अध्यक्ष रोहितको संस्मरणका केही पृष्ठ
- असार ३१, २०८३
भक्तपुर, ७ असोज । नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सदस्य एवम् वाग्मती प्रदेश सांसद सुरेन्द्रराज गोसाईले विदेशी चलखेलविरूद्ध शिक्षकहरू सचेत र चनाखो भएर नयाँ पुस्तालाई तयार पार्नुपर्नेमा जोड दिनुभयो ।
शिक्षकहरूको पहिलो चासोको विषय राष्ट्रिय–अन्तर्राष्ट्रिय विषय हुनुपर्ने र जनताको व्यापक हितको पक्षमा उभिनुपर्ने प्रदेश सांसद गोसाईले स्पष्ट पार्नुभयो ।
आइतबार नेपाल क्रान्तिकारी शिक्षक सङ्घ वागीश्वरी मावि एकाइद्वारा आयोजित शिक्षक भेलामा केन्द्रीय सदस्य गोसाईले शिक्षा क्षेत्रमा वैदेशिक हस्तक्षेप भइरहेको स्पष्ट पार्नुभयो ।
साम्राज्यवादी शक्तिहरूले सांस्कृतिक आक्रमण तीव्र पारेको अवस्थामा शिक्षकहरू होसियार हुनुपर्नेमा जोड दिंदै उहाँले विदेशीहरूको स्वार्थका लागि बनाइएका विभिन्न संस्थाहरू सक्रिय रहेको तर्फ सचेत गराउनुभयो ।
उहाँले भन्नुभयो, “आन्दोलनकारी काङ्ग्रेस, एमाले र माओवादी शिक्षक सङ्गठनहरू शिक्षकप्रति जिम्मेवार तथा इमानदार भएका भए आन्दोलन नै आवश्यक हुने थिएन । राज्यले शिक्षा र स्वास्थ्यको सम्पूर्ण दायित्व बहन नगरेसम्म कामदार जनताको जीवनमा आमूल परिवर्तन हुँदैन । कामदार जनतालाई उच्च शिक्षाबाट बञ्चित पार्न नवउदारवादीहरूले सबैलाई शिक्षा दिन सकिँंदैन भन्ने जस्ता भ्रम फैलाइरहेका छन् । राज्य आफँै भेदभावकारी, दमनकारी भएको कारण उत्पन्न अन्यायविरूद्ध कामदार जनताले निरन्तर विद्रोह गरिरहने छन् ।”
नेपाल क्रान्तिकारी शिक्षक सङ्घका केन्द्रीय कोषाध्यक्ष चक्रबहादुर चाकतुले प्रस्तावित शिक्षा विधेयक नेपालको शिक्षा क्षेत्र ध्वस्त पार्ने उद्देश्यले ल्याएको बताउनुभयो ।
कोषाध्यक्ष चाकतुले सामुदायिक शिक्षाको स्तर नबढ्नुमा शासक दलहरू नै जिम्मेवार रहेको उल्लेख गर्दै समग्र देशको समस्या समाधान भएमात्र शिक्षकहरूको पनि हकहित सुनिश्चित हुनेछ भन्नुभयो ।
वागीश्वरी माविका प्रअ कृष्णप्रसाद धन्छाको अध्यक्षतामा सम्पन्न भेलामा शिक्षकद्वय राजन लाखा र कृष्णमान मुलेपतिले पनि शिक्षा विधेयकबारे बोल्नुभएको थियो ।
Leave a Reply