‘जस्तोसुकै बाधा व्यवधानबिच पनि हामी निरन्तर जनताको सेवामा समर्पित भएर अघि बढिरहनेछौँ
- कार्तिक १०, २०८३
भक्तपुर, १९ भदौ । भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले नेपाल मजदुर किसान पार्टीका अगुवा साथीहरूको अनुभवबाट सिकेर नयाँ पुस्ता अघि बढ्नुपर्ने विचार व्यक्त गर्नुभयो ।
भक्तपुर नगरपालिका वडा नं. १ को आयोजनामा भएको अगुवा कार्यकर्ताको भेलालाई सम्बोधन गर्दै प्रमुख प्रजापतिले पार्टीका अगुवा कार्यकर्ताहरूले तत्कालीन परिस्थितिअनुसार शोषक वर्गको विरुद्ध सङ्घर्ष गर्नुभयो । जेल नेल, भूमिगत र प्रवास जीवन बिताउनुभयो, अहिले त्यही जगमा उभिएर हामी काम गर्दैछौँ, अहिलेको भक्तपुर निर्माणमा अगुवा साथीहरूको महत्वपूर्ण योगदान छ भन्नुभयो ।
उहाँले सबैले भक्तपुरको विकास मोडलबारे चर्चा गरिएको बेला भक्तपुर जिल्लाबाट निर्वाचित एक जना सांसदले विकास नदेख्नुलाई दिउँसो आँखा नदेख्ने उल्लुको संज्ञा दिनुभयो ।
उहाँले कति जनप्रतिनिधिहरू आफ्नो पालिकालाई स्मार्ट सिटी बनाउने भनी हिँडेकोबारे चर्चा गर्दै भन्नुभयो, “योजनाबद्ध सहरीकरण, यातायातको राम्रो व्यवस्था, पर्याप्त खुल्ला ठाउँ, गुणस्तरीय स्वास्थ्य उपचार र राम्रो शिक्षा व्यवस्था भएको तथा शुद्ध खानेपानी, बिजुली, बैङ्क तथा वित्तीय संस्थाहरूको व्यवस्थित बन्दोबस्त र शुद्ध हावापानी भएको सहर जहाँ सबै विद्युतीय सुविधा प्राप्त हुन्छ त्यो नै स्मार्ट सिटी हो । त्यो सर्वसाधारण जनताको लागि अहिले सम्भव हुँदैन । हामी सबै मिलेर बस्न सक्ने आदर्श भक्तपुर नगर बनाउन चाहन्छौँ ।”
भनपाले जनताबिच निर्वाचनको बेला गरेको प्रतिबद्धताबमोजिम शिक्षा, स्वास्थ्य उपचार, सम्पदा संरक्षणजस्ता जनताका आधारभूत कामहरू गर्दै आएको प्रस्ट पार्नुभयो ।
भनपा – १ का वडाध्यक्ष श्यामकृष्ण खत्रीको सभापतित्वमा सम्पन्न भेलामा अगुवा कार्यकर्ताहरू लक्ष्मीभक्त खत्री, लक्ष्मीनारायण खत्री र कृष्णबहादुर दुगुजुले विगतमा पार्टीले गरेका किसान आन्दोलनबारे आ–आफ्नो अनुभवहरू बताउनुभएको थियो ।
Leave a Reply