भर्खरै :

पुँजीपतिवर्गसँग मिलेर समाजवाद असम्भव

पुँजीवादी बन्दोबस्त भएको देशमा निर्वाचनबाट समाजवाद स्थापना सम्भव छैन । सानातिना सुधार गरेर र पुँजीपतिवर्गसँग मिलेर पनि समाजवाद स्थापना हुँदैन । सानो र अल्पकालीन हित हेर्ने या सोच्ने दृष्टिकोण कम्युनिस्टहरूको हुँदैन । त्यस्तो विचार र दृष्टिकोणबाट समाजवाद आउँदैन । एकथरीका कम्युनिस्टहरू पुँजीवादी पार्टीहरूसँग मिलेर देशमा शासन गर्न रुचाउँछन् । अर्काे थरीका कम्युनिस्टहरू यो पुँजीवादी व्यवस्थाबाटै सबथोक पाउँछन्, अब देशमा कुनै सङ्घर्ष आवश्यक पर्दैन; वर्गसङ्घर्ष गर्नेहरू कम्युनिस्ट नै होइनन् भन्छन् । यी दुई थरी कम्युनिस्टको दृष्टिकोण या विचार सही छैन । सिद्धान्त र विचार छोडेर सत्ता र पदको निम्ति राजनीति गर्ने दलका नेताहरू यस्तै विचार राख्छन् ।
कम्युनिस्ट पार्टीले समाजवादी व्यवस्था र पुँजीवादी व्यवस्थाको भिन्नताबारे जनतालाई सुसूचित पार्नैपर्छ । कम्युनिस्टको सिद्धान्त र विचार जनताको घर आँगनमा पु¥याएर आमूल परिवर्तनको निम्ति तयार गर्नुपर्ने कम्युनिस्टहरू पुँजीवादी सरकारमा गएपछि या पुँजीवादी पार्टीसँग मिलेर शासन चलाएपछि के कम्युनिस्ट पार्टी बलियो हुन्छ ? के देशमा कम्युनिस्ट आन्दोलन अघि बढ्छ ? हरेक राजनीतिक दलले सिद्धान्त र विचारको आधारमा जनताको मत लिनुपर्ने हो, सिद्धान्त र विचारबाट सुसूचित पारेर जनताको विश्वास जित्नुपर्ने हो । तर, शासक दलहरू या पुँजीवादी दलहरू कहिले पैसा दिएर, कहिले लोभलालच देखाएर, कहिले जातीय कुरा गरेर त कहिले साम्प्रदायिक भावना फैलाएर मत लिन्छन् र शासन गर्छन् । यसरी शासकहरूले झूट कुरा गरेर, झूटा कुरा फलाकेर जनता हातमा लिने भएकाले जनतालाई शिक्षित गर्नुपर्ने हो । त्यस्तो काम सच्चा कम्युनिस्ट पार्टीले मात्र गर्छ ।
मुख्य कुरा बहुमत र अल्पमतको होइन । सिद्धान्त र विचारको हो । कुनै दलले प्राप्त गरेको मत र कुनै दलको नाम नै कम्युनिस्टको पर्याय होइन । सङ्ख्या र नाम होइन, सिद्धान्त र काम हो । सिद्धान्त, विचार र त्यसअनुसार गरिरहेको व्यवहारबाट हामीले कम्युनिस्ट हो, होइन थाहा पाउनुपर्छ । त्यसकारण, पुँजीवादी व्यवस्थाका हिमायती सरकार र पार्टी कम्युनिस्ट हुँदैन । नेपाल मजदुर किसान पार्टीले सिद्धान्त र विचारलाई जोड दिनुको कारण जनतालाई सचेत र सङ्गठित गर्न नै हो । सचेत जनताको शक्तिबिना देशमा परिवर्तन सम्भव छैन । तर, शासक दल र ठूला दलका नेताहरू सिद्धान्तको ख्याल नगर्ने, ठूलठूला धनाढ्य, भ्रष्टाचार र अनियमिततामा अभियोग लागेका र विश्वासघाती व्यक्तिहरूलाई पार्टीमा स्थान दिन्छन् र त्यस्तै व्यक्तिहरूलाई उम्मेदवार दिन्छन् । आपराधिक या अपराधमा मुछेका व्यक्तिहरूलाई उम्मेदवारी बनाएर, जिताएर देशमा कसरी इमानदारहरूको सरकार हुन्छ ? अनि देशमा कसरी सुशासन हुन्छ ?
सरकारमा नगइकन, अरू दलसँग नमिलिकन पार्टी टिकाउन, चलाउन गा¥हो मान्ने दल र दलका नेताहरूले देशमा क्रान्ति गर्ने छैनन्, क्रान्तिको निम्ति पूर्वाधार तयार गर्ने छैनन् । ती दलका नेताहरू जसरी भए पनि सरकारमा जाने र जसरी भए पनि ठूलो दल बनाउनको निम्ति राजनीति गरेको देखिन्छ । जसरी भए पनि सरकारमा जाने र जसरी भए पनि जित्ने गरेकोले नै देशमा अनियमितता बढेको हो ? देशमा भ्रष्टाचारले ठाउँ पाएको हो । शासक दल र दलका नेताहरूको यस्तै चालाले गर्दा देशमा अनेकानेक भ्रष्टाचार र अनियमितताका काण्डहरू दोहोरिरहेका हुन् । यस्तो कार्य रोक्न सरकार र दल हाँक्ने सबै नेता तथा कार्यकर्ताहरू इमानदार, योग्य, दूरदर्शी र देश तथा जनताप्रति समर्पित हुनुपर्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *