भर्खरै :

बाराहीस्थानको खोला जनताको समस्या

बाराहीस्थानको खोला जनताको समस्या

प्रकृतिले आफ्नो नियम आफैँ तय गरेको देखिन्छ । खोला प्राकृतिकरूपमा आफ्नो बाटोमा निरन्तर बगिरहेको छ । खोलाले न त कसैको विकाससँग मतलब राख्छ न त कसैको विनाससँग चासो नै राख्छ । न त यसलाई कसैले रोकेर रोकिन्छ न त कसैले छेकेर छेकिन्छ ।
भक्तपुर नगरपालिका वडा नं. ३ स्थित बाराही मन्दिर जाने बाटोमा पर्ने हनुमन्ते खोला पनि हो । यस खोलाले आफ्नो बाटो आफैँ तय गरेर निरन्तर बगिरहेको छ । यस खोलाको उत्तर दिशामा धार्मिक, ऐतिहासिक एवं पुरातात्विक महत्व बोकेका मूर्तिहरू र मानिसको मृत्युपश्चात् हिन्दू धर्मअनुसार गरिने काजक्रिया गर्ने ठाउँ पनि छ । तर, यस्तो धार्मिक महत्व बोकेको पवित्र स्थलमा बर्सेनि वर्षात्को समयमा खोलाको भेलसँग बगेर आएको माटो थुप्रिएर बाटो हिलाम्य, पाटी, मूर्ति, काजक्रिया स्थलहरू पुर्ने समस्या त नियमितजस्तै भइसक्यो ।
यो समस्या समाधानको लागि सम्बन्धित निकायले ध्यान दिएको पनि हो । खोला तर्ने पुल पहिलेभन्दा व्यवस्थित र उचाइमा बनेको छ । हरेक वर्ष खोलामा थुप्रिएको माटो उठाउने, खोला फराकिलो पार्ने, पुरिएको घाट सफा गर्ने, बाटोमा ग्राभेलिङ तथा वाल लगाउने काम भइरहेको छ ।
तर, यतिले मात्र यसको दीर्घकालीन समस्या समाधान हुने देखिएन । तसर्थ, यसको लागि खोलाको दुई किनारामा अग्लो पर्खाल निर्माण गरिएको थियो । तर पाटी र मूर्तिको छेवैमा पुगेपछि निर्माण कार्य रोकेर बन्दै गरेको पर्खाल अलपत्र अवस्थामा छ । यसले गर्दा त्यस खोलाको वरिपरिको समस्या जस्ताको तस्तै छ । यसको दीर्घकालीन समस्या समाधानको लागि सम्बन्धित निकायको ध्यान कहिले जाने होला ? के समस्या दीर्घकालीनरूपमा समाधान हुन नसक्ने हो त ? यसको अवश्य समाधान गर्नुपर्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *