भर्खरै :

संविधानसभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङको निधन

संविधानसभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङको निधन

काठमाडौँ, २६ भदौ । संविधानसभाका अध्यक्ष एवं एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको हृदयाघातबाट सोमबार राति निधन भएको छ ।
सामान्य रुघाखोकी लागेर घरमा आराम गरिरहनुभएका नेम्वाङलाई गए राति हृदयघात भएपछि उपचारका लागि राति १ः३० बजे त्रिवि शिक्षण अस्पताल लगिएकामा उपचारका क्रममा त्यहीँ निधन भएको उहाँका स्वकीयसचिव कृष्णप्रसाद काफ्लेले बताउनुभयो ।
वि.सं. २००९ फागुन २८ गते इलाममा जन्मनुभएका नेम्वाङ नेपाली राजनीतिमा शालीन र सबैलाई मिलाएर जान सक्ने नेताको रूपमा छवि बनाउनुभएको थियो ।
वि.सं. २०४८ देखि २०५२ सम्म राष्ट्रियसभा सदस्य, २०५६, २०६४, २०७०, २०७४ र २०७९ मा इलाम–२ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित नेम्वाङ पार्टी संसदीय दलको उपनेता र पार्टी उपाध्यक्षको जिम्मेवारीमा हुनुहुन्थ्यो ।
नेम्वाङ वि.सं. २०६३ मा पुनःस्थापित प्रतिनिधिसभाका सभामुख, वि.सं. २०६४ व्यवस्थापिका संसद्को सभामुख, वि.सं. २०६५ एवं २०७० मा संविधानसभाका अध्यक्ष/सभामुख हुनुहुन्थ्यो ।
उहाँले वि.सं. २०३२ देखि २०६३ सम्म मुलुकमा भएको राजनीतिक आन्दोलनमा पटक–पटक गरी सात महिना थुनामा रहनुभएका नेम्वाङ २०५१ सालमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री, सामान्य प्रशासनमन्त्री, सार्वजनिक लेखासमितिको सभापतिको जिम्मेवारी सम्हाल्नुभएको थियो ।
त्यसैगरी, वि.सं. २०३५ देखि २०४२ सम्म नेपाल ल क्याम्पसमा प्राध्यापन गर्नुभएका स्व. नेम्वाङ वरिष्ठ अधिवक्तासमेत रहनुभएको थियो ।
मङ्गलबारै नेम्वाङको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि एमाले पार्टी कार्यालय च्यासलमा लगिएको छ ।
नेम्वाङका छोराहरु अमेरिका र अस्ट्रेलियामा रहेका कारण उहाँहरु आइपुग्नु भएपछि बिहीबार मात्र अन्त्येष्टि गरिने भएको छ ।
यसैबिच नेपाल सरकारले संविधान निर्माणमा नेम्वाङले गरेको योगदानप्रति सम्मान प्रकाट गर्दै उहाँलाई राजकीय सम्मानका साथ अन्त्येष्टि गर्ने निर्णय गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *