भर्खरै :

ङातापोल्हँको संरक्षण सम्बन्धमा

ङातापोल्हँको संरक्षण सम्बन्धमा

सयम–समयमा पर्यटन विकासको लागि दरबार क्षेत्र तथा तःमारी क्षेत्रमा रात्रिभोजसहित सांस्कृतिक कार्यक्रम भइरहेको तर्फ सम्बन्धित सबैको ध्यानाकर्षण गर्न चाहन्छु । ङातापोल्हँमा विभिन्न विद्युतीय बत्तीमार्फत आकर्षक कार्यक्रम भइरहेका छन् । परम्पराको नाममा दियोमा तेल राखी मन्दिरको अग्रभागमा बत्ती बाल्ने पनि गरिन्छ । तर, यहाँ मन्दिरको माथिल्लो तला जहाँ काठका संरचनाहरू छन्, उक्त स्थानमा विद्युतीय बत्ती बाल्न नदिनको लागि सम्बन्धित संस्थाको ध्यानाकर्षण गर्न चाहन्छु । कुनै बेला युरोपको प्रसिद्ध तथा पुरानो चर्चमा यसरी नै बत्ती बाली झिलिमिली पार्दा विद्युत् सर्ट भई आगलागी भएर चर्च पूरै जलेर नष्ट भएको थियो । अतः यहाँ पनि मन्दिरको माथिल्लो तला जहाँ काठका संरचना छन्, उक्त क्षेत्रमा कुनै पनि बत्ती बाल्न नदिनको लागि सुझाव दिन चाहन्छु । मन्दिर तथा दरबार क्षेत्रमा बालिने तेलको दियोले तेल पोख्ने र त्यसको दाग हुने भएकोले कार्यक्रम आयोजकले साबुन पानीले सो सफा गराउन लगाउन मनासिब देखिन्छ । केही वर्ष पहिलामात्र दत्तात्रय मन्दिरभित्र बाहिर माथि शिवरात्रिको दिन यसरी विद्युतीय बत्ती बाली झिलिमिली बनाएका थिए ।
ङातापोल्हँको पूर्वी तोरणमा सिरक राखेको, पश्चिम दिशाको तोरणमा लुगा तथा उत्तर दिशाको तोरणमा पानीको बोटल त्यसै छोडेकोले हटाई पुरातात्विक सुन्दरता कायम गर्न अनुरोध गर्दछु । आन्तरिक पर्यटकहरूले चाउचाउ तथा खैनीका खोलहरू काठका निदालमा कोचेर छोडेको पनि पाइएकोले हटाउनु आवश्यक छ ।
मन्दिरमाथि कुनै पनि खाद्य तथा पेय पर्दाथ लैजान र सेबन गराउनु उचित नहोला । मन्दिरमा अवाञ्छित कुनै पनि गतिविधि रोक्नुपर्ने देखिन्छ ।
ललितपुर दरबार क्षेत्रमा रहेको कृष्ण मन्दिरलगायतका मन्दिरमा सामाजिक अपाच्य गतिविधि भएकोले हाल सो मन्दिरमाथि बस्न मनाही गरेको यहाँ उल्लेख गर्नुपर्ला ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *