो । त्यस्तै ‘निकष्टतम’ बुद्धिले कर्ण ह्योजुको दुःखद अन्त हो भन्नेमा कुनै शङ्का छैन ।”
२०१९ सालमा ने.का.ले सस्त्र उठाउनु, फेरि फिर्ता लिनु बी.पी. प्रवासमा जानु, पुनः सस्त्र र आतङ्कवादी गतिविधि गर्नु राष्ट्रिय मेलमिलापको नारामा नेपाल फर्कनु, सत्याग्रह गर्नु पञ्चायती चुनावलाई बहिष्कार गर्नु, स्थानीय निर्वाचनलाई ‘उपयोग’ गर्नु र फेरि बहिष्कार गर्नु आदि अस्थिर, अदूरदर्शी र अन्तरविरोधपूर्ण कार्यनीति र रणनीतिले कार्यकर्ताहरूलाई बी.पी. र नेपाली काङ्ग्रेसले कार्यकर्ताहरूलाई ‘विचारमा भेँडा र बलमा उग्र रांगो’ बनाएको भन्न मिल्छ ? ध्रुव मधिकर्मी जस्ता आफ्नो शत्रु र मित्र नचिन्ने मूर्ख र अर्धकच्चा कार्यकर्ताहरूकै कारण गणेशमानजीले कार्यकर्ताहरूलाई ( ……….) गर्नुभएको होला र भट्टराईजीले पार्टीलाई पुनः सङ्गठन गर्नुभएको होला । ध्रुव मधिकर्मीजस्ता लक्ष्य नचिन्ने कार्यकर्ता प्रजातान्त्रिक आन्दोलनका सहयोगी होइन, बाधक मात्रै बन्ने छन् ।
(ख) वर्ष ६, अङ्क ४६ भदौ २२, २०४५ को ‘साप्ताहिक गतिविधि’ ले “प्रधानमन्त्री जो स्वयम् कार्यपालिकाका प्रमुख हुनुहुन्छ, उहाँले ‘रोहितलाई फाँसी देऊ’ भन्ने प्लेकार्ड भएको जुलुसमा भाग लिनुले कानुनमाथिको अतिक्रमण भयो कि” भन्ने प्रश्न ग¥यो ।
त्यस प्रश्नको उत्तरमा भक्तपुरका भूतपूर्व रापस मदनकृष्ण हाडाले भने “प्रधानमन्त्री पञ्च पनि हुन् भन्ने कुरा बिर्सन हुन्न । एउटा महापञ्चको शवयात्रामा भाग लिनु स्वाभाविक मात्र होइन अनिवार्य पनि हुनसक्थ्यो ।” र त्यो हत्या कसरी भयो, सुनियोजित हो कि होइन र सरकारको सुरक्षा व्यवस्था दोषी छ कि छैन आदि धेरै प्रश्नको सन्दर्भमा उनले भने, “म घटनास्थलमा थिइनँ । यसबारे सत्य कुरा साथमा भएको उत्तम श्रेष्ठले मात्र भन्न सक्छन् ।”
मदनकृष्ण हाडाको उपरोक्त भनाइ एक साधारण गाउँका पञ्चको मात्रै हुनसक्छ साथै आज उनी पञ्चायतको कुनै पनि ओहोदामा नभएको हुँदा उनको उत्तरले खास पद र जिम्मेवारीको प्रतिनिधित्व गर्दैन । तर, राजनीतिशास्त्रका हरेक विद्यार्थीलाई थाहा छ– शक्ति पृथकीकरण सिद्धान्तअनुसार विधानपालिका, कार्यपालिका र न्यायपालिकाको अधिकार र कार्यक्षेत्र हरेक प्रजातान्त्रिक देशमा भएको हुन्छ । निरङ्कुश शासन व्यवस्थामा मात्रै राज्यशक्तिको पृथकीकरणको बन्दोबस्त हुँदैन । तर, पञ्चायती व्यवस्था पनि ‘प्रजातान्त्रिक’ भनिएको हुँदा विधिको शासनमा संविधान, ऐन कानुन, शक्ति पृथकीकरणको सिद्धान्त र प्रजातान्त्रिक मान्यता पालन गरेकै हुन्छ भन्ने सम्झनुपर्दछ । विधानपालिका, संविधानसभा, विधानसभा र संसदको प्रादुर्भाव नै निरङ्कुशता र स्वेच्छाचारीताको विरोधमा भएको हो । प्रजातन्त्रका यस्ता प्रारम्भिक कुरा कुनै संसद् सदस्य वा राष्ट्रिय पञ्चायत सदस्यले बुझेकै हुन्छ ।
तर कुनै हत्या,………….. वा अपराधसम्बन्धी अनुसन्धान, पुर्पक्ष र फैसला प्रधानमन्त्री वा कार्यपालिकाले गर्दैन । त्यसको निम्ति राष्ट्रिय पञ्चायत वा संसद्ले प्रहरी र न्यायपालिकाको कार्य र कार्यक्षेत्रलाई ऐन कानुन र संविधानले निश्चित गरेको छ । प्रधानमन्त्री स्वयम् पनि संसद् वा राष्ट्रिय पञ्चायत (विधायिका) को सदस्य भएको हुँदा र त्यस सदनबाट पास भएको र सो संविधानअनुसार ऐन– कानुनको रूपमा व्यवहारमा आइसकेको हुँदा त्यसलाई प्रधानमन्त्रीले उल्लङ्घन गर्न मिल्दैन । कुनै व्यक्तिले कुनै एक निश्चित राजनैतिक उद्देश्य राखी प्रचलित ऐन–कानून, संविधान र व्यवस्थाको विरोध गरे सजायको भागी बन्न सक्छ, तर बहालवाला प्रधानमन्त्रीले त्यसो गर्न पहिले पदबाट राजीनामा गर्नुपर्दछ । मरिचमान सिंह र नवराज सुवेदीले ऐन–कानुन, संविधान र प्रजातान्त्रिक मूल्य र मान्यतालाई उल्लङ्घन र मिच्न सक्छन् तर प्रधानमन्त्री र अध्यक्षले गर्न सक्दैनन् ।
शासन व्यवस्थाको यस्तो महत्वपूर्ण विषयलाई सबै मन्त्रिपरिषद् र रापसहरूले बुझेकै हुन्छन् । तर, मदनकृष्ण हाडा स्वयम् भू.पू. रापस भएको हुँदा त्यसबारे अनभिज्ञ छन् भन्न मिल्दैन । आफ्नो कार्यपद्धति, अधिकार र कर्तव्यको समेत ज्ञान नभएको व्यक्ति त्यस ठाउँमा पुग्ने थिएनन् । यसकारण, प्रधानमन्त्रीलाई संविधान र ऐनकानुनको उल्लङ्घन गराउन दुरुत्साहित गर्ने व्यक्ति मात्र ठहरिनेछन् । सरकारी ओहोदामा बस्ने व्यक्तिलाई कर्तव्यच्युत गराउने व्यक्तिलाई राजकाजसम्बन्धी अपराधको आरोपमा प्रतिवादी बन्ने छ । तर, सम्बन्धित पक्ष चुप लागेकोमा आश्चर्य छ ।
मदनकृष्ण हाडाको भनाइमा ‘प्रधानमन्त्री एउटा महापञ्चको शवयात्रामा भाग लिनु स्वाभाविक मात्र होइन अनिवार्य पनि हुनसक्थ्यो ।’ तर, त्यो शवयात्रा–शवयात्रा थिएन बरु एक राजनैतिक विरोध प्रदर्शन थियो । दोस्रो, भक्तपुरमा अरू पनि पञ्चहरू मरेका थिए, ती पञ्चहरूको शवयात्रामा पञ्चहरू किन गएनन् ? तेस्रो, एक पञ्च बनेका प्रधानमन्त्रीले जाँचबुझ नै नगरी जिउँदो महापञ्च र प्रधानपञ्चहरूमाथि नै किन प्रहरी अत्याचार गर्न दियो ? चौथो, सबै भू. पू. पञ्चहरू र वर्तमान सबै पञ्चहरू मर्दा शवयात्रामा जाने अनिवार्यता कुनै ऐन–कानुनमा उल्लेख गरिएको छैन ।
मदनकृष्ण हाडाले उत्तम श्रेष्ठको भनाइलाई नै ‘सत्य’ मान्ने अठोट व्यक्त गरेका छन् । तर, उत्तमको बयान र भनाइ स्वयम् उसको नभई प्रहरीको बयान हो, जो अति विवादास्पद छ । साथै ऊ स्वयम् जाली र जनविरोधी भएको हुँदा उसको बयानमा कुनै विश्वसनीयता हुँदैन । त्यसैलाई ‘सत्य’ मान्ने मदनकृष्ण हाडाको चरित्र कस्तो होला घामजत्तिकै छलङ्गिएको छ ।
जिल्ला सभापति सुरेन्द्रप्रताप शाहले जे भए पनि यो सुनियोजित राजनैतिक सुरक्षाको बारेमा टिप्पणी अहिले नगरी हामी यो घटनापछि पञ्चहरूमा अभूतपूर्व एकता र आततायीहरूसँग जुझ्ने शक्तिको प्रस्फुटन भएको कुरा त्यही पत्रमा बतायो । तर, सुरेन्द्रप्रताप शाह जिल्ला सभापति भए पनि उनी राजनैतिक व्यक्ति नभएको र एक ठेकेदार भएको हुँदा त्यसबारे थप टिप्पणी गर्न आवश्यक छैन । उनको भनाइ नै मदनकृष्ण हाडाको भनाइ हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *