भर्खरै :

जातीय राजनीति गर्न नहुने

कुनै पनि दल, समूह या समुदायले यो सार्वभौम र स्वाधीन देशमा आघात पुग्ने विखण्डनको कुरा गर्छ भने त्यो निन्दनीय हुन्छ । विभिन्न जनजाति, भाषाभाषी, धर्मावलम्बी र विभिन्न संस्कृति रहेको यो देशमा कसैले धर्म, जनजाति र भाषाभाषीबिच साम्प्रदायिक भावना फैलाउँदै जातीय द्वन्द्व निम्त्याउँछ भने त्यो जनविरोधी हुन्छ । सामाजिक सद्भाव बिथोल्ने, द्वन्द्व निम्त्याएर समाजमा अशान्ति फैलाउने तत्वहरू समाजविरोधी हुन् । कसैले घृणा, द्वेष वा अवहेलना फैलाउने गरे त्यो काम कुनै पनि देशभक्त नेपालीको निम्ति सह्य हुनेछैन । समाजमा आतङ्क फैलाउने, आतङ्क फैलाएर द्वन्द्व निम्त्याउने, समाजमा अराजकता फैलाउने र जातजाति र सम्प्रदायबिचको सम्बन्धमा खलल पुग्ने गतिविधि गर्ने र गराउने तत्वहरू पनि समाजविरोधी हुन् ।
जातीय विभेद र साम्प्रदायिक भावना फैलेर समाजमा जहिल्यै हिंसात्मक गतिविधि भइरहन्छ भनेरै नेमकिपाले जनजाति, भाषाभाषीको नाउँमा प्रदेशको नामकरण गर्न नहुने सुझाव दिएको हो । नेमकिपाले वर्गीकरणमा प्रदेशको भूभाग हिमालदेखि तराईसम्म हुनुपर्ने राय दिएको हो । यदि प्रदेशको नामकरण जनजातिको आधारमा लेखिएको भए यहाँ अहिलेसम्ममा जातीय द्वन्द्वको कारण साम्प्रदायिक भावना फैलेर हिंसात्मक घटनाहरू धेरै भइसक्यो होला । हरेक प्रदेशको नाउँ जनजातिको नाउँमा राखिएको भए अहिले देशमा कति अराजनीतिक गतिविधि भइसक्यो होला । नेमकिपाले भूगोल या प्राकृतिक स्रोत र साधनको आधारमा प्रदेशको नामकरण गर्न जोड दियो र कति प्रदेशको नाम त्यस्तै रह्यो । यसको कारण जातीय द्वन्द्व भएन । त्यसबेला जनजातिको नाउँमा प्रदेशको नामकरण गर्न जोड दिने दलहरूमा मधेसवादी दलबाहेक माओवादी र एमाले पनि हुन् ।
विभिन्न जनजाति, सम्प्रदायबिचको सम्बन्धमा खलल पुग्ने गतिविधि कसैले पनि गर्नु हुँदैन । घृणा, द्वेष वा अवहेलना हुने कार्य कसैले पनि गर्नुहुँदैन । देशको अखण्डता र स्वाधीनतामा आँच पुग्ने काम कसैले गर्नुहुँदैन । यस्ता काम कुनै दल, समूह या समुदायले गर्छ भने तिनीहरू साम्प्रदायिक तथा धार्मिक हिंसा भड्काउने समाजविरोधी हुन् भन्ने कुरा थाहा हुन्छ । देशको सार्वभौमसत्ता, राष्ट्रिय अखण्डता, राष्ट्रिय स्वाधीनतामा आँच पु¥याउने तत्वहरू कहिले पनि देशभक्त हुँदैनन् । त्यसकारण, असामाजिक तत्वहरूलाई खबरदारी गर्नुपर्छ । सरकारले पनि सतर्कता अपनाउनुपर्छ ।
नेपालगञ्जमा भएको हिन्दू र मुस्लिम समुदायबिचको विवाद उत्कर्षमा पुगेर कलह भयो र अशान्त फैलियो । धार्मिक सद्भाव खलबलियो । मुस्लिम समुदायको मोहम्मद दिवसको दिन असोज ११ गते एक युवकले सामाजिक सञ्जालमा मुस्लिम समुदायको धार्मिक आस्थामाथि ठेस पुग्ने गरी लेखिएको टिप्पणीले झण्डै हिंसात्मक गतिविधि भयो । मङ्गलबार नेपालगञ्ज तनावग्रस्त भयो । तनाव शिथिल पार्न हिन्दू र मुस्लिम समुदायबिच सामाजिक तथा धार्मिक सद्भाव ¥याली गर्न बाध्य भयो । विवादबाट सिर्जित झगडा नियन्त्रण गर्न प्रशासनले कफ्र्यु जारी गर्नुप¥यो । यस्ता विवाद र कलह भएर समाजमा अशान्त फैलिने भएकोले नै जातीय राजनीति गर्न नहुने हो । यसकारण, नेमकिपाले कहिले पनि जातीय राजनीति गरेन, जातीय राजनीतिलाई बढावा दिएन । बरु जातीय राजनीतिको विरोध गरेर वर्गीय राजनीति ग¥यो । देशका शासक र ठूला दलका नेताहरू दूरदर्शी नहुँदा देशमा धेरै जनघाती काम भयो । त्यसको कारण देश पछि प¥यो, देश परनिर्भर भइरह्यो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *