भर्खरै :

भक्तपुर काण्ड राज्यस्तरको पञ्चायती षड्यन्त्र

भक्तपुर काण्ड राज्यस्तरको पञ्चायती षड्यन्त्र

भक्तपुर, १६ भदौ । नेपाल मजदुर किसान पार्टीका भक्तपुर जिल्ला अध्यक्ष तथा वाग्मती प्रदेशसभा सदस्य सुरेन्द्रराज गोसाईको आतिथ्यमा सूर्यविनायक नपा ७ गुण्डुमा २०४५ साल भदौ ९ गतेको कालो दिनको विरोध तथा भत्र्सना कार्यक्रम सम्पन्न भयो ।
कार्यक्रममा जिल्ला अध्यक्ष सुरेन्द्रराज गोसाईले पार्टीले अहोरात्र देश र जनताको हितमा निःस्वार्थपूर्वक सडकदेखि सदनसम्म सङ्घर्षरत भएको प्रस्ट्याउनुभयो । उहाँले कार्यकर्ताले के पाउने होइन, पार्टीको लागि के के योगदान दिनसकियो या सकिएन भनी स्वमूल्याङ्कन गरी पार्टीको आजूलाई पूरा गर्नु प्रमुख कार्य रहेको र सोहीबमोजिम निःस्वार्थपूर्वक अघि बढिरहेकोले सच्चा देशभक्त तथा असल नागरिकले मूल्याङ्कन गरिरहेकोले सङ्ख्यामा कम भए पनि जनस्तरमा नेमकिपाको छवि उजागर भइरहेको बताउनुभयो ।
भक्तपुर काण्ड घट्नुमा तत्कालीन पञ्चायती आततायी सरकार, नेमकिपाले उद्देश्यानुसार जनताको सेवा गर्नु, भारतीय विस्तारवाद र अमेरिकी साम्राज्यवादको विरोध गर्नु, पञ्चायती सरकारको कालो कर्तुतको भण्डाफोर गर्नु, जनताको मनमनमा पार्टीको स्थान हुन जानुले आँटिएर जसरी भए पनि नेमकिपालाई समूल नष्ट गर्ने कालो कर्तुतस्वरुप भूकम्प पीडितलाई राहत दिने नाउँमा षड्यन्त्रमूलकरूपमा राज्यस्तरबाट घटना घटाई पार्टीको समूल नष्ट गर्ने कुचेस्ता गरेको प्रस्ट पार्नुभयो ।
कार्यक्रममा नेमकिपा सूर्यविनायक नगर समितिका अध्यक्ष सूर्यभक्त त्वातीले त्यसताका आततायी सरकारको पुलिस प्रशासनले भक्तपुरमा श्वेत आतङ्क फैलाउनुका साथै नेता तथा कार्यकर्तालाई धडपकड गरी जेलमा सडाउन लागिपरेको र पार्टी प्रकाशन तथा राष्ट्रिय अन्तर्राष्ट्रिय कम्युनिस्ट प्रकाशनलाई जफत गरी जलाएको बताउनुभयो ।
त्यस्तै नेपाल क्रान्तिकारी किसान सङ्घका सभापति गोविन्द दुवालले नेमकिपाले मोहियानी हक सुरक्षण, बाली काट्ने आन्दोलन, भर्पाई आन्दोलन, नेपालको भूमि अतिक्रमणको विरोध तथा सङ्घर्ष गरी किसानवर्गको सुधारात्मक अवस्था भएको देख्न नसकेर निरङ्कुश पञ्चायती व्यवस्थाले भक्तपुर काण्ड रचेको हुनाले भविष्यमा पनि यस्तो षड्यन्त्र हुनसक्नेमा सचेत हुन जोड दिनुभयो ।
त्यस्तै नेपाल क्रान्तिकारी महिला सङ्घका केन्द्रीय कोषाध्यक्ष रोशनमैंया सुवालले भक्तपुर काण्डको विरोधमा महिलाहरू सङ्गठित र एकताबद्ध भएर रातिराति जाग्राम बसी प्रहरीको दमन अत्याचारलाई निरुत्साहित गर्दै सङ्घर्षरत भएको र पार्टीका अग्रज नेता तथा कार्यकर्तालाई रिहाइ गर्न विद्धतवर्ग, वकिल, न्यायप्रेमी जनताले गरेको साथ सहयोगबारे बताउनुभयो ।
कार्यक्रममा नेमकिपा सूर्यविनायक वडा नं. ७ पार्टी अध्यक्ष सूर्यबहादुर पञ्च, कृष्णलाल न्हेम्हाफुकी, नेक्राकिसङ्घ सूर्यविनायकका अध्यक्ष राजेन्द्र बखुन्छे, आयोजक समितिका सचिव एस.बी. फोजूले पनि बोल्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *