के शासक दलहरूको ‘कोर्ट’ मा नेपालको सार्वभौमिकता सुरक्षित होला ?
- असार ९, २०८३
राहुल महरालाई पाँच दिन थुनामा राख्न अनुमति
सुन तस्करी प्रकरणमा सिआइबीको नियन्त्रणमा रहेका माओवादी नेता कृष्णबहादुर महराका छोरा राहुल महरालाई अदालतले पाँच दिन थुनामा राख्न अनुमति दिएको छ । तर, उपाध्यक्ष महरा भने अझै अनुसन्धान बाहिरै छन् ।
राहुललाई सुन तस्कर वाङले ६४ पटक र राहुलले दाओजिनलाई १ सय ३१ पटक सम्पर्क गरेको सिआइबीको अनुसन्धानले देखाएको छ । हाल फरार असिन भनिने अर्का तस्करलाई राहुलले तीनपटक सम्पर्क गरेका थिए । राहुलले नै फरार रहेका अर्का व्यक्ति लोकेन्द्र पौडेललाई ३६ पटक फोन सम्पर्क गरेको देखिन्छ । महराले छोरा निर्मलको फोनमार्फत ११ पटक कुराकानी गरेका छन् । यी सबैसहित महराका बाबुछोराले सुन तस्कर र यसको नेटवर्कमा रहेका गिरोहसँग समेत २ सय ५६ पटक संवाद गरेको प्राविधिक अनुसन्धानले पनि पुष्टि गरिसकेको छ ।
(राजधानी, १४ भदौ २०८०)
राहुल स्वयं सुन तस्करीमा संलग्न चिनियाँ नागरिकहरूलाई लिएर विमानस्थल भन्सार कार्यालय पुगेको तथ्य पनि सीआईबीले फेला पारेको छ । उनीहरूसँगै जाने अर्का एक व्यक्तिसँगको बयानबाट चिनियाँ नागरिकलाई लिएर राहुल भन्सार पुगेको खुलेको अधिकृतहरू बताउँछन् ।
(अनलाइन खबर, १४ भदौ २०८०)
अर्कै गिरोहले सुन भएका भेप चोरेर बेचेको
करिब डेढ महिना सुन भएको भेप भन्सार गोदाममै थन्किएको थियो । त्यसपछि केही कर्मचारीलाई हातमा लिएर सुन ल्याउनेबाहेक अर्कै गिरोहले सुन भएका भेप चोरेर सुन व्यापारीलाई बेचेका थिए । भेपमा ल्याएको सुन करिब ८ करोड ५५ लाख रूपैयाँको देखिए पनि बेचबिखन गरी गिरोहले भागबन्डा लगाएर पैसा लिएका थिए ।
(राजधानी, १४ भदौ २०८०)
दावाले किर्ते गरेर नागरिकता लिएको पुष्टी
सुन तस्करी प्रकरणमा पक्राउ परेका तिब्बती मूलका बेल्जियमको पासपोर्टधारी दावा छिरिङले काभ्रेपलाञ्चोक जिल्ला प्रशासन कार्यालयबाट निमा तामाङका नाममा नागरिकता लिएको पुष्टि भएको छ । गृहमन्त्रालयका अनुसार उनले काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका–११ का पेमा तामाङको छोरो बनेर कीर्ते गरेर नागरिकता लिएको गृहमन्त्रालयले बनाएको छानबिन टोलीले पुष्टि गरेको छ ।
(नेपाल समाचारपत्र, १४ भदौ २०८०)
छानबिन समितिका एक सदस्यले भने, “निमा लामाको नामबाट नागरिकता लिएको पुष्टि भयो, अनुसन्धानमा उनको सिआइबी, अध्यागमन विभागमा भएको बायोमेट्रिक र हिरासतमा भेटेर लिएको बायोमेट्रिक मिलेकाले उनकै नागरिकता भएको पुष्टि गरेका छौँ ।”
(अन्नपूर्ण, १४ भदौ २०८०)
कृष्ण महरालाई प्रहरीले नियन्त्रणमा नलिई निगरानीमा मात्रै राख्यो
प्रहरी प्रवक्ता डिआईजी कुवेर कडायतले भेपमा लुकाएर ल्याएको सुन प्रकरणको अनुसन्धानका क्रममा राहुललाई पक्राउ गरिएको बताए । बाबुछोराविरुद्ध सङ्गठित अपराध कसुरमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । तर, स्वास्थ्य अवस्थाको कारण देखाई बाबु महरालाई भने प्रहरीले नियन्त्रणमा नलिई निगरानीमा मात्रै राखेको छ । ‘यो विषय अनुसन्धानकै क्रममा भएकोले थप बोल्न मिल्दैन,’ सिआईबीका एसपी नवराज अधिकारीले भने ।
करिब ८ महिनाअघिको भेप प्रकरणमा सत्तारूढ माओवादीका उपाध्यक्ष महरालाई जोगाउन स्वयं प्रधानमन्त्री पुष्पकमल दाहाल नै लागिपरेको भन्दै विपक्षी राजनीतिक दलदेखि जनस्तरबाटै विरोध भइरहेको थियो । सिआईबीले भने गोदाममा राखिएका भेप चोरीमा मात्रै मुद्दा चलेको र सुन ल्याउने समूहमाथि अनुसन्धान भइरहेको बताएको थियो ।
(कान्तिपुर, १४ भदौ २०८०)
६० किलो सुन तस्करीमा संलग्नमध्येका मुख्य अभियुक्त दिल्लीमा पक्राउ
६० किलो सुन तस्करीमा संलग्नमध्येका मुख्य अभियुक्त सिन्धुपाल्चोकका ३६ वर्षीय किशोर बस्नेत भारतको राजधानी दिल्लीमा पक्राउ परेका छन् । उनलाई पक्राउ गर्न सिआइबीको विशेष टोली दिल्ली पुगेको थियो । उनीहरूको समन्वयमा भारतीय प्रहरीले बस्नेतलाई पक्राउ गरेको हो । मङ्गलबार पक्राउ परेका उनलाई सिआइबीको टोलीले भारतस्थित नेपाली दूतावासमा राखेको थियो । बुधबार बिहान विमानमार्फत काठमाडौँ ल्याइएको छ ।
पक्राउ हुँदा उनले आफ्नो ठेगाना दोलखाको भीमेश्वर नगरपालिका बताएका थिए । अनुसन्धानपछि उनको घर सिन्धुपाल्चोक रहेको खुलेको थियो । सिआइबी टोलीको हात लागेपछि प्रलोभनमा पार्न उनले अनेक हर्कत गरेका थिए । दिल्लीस्थित नेपाली दूतावासमा रहँदा मात्रै उनले तीनपटक पोसाक बदलेका थिए । आफू ठूलो चिनियाँ व्यापारी रहेको र मुलुकका प्रभावशाली व्यक्तिसँग नजिकको सम्बन्ध रहेको भन्दै क्राउ गर्न आएको सिआइबी टोलीलाई प्रभावित पार्न खोजेका थिए । उनले दूतावासमा पनि सोही किसिमका गफ दिएका थिए ।
सिआइबीका अनुसार पक्राउ परेका बस्नेत तिब्बती मूलका बेल्जियम नागरिक दावा छिरिङका खास सहयोगी हुन् । दावाकै निर्देशनअनुसार उनले हङकङबाट विभिन्न सामग्री ल्याउने गरेको खुलेको छ । सोही सामग्रीमा सुन लुकाएर तस्कर गर्ने गरेको प्रहरीको भनाइ छ । बस्नेतको सम्बन्ध याओ पुचेङसँग पनि रहेको पाइएको छ ।
सिआइबीको टोली भारत जाने
सिआइबी प्रमुख एआइजी किरण बज्राचार्यले सुन तस्करी घटनामा अनुसन्धान गर्न सिआइबीको टोली भारत जाने तयारीमा रहेको बताइन् । उनले भनिन्, “तस्करी भएर आएको सुन भारतीय बजार जाने गरेको देखिन्छ । त्यसो हुँदा अनुसन्धान त्यताको पनि गर्नुपर्ने देखियो । अनुसन्धानका लागि टोली पठाउने तयारी भइरहेको छ ।”
(नयाँ पत्रिका, १४ भदौ २०८०)
प्रचण्ड सरकार रक्षात्मक स्थितिमा
नक्कली भुटानी शरणार्थी, ललितानिवासलगायतका प्रकरणपछि ‘सुशासनको पक्षमा ऐतिहासिक काम’ गरेको बताइरहेको सरकारका लागि विद्युतीय सिगरेट (भेप) मा लुकाएर तस्करी भएको सुनको अनुसन्धानले भने रक्षात्मक स्थितिमा पु¥यायो ।
देउवाले आफ्ना पार्टीका प्रभावशाली नेता बालकृष्ण खाण पक्राउ पर्ने तर महराको नाम किटान हुँदा पनि अनुसन्धान नगर्ने भन्दै प्रश्न मात्रै उठाएनन्, शरणार्थी प्रकरणको अनुसन्धान अधिकृतहरूलाई हटाउनसमेत दबाब दिए । त्यसपछि सरकारले देउवाको इच्छाबमोजिम उपत्यका प्रहरी प्रमुख श्यामलाल ज्ञवाली र उपत्यका अपराध अनुसन्धान कार्यालयका एसएसपी डा. मनोज केसीलाई जिम्मेवारीबाट हटायो ।
त्यसपछि प्रचण्डले फेरि प्रहरी प्रमुख कुँवर, एआईजी बज्राचार्यसहितलाई बोलाएर ब्रिफिङ लिएका थिए । बैठकमा सहभागी एक सरकारी अधिकारीका अनुसार आफूले चलाइरहेको सुशासनको अभियान एकैपटकमा भेप प्रकरणले शून्यमा झारिदिएको भन्दै प्रधानमन्त्री प्रचण्ड भावुक बनेका थिए । प्रहरीले भने गृहमन्त्री श्रेष्ठलाई दिएकै जवाफ दोहो¥याउँदै मुद्दा चलाउने खालको प्रमाण नभएको दोहो¥याएको थियो ।
सीआईबीका पूर्वनिर्देशक हेमन्त मल्ल ठकुरी बताउँछन् “सत्तारुढ दलकै नेताहरूले आफ्ना नेताहरू टार्गेट गरेर समात्ने, तर माओवादीका मान्छे आउँदा चुपचाप बस्ने भनेर प्रश्न उठाएपछि प्रधानमन्त्री पनि नैतिक सङ्कटमा परेको देखिन्छ”, मल्ल भन्छन्, “त्यही प्रेसरको नतिजा आज देखिएको हो ।”
(अनलाइन खबर, १४ भदौ २०८०)
Leave a Reply