अध्यक्ष रोहितको संस्मरणका केही पृष्ठ
- असार ३१, २०८३
कुनै पनि दलको सही मापदण्ड त्यो राजनीतिक दलले प्राप्त गरेको मत होइन । स्थानीय तह; प्रदेश र सङ्घीय संसद्मा मत प्राप्त गरेको आधारमा कुनै दल ठीक र गलत भन्नु उपयुक्त हुँदैन । निर्वाचनमा सत्तारुढ र ठूला पुँजीवादी दलले पैसाको खोलो बगाएको हुन्छ; लोभलालच बाँडेको हुन्छ; धाक धम्की दिएको हुन्छ; अनेक झूटा कुरा फैलाएको हुन्छ । पुँजीवादी निर्वाचन स्वच्छ, निष्पक्ष र स्वतन्त्र हुँदैन । अनेक धाँधली गरेर निर्वाचनमा प्राप्त मतको आधारमा जनताले सही र गलत छुट्याउनु उपयुक्त हुँदैन । अझ ती दलका नेताहरू जातीय, भाषिक, धार्मिक र क्षेत्रीय कुरा फलाक्छन्; द्वेषपूर्ण भावना फैलाउँछन् । निर्वाचन आचारसंहिता तोडेर, निर्वाचन नियमावलीविपरित लागेर, चुनाव प्रचार गरेर जितेको दललाई हामीले ठूलो दल माने पनि सही दल मान्न सक्दैनौँ ।
माक्र्सवादलाई पथप्रदर्शक मान्ने दलका नेताहरूले माक्र्सवादको क्रान्तिकारी धार छोडेका छन् । माक्र्सवादी बाटो छोड्ने दल र दलका नेताहरू या शान्तिपूर्ण बाटोबाट समाजवाद ल्याउने विचार संशोधनवाद हो । संशोधनवादीहरू कम्युनिस्ट हुँदैनन् । संशोधनवाद कम्युनिस्ट र मजदुर आन्दोलनभित्रको पुँजीवादी विचार हो । संशोधनवाद र पुँजीवादको विचार बोक्ने दलले न श्रमजीवीवर्गको प्रतिनिधित्व गर्छ न त माक्र्सवादलाई व्यवहारमा लागु गर्छ ? क्रान्तिको मुख्य लक्ष्य छोडेर स– साना अल्पकालीन स्वार्थ खोज्ने, जनतालाई खुसी पार्न स–साना सुधारको काममा केन्द्रित हुने दलले बहुमत जनताको पक्ष लिँदैन† बहुमत जनताको सेवा गर्दैन । बहुमत जनताको सेवा नगर्ने, छिनछिनमा विचार फेर्ने, वर्ग शत्रुलाई नचिन्ने, मित्रघात गरेर शत्रुसँग मिल्न जाने दललाई हामीले कसरी सही मान्छौँ ? ठूलो दलको हवाला दिएर जनताको ध्यान खिच्ने र जोसँग पनि मिलेर निर्वाचनमा लड्ने र सरकारमा सहभागी हुने दल या अडान नभएको दललाई कसरी सही मान्न सकिन्छ ?
देशको संविधान पालना नगर्ने, आफ्नो देशको कानुनभन्दा अरू देशको एक कम्पनीको कानुनलाई ठूलो मान्ने, विदेशी सहयोग र अनुदानको भरमा बजेट तयार गर्ने, भएका सम्झौताहरूमा देश हितभन्दा अर्को देशको हितमा हस्ताक्षर गर्ने, देशलाई आत्मनिर्भर बनाउनुको सट्टा परनिर्भर बनाउने बाटोमा लाग्ने दल ठूलो भएरै के गर्ने ? देशको सीमा मिचे पनि, अतिक्रमण गरे पनि नेपाली भूमिलाई डुवान पार्ने, डुवानमा पार्ने सन्धि सम्झौता गर्ने दल पनि कहिल्यै सद्दे हुन्छ ? देशको पक्षमा हुन्छ ? ठूलाठूला धनाढ्यहरूबाट चन्दा उठाउने, चन्दा दिएको आधारमा उम्मेदवार उठाउने, भ्रष्टाचार, अनियमितता र गतिविधिमा स्थान दिने दल के देशको निम्ति आवश्यक हो ? पार्टी चलाउने र पार्टी लाइनको बलियो आधार पार्टीको संविधान र पार्टीको घोषणापत्र हो । तर, कति दलका नेताहरू आफ्नो दलको संविधान र घोषणापत्र पनि पालना गर्दैनन् । दलको घोषणापत्र लागु नगर्ने दललाई सही मान्ने कि नमान्ने !
हरेक पार्टीको मार्ग निर्देशक सिद्धान्त हुन्छ, हुनुपर्छ । कति दलको मार्ग निर्देशक सिद्धान्त हुन्छ, तर लागु गर्दैन भने कतिको मार्गनिर्देशक विचार नै हुँदैन । वास्तवमा निर्वाचन वर्गसङ्घर्ष पनि हो, विचारको लडाइँ पनि हो । दलको आ–आफ्नो वर्गीय आधार हुन्छ । त्यही वर्गीय आधारमा दल सञ्चालन हुनुपर्छ । निर्वाचनमा वर्गीय शत्रुसँग गठबन्धन गर्ने र सरकारमा जाने दल पनि यहाँ छन् । अडान नभएको दल र दलका नेताहरूको पछि लागेर कसरी देश बन्छ ? कसरी जनताको हित हुन्छ ? देश कसरी आत्मनिर्भर बन्छ ? देशमा कसरी भ्रष्टाचार अन्त्य हुन्छ ? देशमा कसरी सुशासन हुन्छ ? ती दलहरू कसरी सही हुन्छन् ?
Leave a Reply