भर्खरै :

नवनियुक्त उपप्राचार्यको नियुक्तिपत्र र बढुवापत्र हस्तान्तरण

नवनियुक्त उपप्राचार्यको नियुक्तिपत्र र बढुवापत्र हस्तान्तरण

भक्तपुर, ७ असोज । भक्तपुर नगरपालिकाका प्रमुख एवं कलेज सञ्चालक समितिका अध्यक्ष सुनिल प्रजापतिले कुनै पनि संस्थालाई अगाडि बढाउनको लागि योग्य नेतृत्वको आवश्यकता हुने बताउँदै कलेजमा कार्यरत शिक्षक कर्मचारीहरूले निःस्वार्थ र अनुशासित भएर काम गर्नुपर्नेमा जोड दिनुभयो ।
भक्तपुर नगरपालिकाबाट सञ्चालित ख्वप इन्जिनियरिङ कलेजमा नियुक्त हुनुभएका उपप्राचार्य डा. सुवेगमान बिजुक्छेँ र ख्वप कलेज अफ इन्जिनियरिङमा नयाँ नियुक्ति हुनुभएका तथा बढुवा हुनुभएका शिक्षक तथा कर्मचारीहरूको आइतबार भएको नियुक्तिपत्र र बढुवापत्र हस्तान्तरण कार्यक्रममा बोल्दै उहाँले इन्जिनियरिङ कलेजलगायत नगरपालिकाद्वारा सञ्चालित कलेजहरूको व्यवस्थापन समितिको आँखा भनेकै त्यहाँ कार्यरत शिक्षक कर्मचारी भएको हुँदा मन, वचन र कर्मले इमानदार भई कलेजको हितमा कार्य गर्नुपर्नेमा जोड दिनुभयो ।
नपाबाट सञ्चालित कलेजहरू जनताको कलेज भएको र यसको विकासको लागि थुप्रै नदेखिने हातहरूले विनापारिश्रमिक काम गरिरहेका छन्, उहाँले स्पष्ट पार्नुभयो ।
ख्वप इन्जिनियरिङ कलेजका प्राचार्य ई. सुजन माकले कलेजले अध्यापन कार्यसँगसँगै अनुसन्धान कार्यलाई पनि अगाडि बढाउँदै लगेको बताउँँदै कलेजद्वारा आयोजना हुने अन्तर्राष्ट्रिय सम्मेलनहरू ICT CEEL र ICEE-PDRP को तयारी सम्बन्धमा जानकारी गराउनुभयो ।
ख्वप कलेज अफ इन्जिनियरिङका प्राचार्य ई. सुनिल दुवाल, उपप्राचार्य ई. रत्नशोभा प्रजापति र जिन्सी अधिकृत राजन जतीले नयाँ जिम्मेवारीका साथ नियुक्त हुनुभएका उपप्राचार्य डा. बिजुक्छेँको कार्यकाल सफलताको शुभकामना तथा बढुवा हुनुभएका शिक्षक कर्मचारीलाई बधाई दिनुभयो ।
नयाँ नियुक्त हुनुभएका उपप्राचार्य एवं कलेजको नियमानुसार वरिष्ठ उपप्राध्यापक, उपप्राध्यापक तथा अधिकृत तहमा बढुवा हुनुभएका शिक्षक कर्मचारीलाई प्रमुख अतिथि भक्तपुर नगरपालिकाका प्रमुख एवं कलेज सञ्चालक समितिका अध्यक्ष सुनिल प्रजापतिले नियुक्तिपत्र तथा बढुवापत्र हस्तान्तरण गर्नुभयो ।
कार्यक्रममा नयाँ नियुक्त हुनुभएका उपप्राचार्य डा. सुवेगमान बिजुक्छेँले इमानदारीपूर्वक कार्य गर्नेे प्रतिबद्धता व्यक्त गर्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *