भर्खरै :

नेपालको अर्थतन्त्र आर्थिक अपराधीको कब्जामा !

नेपालको अर्थतन्त्र आर्थिक अपराधीको कब्जामा !

भक्तपुर, ६ असोज । चोछेँ–व्यासी सद्भाव समितिको तेस्रो वार्षिक साधारणसभा तथा पहिलो अधिवेशन नेपाल मजदुर किसान पार्टीका सचिव एवं सांसद प्रेम सुवालको प्रमुख आतिथ्यमा शनिबार सम्पन्न भयो ।
कार्यक्रममा सांसद सुवालले परिवार र व्यक्तिगत सम्पत्तिसँगै राज्यको उत्पति भएको धारणा राख्दै भन्नुभयो, “मानिस जङ्गली जीवनबाट निस्केपछि पशुपालन र चरण मैदान धेरै भएकाको राज्य भयो । खेतीपातीको विकास भएपछि जग्गा जमिनमाथि कब्जा जमाएका सामन्त र जमिनदारहरूको राज्य भयो । उद्योग व्यापारको विकास भएपछि ठूलठूला पुँजीपतिवर्गको राज्य भयो ।”
उहाँले भन्नुभयो, “सुरूमा ठूलठूला पुँजीपतिवर्गलाई चुनावमा मत हाल्न दिइन्थ्यो । एक समय महिलालाई मत हाल्न नपाउने अवस्था थियो । महिला आन्दोलनसँगै सबैलाई मत हाल्ने अधिकार प्राप्त भयो । अहिले चुनावमा पैसा र सामान बाँड्ने, भोज खुवाउनेहरूलाई जित्न सजिलो गरिएको छ । नेपालका हास्यव्यङ्ग्य कलाकारहरूले सांसद र मन्त्री भएकाहरू आर्थिक अपराधी भएको विषय बर्सेनि उठाउँदै छन् ।”
“सरकारबाट अपराधीहरूलाई कारबाही भइरहेको छैन । नेपालको अर्थतन्त्रसमेत आर्थिक अपराधीको कब्जामा छ । दस ओटा निजी बैङ्कका सञ्चालकहरूमध्ये नेपाल र विदेशको नागरिकता भएका रहेको समाचार छ ।” उहाँले भन्नुभयो ।
सरकारले बिजुली र युवा विदेश पठाएको गलत भएको धारणा राख्दै सचिव सुवालले बिजुली र युवालाई देशको कृषि र औद्योगिक उत्पादनमा लगाई खाद्यान्न र वस्तु निर्यात गर्नु जरुरी रहेको बताउनुभयो ।
उहाँले भन्नुभयो, “समाजको सेवा, देशको सेवा, जनताको सेवामा लागेकाहरूलाई आर्थिक घाटा हुन्छ । तर, निरूत्साहित हुनुहुँदैन । गलत काम गरेकाहरूलाई मानसिक तनाव हुन्छ । आमाबुबाको गलत कामले छोराछोरीलाई अप्ठेरो हुन्छ ।”
“राक्षसको प्रतीक बनाई गाठामगलाई बर्सेनि जलाइन्छ । समाजका शत्रु, देशका शत्रुलाई राक्षसको प्रतीक गाठामग बनाई बर्सेनि जलाएर मानिसलाई सचेत बनाउने हाम्रो परम्परा हो”, सचिव सुवालले भन्नुभयो ।
आयोजक समितिका अध्यक्ष केशव बासुकलाको सभापतित्वमा भएको उक्त कार्यक्रममा समितिका सचिव सुरेशन धुसु, कोषाध्यक्ष रोशन सुलुले समितिको प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।
कार्यक्रममा गणेशलाल राजचल, सिद्धिराम कासुला र रामचन्द्र दथेपुथेले पनि बोल्नुभएको थियो ।
कार्यक्रममा आयोजक समितिको आयोजनामा भएको धिमे बाजा प्रशिक्षण प्राप्त गरेकाहरूलाई बधाइपत्र प्रदान गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *