भर्खरै :

सांस्कृतिक गुरूहरूको सम्मान गर्नु प्राज्ञिक क्षेत्रकै सम्मान

नेपाल मजदुर किसान पार्टीका अध्यक्ष एवं वरिष्ठ राजनीतिज्ञ नारायणमान बिजुक्छेँ (रोहित) को आतिथ्यमा विश्व पर्यटन दिवसको अवसरमा भक्तपुर नगरपालिकाले बुधबार दरबार स्क्वायरमा एक विशेष समारोहबिच सांस्कृतिक गुरूहरूको सम्मान ग¥यो । गुन्हीपुन्ही सापारू २०८० मा प्रदर्शन गरिएका घिन्ताङघिसी, परम्परागत तथा आधुनिक सांस्कृतिक विधामा उत्कृष्ट कलाकारहरूलाई पुरस्कार वितरण गरिएको सो समारोहमा उत्कृष्ट देवी नाच, माक नाच र फाकंदली नाच पनि देखाइएको थियो । समारोहको विशेष कार्यक्रम विभिन्न नाचगान, वाद्यवादक अग्रज गुरूहरूको सम्मान पनि हो । उक्त समारोहमा अतिथि बिजुक्छेँबाट २२ जना सांस्कृतिक गुरूहरूको सम्मान गरिएको थियो । यहाँको कला, सम्पदा, नाचगान, वाद्यवादन र अन्य सांस्कृतिक विधालाई जीवन्तता दिन, नयाँ पुस्तालाई हस्तान्तरण गर्ने गुरूहरूको सम्मान गरिएको हो ।
भक्तपुर नगरपालिकाले प्रत्येक वर्ष जीवनभर नाचगान, वाद्यवादनमा लागेका, आफूसँग रहेको सीप या कला नयाँ पुस्तामा हस्तान्तरण गरेका अग्रज या विज्ञहरूको सम्मान गर्दै आएको छ । विनापारिश्रमिक सिक्ने, सिकाउने ती अग्रज गुरूहरू विशेषज्ञता हासिल गरेका विज्ञ नै हुन् । उनीहरूसँग विज्ञताको अनौपचारिक प्रमाणपत्र नभए पनि सीप र अनुभव छ । त्यो सीप र अनुभवले नै यहाँको कला, संस्कृति, नाचगान र वाद्यवादनको संरक्षण र विकास भइरहेको छ; नयाँ पुस्तामाझ हस्तान्तरण हुँदै आएको हो । यस अर्थमा भक्तपुर नगरपालिकाले गरेको सम्मान सराहनीय छ, कदरयोग्य छ । त्यस्तो सम्मान आवश्यक पनि छ । भक्तपुर नगर मूर्त र अमूर्त कला–सम्पदाले भरिएको सहर हो ।
यसरी सीप र कला नयाँ पुस्तामा हस्तान्तरण भएसँगै भक्तपुरको बाहेक अन्यत्र मठ, मन्दिर, पाटी पौवा आदि जीर्णोद्धार, निर्माण गर्नु नाचगान प्रदर्शन गर्न वाद्यवादनको तालिम दिनुप¥यो भने भक्तपुरका डकर्मी, सिकर्मी, लोहकर्मी, वाद्यवादक र नाचगुरूहरू अन्यत्र जिल्लासम्म पनि पुग्छन्; बनाउँछन् र सिकाउँछन् । फलतः अन्य जिल्ला र स्थानमा पनि मौलिक शैलीका देवल, घर, मन्दिर, सत्तल, पाटी पौवा बनेका छन् । विभिन्न चाड पर्वमा यहाँका नाचगान र वाद्यवादन प्रदर्शन भएका छन्, यहाँ हुने अनेक चाडपर्वको अनुकरण गर्न थालेका छन् । यो राम्रो पक्ष हो । यसकारणले विद्यालय र विश्वविद्यालयका गुरू र प्राध्यापक सरहका सांस्कृतिक गुरूहरूको सम्मान गर्नु सांस्कृतिक विधा र प्राज्ञिक क्षेत्रकै सम्मान हो ।
देश, समुदाय र जनताका निम्ति गाउँ–ठाउँ, सहर बजार र बस्तीमा योगदान पु¥याउने अग्रजहरूको सम्मानलाई निरन्तरता दिनु उपयुक्त हुन्छ । केन्द्र सरकारले टोल, गाउँ–ठाउँ या बस्तीमा रहेका अग्रज गुरूहरूलाई देखेको छैन, देखे पनि सम्मान गरेको छैन । सरकारले त चोरी चकारी गरेका, डकैती गरेका, मूर्ति चोरी, हत्या र बलात्कार काण्डका, कालाबजारी, भ्रष्टाचारी, तस्करलाई उन्मुक्ति दिइरहेको छ । अपराधीलाई पक्रेर, थुनेर कारबाही गर्नुपर्ने सरकारले उनीहरूलाई उन्मुक्ति दिनु भनेको के भ्रष्टाचारी, तस्कर, कालाबजारीहरूको पक्षपोषण गर्नु होइन ? यसरी अपराधीलाई पक्षपोषण गर्ने सरकारले देशमा कसरी सुशासन दिन्छ ? देशमा कसरी आदर्शोन्मुख समाज स्थापना हुन्छ ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *