भर्खरै :

खराब राजनीतिको कारण तराईका जनता पीडीत

खराब राजनीतिको कारण तराईका जनता पीडीत

हिमाल र पहाडमा झैँ तराईमा पनि शोषक, सामन्त, जमिनदार र प्रतिक्रियावादीहरू छन् । उनीहरू त्यहाँका बहुमत जनतासँग श्रम शोषण गर्छन् । श्रम शोषण गरेर उनीहरू आफ्नो स्वार्थ पूरा गर्छन् । तराईलाई केन्द्रित बनाएर दल खोलेका नेताहरू जमिनदार, सामन्त, जालीफटाहा र प्रतिक्रियावादीमा पर्छन् । उनीहरू जातीय राजनीति गर्छन्, साम्प्रदायिक आन्दोलन गर्न पछि पर्दैनन् । स्थानीय जनताको मत लिएर निर्वाचित सांसदहरू तराईको जनताको काम, माम र कपडाको व्यवस्थाको निम्ति सङ्घर्ष गर्दैनन् । निःशुल्क शिक्षा, स्वास्थ्य सेवा, बाल उद्यान, शिशुशाला या शिशुस्याहार केन्द्र खोल्ने र जनताको सेवा गर्नेतर्फ उनीहरूको ध्यान पुगेको हुँदैन । साम्प्रदायिक आन्दोलनको सूत्रधार भारतीय विस्तारवाद हो । दक्षिणपन्थी भारत सरकारले नेपालको साम्प्रदायिक पक्षलाई समर्थन गरिरहेको हुन्छ । आज संसारका जनता अनेक जातीय, धार्मिक र क्षेत्रीय अतिवादबाट पीडित छन् ।
तराईका जनता अहिले पनि अन्धविश्वासमा लागेका छन् । अझै त्यहाँ अन्धपरम्परा छ । अन्धविश्वास, अन्धपरम्पराका कारण जनताले बेलाबखत अनेक दुःख कष्ट भोगिरहेका छन् । शारीरिक र मानसिक यातना भोग्न उनीहरू विवस छन् । तराईका कामदार जनता असुरक्षित छन् । त्यहाँका जनताको माग सरकारले सुनेको छैन, उनीहरूको माग पूरा गरेको छैन । उनीहरूको जीवन सुनिश्चित गर्न मोहियानी हकको व्यवस्था गर्नुपर्ने हो, जोत्दै आएको जग्गामा मोही कायम गर्नुपर्ने हो । जोताहा किसानलाई भूमि, बेरोजगार मजदुर र युवाहरूलाई रोजगारी, निःशुल्क शिक्षा र स्वास्थ्य सेवाका बन्दोबस्त गरिएको भए राहत हुन्थ्यो । तर, त्यहाँका शोषक, सामन्त, जालीफटाहा र प्रतिक्रियावादीहरू श्रमजीवी जनताको पक्षमा लागेका छैनन्, बरु उनीहरूमाथि रजाइँ गरेर बसेका छन् । तराईबाट राष्ट्रपति भए, धेरै मन्त्रीहरू भए । उनीहरूले आफ्ना नातागोतालाई नोकरी दिने, जागिर दिने काम गरे† तराईका बहुमत जनताको हित हुने काम गरेनन् ।
उनीहरूको उद्देश्य भारतीय नागरिकहरू बढीभन्दा बढी नेपालमा भित्याउने र नेपाली भन्दा भारतीयहरूको सङ्ख्या बढाउने हो । विदेशीले पनि सजिलैसँग नेपाली नागरिकता लिन पाउन गरिएको नागरिकता विधेयक त्यसको दृष्टान्त हो । अहिले तराईमा भारतीय नागरिकहरूले धमाधम नेपाली नागरिकता लिइरहेका छन् । स्थानीय जनतालाई नेपाली नागरिकता दिनुपर्नेमा शङ्का छैन । नेपालमा भारतीय मूलको जनसङख्या बढाउने भारतीय नियत नै हो । भारतीयहरूले नेपाली नागरिकता लिने क्रम रोकिएन भने तराईमा नेपालीभन्दा भारतीयहरूको सङ्ख्या बढी हुनेमा शङ्का छैन । कुनै बेला तराईमा नेपाली आदिवासीभन्दा भारतीय बासिन्दाहरूको बोलवाला बढ्नेछ र स्थानीय तह, प्रदेश र प्रतिनिधिसभामा नेपाली नागरिकता प्राप्त भारतीय नागरिकहरू निर्वाचित हुनेछन् । यो विगतदेखिको खराब राजनीतिको परिणाम हो । त्यसबेला देशको स्थिति के होला ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *