भर्खरै :

त्रिचालिसौँ नेपालभाषा साहित्य तःमुंज्याका विविध समितिहरू गठन

त्रिचालिसौँ नेपालभाषा साहित्य तःमुंज्याका विविध समितिहरू गठन

भक्तपुर, १ असोज । नेपाल संवत् ११४३ कौलाथ्व द्वादशी र त्रयोदशी (कार्तिक ९ र १०), ल्योसिख्यः, ख्वप वडा नं. ५ मा हुने ४३ औँ नेपालभाषा साहित्य तःमुंज्या तथा सांस्कृतिक कार्यक्रमको लागि भनपाका मेयर सुनिल प्रजापतिको प्रमुख आतिथ्यमा स्थानीय स्वयम्सेवकहरूको बृहत् भेलाबाट विविध समितिहरू गठन भएका छन् ।
प्रमुख अतिथि सुनिल प्रजापतिले तःमुंज्या जनताको समस्या उजागर गर्ने दबुको रूपमा परिचित रहेको बताउनुभयो । उहाँले यो एउटा राजनैतिक दबु पनि हो; भाषा र साहित्यले समाजको रुपान्तरणको लागि, सांस्कृतिक चेतनालाई परिवर्तन गर्ने हतियारको रूपमा काम गर्ने बताउनुभयो । तःमुंज्या नयाँ पुस्तालाई सिकाउने कार्यशाला पनि रहेकोले नयाँ पुस्तालाई मातृभाषाबाट प्रगतिशील साहित्य लेखनकला सिकाउने थलो पनि रहेको उहाँले चर्चा गर्नुभयो ।
नेपालभाषा साहित्य तःमुंज्याका अध्यक्ष आशाकुमार चिकंबन्जारले साहित्य सर्जकहरूले जनताको समस्यालाई कलात्मक तरिकाले प्रस्तुत गर्न सके जनताको मनमुटुमा बस्ने बताउनुभयो ।
भक्तपुर नगरपालिका वडा नं ५ का वडा अध्यक्ष योगेन्द्रमान बिजुक्छेँले तःमुंज्या भक्तपुरको परिपूरक भएकोले यसमा सदैव सबै स्थानीय टोलवासीहरूको सक्रिय सहभागिता रहने बताउनुभयो ।
उक्त भेलाबाट पूर्णगोपाल राजचलको संयोजकत्वमा २३ सदस्यीय मञ्च व्यवस्थापन समिति, शिवराम किजूको संयोजकत्वमा १५ सदस्यीय प्राविधिक समिति, विक्रम धुकुछुको संयोजकत्वमा ३० सदस्यीय स्वयम्सेवक समिति, तुल्सीनारायण दन्डेख्याको संयोजकत्वमा सात सदस्यीय यातायात समिति र विकास तमखुको संयोजकत्वमा ३७ सदस्यीय कार्यक्रमस्थल व्यवस्थापन समिति गठन भएका छन् ।
४३ औँ नेपालभाषा साहित्य तःमुंज्या ग्वसाखलःका अध्यक्ष बलराम सिबन्जारको सभापतित्वमा भएको उक्त कार्यक्रममा केपी छुस्याकीले पनि मन्तव्य राख्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *