अध्यक्ष रोहितको संस्मरणका केही पृष्ठ
- असार ३१, २०८३
प्रजातान्त्रिक जनगणतन्त्र कोरिया सबै कोरियाली जनताको प्रतिनिधित्व गर्ने एक स्वाधीन समाजवादी देश हो । मातृभूमिको मुक्ति र जनताको स्वतन्त्रताको निम्ति साम्राज्यवादी आक्रमणकारीहरूविरुद्ध सङ्घर्ष गर्ने कोरियाली क्रान्तिकारीहरूको देश हो– प्रजग कोरिया । जनतामा केन्द्रित क्रान्तिकारी विचारधाराबाट निर्देशित प्रजग कोरियाको सार्वभौमसत्ता मजदुर, किसान, कामदार, बुद्धिजीवी तथा अन्य समुदायमा निहित देश हो– प्रजग कोरिया । प्रजग कोरियाले शोषण र दमनबाट मुक्त भएर राज्य र समाजका मालिक बनेका मजदुर, किसान, बुद्धिजीवी र अन्य कामदार जनताको हितमा काम गरिरहेको छ । राज्यले समाजका सबै सदस्यलाई साम्राज्यवादको विरोधमा क्रान्ति उन्मुख गर्ने काम गरिरहेको छ । कोरियाली मजदुर पार्टीको नेतृत्वमा सञ्चालन भइरहेको प्रजग कोरिया संसारकै शक्तिशाली एवम् साम्राज्यवादी देश संयुक्त राज्य अमेरिकालाई हाँक दिने एक कम्युनिस्टको देश बनेको छ, प्रजग कोरिया ।
जनताको शक्तिलाई सुदृढ बनाएर तथा वैचारिक, प्राविधिक र सांस्कृतिक क्रान्तिलाई सफल पारेर प्रजग कोरियाले उत्तर कोरियामा समाजवादलाई पूर्णरूपमा विजय प्राप्त गर्ने विश्वास दिलाएको छ । ग्रामीण प्राविधिक पक्ष र कृषिलाई औद्योगिकीकरण गर्ने प्रक्रियामा राज्य अघि बढिरहेको छ । प्राविधिक क्रान्ति समाजवादी अर्थतन्त्रको विकास गर्ने आधारभूत प्रक्रिया हो । प्रजग कोरियामा विकास भइरहेको समाजवादी संस्कृतिले कामदार जनताको सृजनात्मक क्षमताको समुन्नति गर्छ । समाजवादी राष्ट्रिय संस्कृति निर्माण गर्ने देश साम्राज्यवादको सांस्कृतिक घुसपैठ गर्नेतर्फ सचेत छ । हरेक क्षेत्रमा नयाँ समाजवादी जीवन शैलीको स्थापना गर्ने विश्वासका साथ देश अघि बढिरहेको छ । संयुक्त राज्य अमेरिकाले प्रजग कोरियामा आर्थिक नाकाबन्दी नगरेको भए प्रजग कोरिया पनि विकासमा धेरै अगाडि बढेको देशमा गनिसकेको हुनेछ । अतः अमेरिकाको नाकाबन्दी विनासर्त फिर्ता लिनुपर्छ र विश्वका विभिन्न देशमा आयात र निर्यात गर्ने बाटो खुला गर्नुपर्छ ।
राज्यले कामदार जनतालाई चित्त बुझाउने एक समाजवादी संस्कृतिको सुन्दर जीवनको लागि शारीरिक र मानसिकरूपले तयार गर्दै छ । प्रजग कोरियाको सशस्त्र सेनाको उद्देश्य कामदार जनताको हितको रक्षा गर्नु रहेको छ† समाजवादी व्यवस्थाको रक्षा गर्नु रहेको छ । नागरिकहरूले आफ्नो योग्यताअनुसार काम गर्नेछन् । तिनीहरूको कामको गुण र मात्राअनुसार पारिश्रमिक पाउनेछन् । नागरिकहरूले निःशुल्क चिकित्सा शिक्षा पाउनेछन् । क्रान्तिकारी योद्धा, क्रान्तिकारी र देशभक्त सहिदहरूको परिवार, जनसेनाका सैनिकहरूको परिवार र अशक्त सैनिकहरूले राज्य र समाजबाट विशेष संरक्षण पाउनेछन् । प्रजग कोरियाले शान्ति र प्रजातन्त्रको लागि, राष्ट्रिय स्वाधीनता र समाजवादको लागि र सांस्कृतिक स्वतन्त्रताको लागि काम गरेबापत निर्वासित गरिएका विदेशीहरूलाई आश्रयको अधिकार दिएको छ । नागरिकहरूले आफ्नो सङ्गठनको रक्षा गरी समाज र जनताको भलाइको लागि समर्पित भएर काम गर्नेछन् ।
यसरी प्रजग कोरिया संसारकै एक नमुना देश र असल देशको रूपमा विकास गरिरहेको छ । यस कार्यमा प्रजातान्त्रिक जनगणतन्त्र कोरियाका महान् नेता किम इल सङको महत्वपूर्ण भूमिका रहेको छ । प्रजग कोरिया विश्वको लागि शिक्षा लिन लायक देश बनेको छ । सिङ्गो प्रजग कोरियालाई बुद्धिजीवीकरण गर्ने अभियान प्रजग कोरियाको राम्रो दृष्टान्त हो । प्रजग कोरियाली मजदुर पार्टी, सरकार, जनता, सेना, कर्मचारीको एक मन, एक विचार त्यहाँको विशेषता रहेको छ । प्रजग कोरियाको ७५ औँ स्थापना दिवसको सफलताको कामना ¤ देशलाई आत्मनिर्भर बनाउने अभियानमा कोरियाली मजदुर पार्टीले सफलता पाओस् ।
Leave a Reply