भर्खरै :

सिद्धि गणेश साकोसमा क्षमता अभिवृद्धि तालिम

सिद्धि गणेश साकोसमा क्षमता अभिवृद्धि तालिम

भक्तपुर, २४ भदौ । सिद्धि गणेश बचत तथा ऋण सहकारी संस्थाको आयोजना र नेफ्स्कुनको प्राविधिक सहयोगमा चारदिने सञ्चालक समिति, लेखा सुपरिवेक्षण र विभागीय प्रमुखहरूको क्षमता अभिवृद्धि तालिमको समापन आइतबार सम्पन्न भयो ।
उक्त कार्यक्रममा भक्तपुर नगरपालिकाका उपप्रमुख रजनी जोशीले क्षमता अभिवृद्धि तालिमले सञ्चालकहरूमा नयाँ ऊर्जा प्राप्त हुने विश्वास व्यक्त गर्दै देशकै नमुना सहकारी बनेर अन्यलाई मार्गनिर्देश गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।
सहकारी संस्थामा भित्रिएको विकृतिले धेरैको लगानी डुबेको चर्चा गर्दै उहाँले सहकारीभित्रको समस्या पहिचान गरी त्यसबारे घनिभूत छलफल आवश्यक भएकोमा जोड दिनुभयो ।
सहकारीले पनि उदाहरणीय कार्य गरेर भक्तपुरलाई चिनाउनुपर्ने आवश्यकता औँल्याउँदै उहाँले भनपाले सांस्कृतिक आदानप्रदानमा जोड दिँदै आएको बताउनुभयो ।
नेफ्स्कुनको प्रतिनिधि एवं तालिमका प्रशिक्षक कोमलराज अधिकारीले सहकारीको विद्यमान अवस्था निकै चुनौतीपूर्ण बनिरहेको उल्लेख गर्दै संस्थाको दिगो विकासको लागि सञ्चालक र व्यवस्थापक सक्षम हुनुपर्छ भन्नुभयो ।
अतिथि जोशीले तालिमका सहभागीहरूलाई प्रशंसापत्र प्रदान गरिएको सो समारोहमा संस्थाका उपाध्यक्ष विष्णुराम दुमरूले सहकारीको चुनौती पार गर्दै समुदायको हितमा काम गरिरहेको बताउनुभयो ।
संस्थाका अध्यक्ष रूद्रनारायण लाखाले सदस्यहरूको जीवनस्तर र सांस्कृतिक स्तर उकास्न लागिरहेको बताउनुभयो भने लेखा सुपरिवेक्षण समितिका संयोजक रामप्रसाद लाखाजु र विष्णुप्रसाद दुमरूले पनि बोल्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *