भर्खरै :

समाज रुपान्तरणमा पुस्तक व्यवसायीहरूको महत्वपूर्ण भूमिका हुने

समाज रुपान्तरणमा पुस्तक व्यवसायीहरूको महत्वपूर्ण भूमिका हुने

भक्तपुर, ६ असोज । भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले शैक्षिक क्षेत्र र समाज रुपान्तरणमा पुस्तक व्यवसायीहरूको महत्वपूर्ण भूमिका हुने बताउँदै व्यवसायीहरूले सामाजिक विकृतिबाट सचेत भएर आफ्नो व्यवसाय सञ्चालन गर्नुपर्ने बताउनुभयो ।
नेपाल पुस्तक तथा स्टेसनरी व्यवसायी महासङ्घ जिल्ला शाखा भक्तपुरको आठौँ जिल्ला अधिवेशन तथा १६ औँ वार्षिक साधारणसभाको उद्घाटन गर्दै अतिथि प्रजापतिले अधिवेशन पूर्ण सफलताको कामना गर्दै सक्षम नेतृत्व चयन गर्नेमा विश्वास व्यक्त गर्नुभयो ।
उहाँले देश र राजनीतिप्रति युवा विद्यार्थीहरूलाई आकर्षण गर्दै समाजको लागि काम गर्न प्रेरित गर्नुपर्ने बताउनुभयो ।
व्यापार व्यवसाय नाफाको निम्ति सञ्चालन गरिने भए तापनि व्यवसायीहरूले इमानदारीपूर्वक काम गर्दा समाजमा त्यसको सकारात्मक प्रभाव पर्ने बताउँदै पुस्तक व्यवसायीहरूसँग अध्ययन गर्ने बानीको विकास गर्नुपर्ने बताउनुभयो ।
बजारमा कुनै नयाँ पुस्तक आउनासाथ पुस्तक अध्ययन गर्ने आफ्ना ग्राहकलाई जानकारी गराउनु पनि पुस्तक व्यवसायीहरूको कर्तव्य भएको बताउँदै उहाँले पुस्तक व्यवसायीहरूले आफ्नो कर्तव्य निर्वाह गर्नुपर्छ भन्नुभयो ।
भक्तपुर नपाले सबै आफू मातहतका सङ्घ संस्थाहरूमा आवश्यक सर–सामानहरू उपलब्ध भएसम्म भक्तपुरबाटै खरिद गर्दै आइरहेको बताउँदै उहाँले व्यवसायीहरूले नियमानुसार नगरपालिकामा व्यवसाय दर्ता तथा नवीकरणका साथै समयमै कर तिर्न आग्रह गर्नुभयो ।
कार्यक्रममा प्रमुख अतिथि प्रजापतिले भक्तपुर जिल्लामा पुस्तक तथा स्टेसनरी व्यवसायीमा अग्रज तथा इतिहास रच्नुभएका पुस्तक सदन तथा अरनिको स्टेसनरीका सञ्चालक शिवओम हाडालाई खादा ओढाई सम्मान गर्नुभएको थियो ।
उक्त कार्यक्रममा नेपाल पुस्तक स्टेसनरी व्यवसायी महासङ्घका केन्द्रीय अध्यक्ष सञ्जयकुमार चौधरी, उपाध्यक्ष पुष्पराज पौडेल, केन्द्रीय महासचिव शिवसागर शर्मा, केन्द्रीय सचिव विष्णु पौडेल, केन्द्रीय सदस्य महेश शर्मा, भक्तपुर जिल्ला उपाध्यक्ष सरोज प्रजापति, जिल्लाका सल्लाहकार नरेन्द्रमान मानन्धर, भक्तपुरका जिल्ला सचिव महेश थापालगायतले बोल्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *