भर्खरै :

“नेपाल सरकारको सम्पत्ति गैरसरकारी संस्था (एनजीओ) को बनाउन दिनेछैनौँ”– प्रमुख

“नेपाल सरकारको सम्पत्ति गैरसरकारी संस्था (एनजीओ) को बनाउन दिनेछैनौँ”– प्रमुख

काठमाडौँ, २८ भदौ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री मोहनबहादुर बस्नेतले भक्तपुरलाई स्वास्थ्य क्षेत्रको उत्कृष्ट गन्तव्यस्थलको रूपमा विकास गर्ने सरकारको उद्देश्य भएको बताउँदै भक्तपुर क्यान्सर अस्पतालको व्यवस्थापन तथा सेवा वृद्धि गर्ने विषयमा मन्त्रालयको ध्यानाकर्षण भएको बताउनुभयो ।
भक्तपुर क्यान्सर अस्पताल विकास समिति गठन आदेश परिमार्जन गर्ने विषयमा स्वास्थ्य मन्त्रालयको आयोजनामा भएको कार्यक्रममा बोल्दै उहाँले अस्पतालको व्यवस्थापन पक्षलाई सुधारेर अगाडि बढ्ने सरकारको लक्ष्य रहेको विचार राख्नुभयो ।
भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले भक्तपुर क्यान्सर अस्पताल नेपाल सरकारले स्थापना गरेको अस्पताल भएको स्पष्ट पार्दै सरकारी अस्पताललाई नेपाल अर्बुद रोग निवारण संस्थाले आफ्नो निजीझैँ सञ्चालन गरी व्यापक अनियमितता गरेको कारण नगरपालिकाले त्यसको संरक्षण गर्नुपर्ने अवस्था आएको बताउनुभयो ।
नेपाल सरकारले गठन आदेशमार्फत सरकारको स्वामित्वमा ल्याएकोमा खुसी व्यक्त गर्दै उहाँले अस्पताल विकास समिति नगर प्रमुखको अध्यक्षतामा गठन भए जनतालाई प्रभावकारी सेवा हुने धारणा राख्नुभयो ।
कुनै पनि मान्यमा नेपाल सरकारको सम्पत्ति गैरसरकारी संस्था (एनजीओ) को बनाउन दिनेछैनौँ, प्रमुख प्रजापतिले भन्नुभयो ।
भक्तपुर क्यान्सर अस्पतालमा विगतमा भएको आर्थिक अनियमिता र भ्रष्टाचार रोक्न भक्तपुर नगरपालिकाले पटक–पटक प्रयास गरेको चर्चा गर्दै उहाँले अहिले पनि नगरपालिकाले आर्थिक अनियमितताको सवालमा सचेत गर्दै आइरहेको बताउनुभयो ।
उहाँले भन्नुभयो, “तत्कालीन भक्तपुर नगरपालिकाले भक्तपुर क्यान्सर अस्पतालको भौतिक पूर्वाधार निर्माणमा ५ रोपनी ४ आना जग्गा उपलब्ध गराएको थियो । त्यसपछि पनि नगरपालिकाले थुप्रै आर्थिक सहयोग गरेको थियो ।”
भक्तपुर क्यान्सर अस्पतालमा गरिब जनताले सहज ढङ्गले स्वास्थ्य उपचार प्राप्त गरिरहेको उल्लेख गर्दै नगर प्रमुख प्रजापतिले भक्तपुर नपाले स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राख्दै १०० शय्याको ख्वप अस्पताल स्थापना गरी स्वास्थ्य सेवा प्रवाह गर्दै आइरहेको बताउनुभयो ।
उहाँले भन्नुभयो, “नेपाल सरकारलाई मुद्दा हाल्ने नेपाल अर्बुद रोग निवारण संस्थाले बिनासर्त मुद्दा फिर्ता लिई अस्पताल विकासमा सहयोग गर्नुपर्छ ।”
नेपाल अर्बुद रोग निवारण संस्थाका केन्द्रीय अध्यक्ष महेश श्रेष्ठले अस्पतालको विषयमा सङ्घ र स्थानीय सरकारसँग समन्वयात्मक ढङ्गले अगाडि बढ्ने मनसाय व्यक्त गर्नुभयो ।
भक्तपुर नगरपालिका वडा नं. ९ का वडाध्यक्ष एवम् अस्पताल विकास समितिका सदस्य रवीन्द्र ज्याख्वले भक्तपुर क्यान्सर अस्पतालका बेथितिहरूलाई सुधार गर्दै अस्पतालको सेवा प्रवाहलाई गुणस्तरीय बनाउनेतर्फ अस्पताल विकास समितिले काम गर्दै आइरहेको बताउनुभयो ।
उक्त कार्यक्रममा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अतिरिक्त स्वास्थ्य सचिव दीपेन्द्ररमण सिंह, अतिरिक्त स्वास्थ्य सचिव विकास देवकोटा, नीति, योजना तथा अनुगमन महाशाखाका कृष्ण पौडेल, नेपाल अर्बुद रोग निवारण संस्थाका केन्द्रीय महासचिव विमल होडा, संस्थाका बद्री बस्नेत, भक्तपुर क्यान्सर अस्पतालका कार्यकारी निर्देशक विष्णुदत्त पौडेल, भक्तपुर क्यान्सर अस्पतालका डा. उज्ज्वल चालिसेलगायतले भक्तपुर क्यान्सर अस्पताल व्यवस्थापन तथा चुनौतीहरूबारे आ–आफ्नो धारणा राख्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *