भर्खरै :

अवसरवाद र संशोधनवाद माक्र्सवादविपरीत छ

माक्र्स र एङ्गेल्सको जीवनकालमै र उहाँहरूको निधनपछि विश्व कम्युनिस्ट आन्दोलनमा अवसरवादीहरू देखिए । कति कम्युनिस्ट नेता भन्नेहरूले माक्र्सवादको सारमै हेरफेर गर्ने या संशोधन गर्ने विचार व्यक्त गरे, कतिपयले विचारै फेर्न कम्मर कसे । त्यसकै प्रभाव नेपालमा पनि परेको छ । नेपालका कति कम्युनिस्ट नेताहरू अवसरवादी र संशोधनवादी भए । क्रान्तिबाट पुँजीवादी राज्य सत्तालाई फालेर समाजवादको स्थापना गर्नुपर्छ भन्ने माक्र्सवादको सार हो । पुँजीवादी सत्ताको गुलियोमा भुलेका शासक कम्युनिस्टहरू यो पुँजीवादी व्यवसायलाई फाल्न नपर्ने बताउँछन् । निर्वाचन र पुँजीवादी व्यवस्थाबाटै समाजवाद स्थापना गर्न सकिने उनीहरूको धारणा छ । यो संशोधनवादी नीति हो ।
सम्झौँ, जनक्रान्ति नगरी पुँजीवादी व्यवस्था के पल्टाउन सकिन्छ ? पुँजीवादी व्यवस्थामा कम्युनिस्टहरूको संसद्मा बहुमत प्राप्त हुँदैमा के समाजवाद स्थापना हुन्छ ? संसद्मा बहुमत हुँदैमा त्यो व्यवस्था फेरिने हो त ? कुनै पनि सत्ता वा व्यवस्था कसैले हल्ला गरेको भरमा ढल्दैन, ढल्ने छैन । सरकारको नेतृत्व गर्ने दल फेर्दैमा व्यवस्था परिवर्तन हुने होइन† व्यवस्था फेरिने होइन । देशका केही ठूला दल र पुँजीवादी सरकारमा गएका आफूलाई कम्युनिस्ट भनिने दलका नेता र लेखकहरू अब देशमा कुनै सङ्घर्ष या आन्दोलनको आवश्यकता नभएको बताउँछन् । पुँजीवादी व्यवस्थामा रहेरै आमूल परिवर्तन हुन्छ भन्ने विचार संशोधनवादी विचार हो । संशोधनवादीहरू माक्र्सवादी हुँदैनन्† उनीहरू कम्युनिस्ट नै होइनन् ।
वामपन्थी अवसरवाद र दक्षिणपन्थी अवसरवाद पनि माक्र्सवादविपरीत धारणा हो । क्रान्तिको परिस्थिति परिपक्व नहुँदै क्रान्तिको आह्वान गर्नु वामपन्थी अवसरवाद हो । नेकपा माओवादीले त्यसबेला थालेको ‘जनयुद्ध’ वामपन्थी अवसरवादको दृष्टान्त हो । क्रान्तिको परिस्थिति परिपक्व भइसक्दा पनि क्रान्तिको निम्ति काम नगर्नु या परिस्थितिलाई परिपक्व बनाउन अस्वीकार गर्नु दक्षिणपन्थी अवसरवाद हो । कम्युनिस्ट भनिने देशका ठूला दलहरू दक्षिणपन्थी अवसरवाद वा पुँजीवादी भासमा फसेका छन् । पुँजीवादी व्यवस्था फाल्न कम्युनिस्ट आन्दोलन गर्नुपर्ने दलका ती नेताहरू उल्टै कम्युनिस्टको विरोध गर्छन् र कहिले पुँजीवादी दल त कहिले राजावादी र क्षेत्रीयवादी दलसँग साठगाँठ गरी सरकारमा जान्छन्, साठगाँठ गरेर निर्वाचन लड्छन् र सरकारको भागबन्डा गर्छन् । हिजो एमालेले त्यस्तै ग¥यो । आज माओवादीले त्यस्तै बाटो रोजेको छ । पुँजीवादी पार्टीसँग मिलेर, गठबन्धन गरेर के कम्युनिस्ट आन्दोलन अघि बढ्छ ? के कम्युनिस्ट पार्टी बलियो हुन्छ ?
नेपालमा धेरै भ्रष्टाचार काण्डहरू भए । राडार काण्ड, मल काण्ड, चिनी काण्ड पुराना काण्डहरू हुन् । त्यस्तै काण्डहरू अहिले थप्दै छन् । सुन काण्ड, भुटानी शरणार्थी प्रकरण, ललिता निवास जग्गा काण्ड, पछि देखिएका भ्रष्टाचार काण्डहरू हुन् ? कहिले असमान सन्धि सम्झौता गरेर त कहिले काण्ड मच्चाएर देशमा धेरै देशघाती कामहरू भए । कुन दलले कहिले के कस्ता फेरि भ्रष्टाचारको काण्डहरू दोहो¥याउने हुन् ? अनुमान गर्न सहज छैन ।
नेपालको कम्युनिस्ट आन्दोलन अघि बढाउनमा वामपन्थी र दक्षिणपन्थी अवसरवाद बाधक देखिएका छन् । अतः अवसरवाद र संशोधनवाद पुँजीवादी विचार हो । पार्टीलाई चिन्ने आधार उसले कुन वर्गको प्रतिनिधित्व गरेको छ, कस्तो विचार लिएर अघि बढेको छ ? त्यो विचारलाई लागू गरिरहेको छ कि विरोध गरिरहेको छ, व्यवहारबाट जाँच्ने हो । ख्रुश्चेभलगायत सोभियत कम्युनिस्ट नेताहरूले पुँजीवादी विचार लिएकोले पार्टी र सरकारलाई संशोधनवाद र सामाजिक साम्राज्यवादमा पतन गरायो र सोभियत सङ्घ नै विघटन भयो । नेपालका ठूला भनिने कम्युनिस्टहरू पुँजीवादी विचार बोकेकै कारण भारतीय विस्तारवाद र अमेरिकी साम्राज्यवादको पछि लागे । नेपाल र नेपालीको हितभन्दा भारतीय विस्तारवाद र अमेरिकी साम्राज्यवादको हितमा नेपालका शासकहरू पछि लागे । यो कम्युनिस्ट पार्टीलाई सुहाउने विषय होइन । यसमा सच्चा कम्युनिस्टहरू सतर्क र चनाखो हुनुपर्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *