नयाँ प्यालेस्टिनी नेताका लागि इजरायली जेलमा रहेका नेता बरघोटीको चर्चा
- बैशाख ११, २०८३
आतङ्कवादको कुरा जटिल छ । यहाँ पी.एल.ओ. लाई अमेरिकाबाट निकाल्ने निर्णयबारे लेखिएको यस रचनामा आतङ्कवादका सबै कुरा समावेश भएको छैन ।
अन्तर्राष्ट्रिय आतङ्कवादलाई जन्म दिने तथा प्रशिक्षण र शास्त्रादिले निरन्तर विकास गर्नमा मुख्यरूपले सोभियत रुस जिम्मेवार छ ।
– अलेक्जेन्डर हेग, भू.पू. अमेरिकी राज्यमन्त्री
यो सरासर झूटो र निराधार आरोप हो । यो आरोप लगाई अमेरिका स्वयम् सी.आई.ए.द्वारा गरिएका असङ्ख्य आतङ्कवादी गतिविधिहरू लुकाउने प्रयास गर्दै छ ।
(रुसी प्रतिवाद)
के तपाईँले सुन्नुभयो ?
सन् १९८७ डिसेम्बरमा अमेरिकी काङ्ग्रेसले प्यालेस्टिनी मुक्ति मोर्चा (पी.एल.ओ.) लाई आतङ्कवादी सङ्गठन भनी अमेरिकाको लागि खतरा बताएको थियो । त्यसपछि रोगन प्रशासनले संयुक्त राष्ट्र सङ्घ, न्युयोर्कस्थित पी.एल.ओ. कार्यालय दस दिनभित्र बन्द गर्न भन्यो । तर, पी.एल.ओ. ले ‘हामी कार्यालय बन्द गर्दैनौँ’ भन्ने जवाफ दियो ।
पी.एल.ओ.लाई संयुक्त राष्ट्र सङ्घले मान्यता दिएको छ । संरा सङ्घका थुप्रै सदस्य राष्ट्रहरूमा पीएलओका प्रतिनिधिहरू छन् । तर, अमेरिका र इजरायलजस्ता देशले पीएलओलाई मान्यता दिएका छैनन् । अमेरिकाले मान्यता नदिए पनि संरा सङ्घ र संरा अमेरिकाबिचको सन्धिअनुसार पीएलओको कार्यालय न्युयोर्कमा स्थापना गर्न पाइएको हो । त्यस सन्धिअनुसार अमेरिकाले नरुचाएको र ‘मार्न खोजेका’ व्यक्तिहरू जस्तै : क्यास्ट्रो, कद्दाफि, खुमेनी पनि संरा सङ्घमा जान सक्छन् ।
अमेरिकाले पीएलओलाई कार्यालय बन्द गर्न दिइएको निर्णयबारे संरा सङ्घमा मतदान भयो । त्यस मतदानमा अमेरिका नराम्ररी नाङ्गियो । कार्यालय बन्द गराउने पक्षमा एक मत परेको थियो भने त्यसको विरुद्ध १४३ मत प¥यो । यद्यपि, अमेरिकाले के तर्क दियो भने अमेरिकी काङ्ग्रेसमा विधेयक पारित गरी अन्तर्राष्ट्रिय सन्धिहरू र कानुन परिवर्तन गर्ने अधिकार छ । अर्थात्, संरा सङ्घसँगको अमेरिकी सन्धि निष्क्रिय पार्ने अधिकार अमेरिकी काङ्ग्रेसलाई छ । त्यस्तो हुनुको अर्थ संरा सङ्घ अमेरिकाभित्र सीमित राख्न या त्यसको कानुनमा बाँधिन सकिन्न । यहाँ अमेरिकाको अधिकारको होइन, संरा सङ्घ अर्थात् विश्व संस्थाको कार्यक्षेत्र, यसको नीति, कर्तव्य र अधिकारको कुरो छ ।
अमेरिकी पत्रकार श्रीमती अन्ना लुइ स्ट्रङले एकपटक संरा सङ्घलाई ‘अमेरिकी साम्राज्यवादको ज्यावल’ भन्नुभएको थियो । त्यो बेला र अहिलेको स्थितिमा धेरै अन्तर आइसकेको छ, तर पनि अमेरिकी सरकार सायद आफ्नो पुरानो सपना देख्दै छ ।
‘मूर्खतापूर्ण निर्णय’
संरा अमेरिकाको काङ्ग्रेसले लिएको पीएलओको कार्यालय बन्द गर्ने निर्णय र रोगन प्रशासनले आदेश दिएपछि विश्वभर अमेरिकी नीतिको विरुद्ध प्रतिक्रिया व्यक्त गरियो । अमेरिकाका तत्कालीन विदेशमन्त्री जर्ज बुशले समेत त्यस निर्णयलाई ‘मूर्खतापूर्ण निर्णय’ भने । उनले भने, “काङ्ग्रेसद्वारा पारित सबभन्दा मूर्खतापूर्ण विधेयकहरूमध्ये एक हो ।”
यस्तो ‘सबभन्दा मूर्खतापूर्ण’ निर्णय लिनुको पछाडि पर्यवेक्षकहरू आगामी राष्ट्रपति चुनावको कारण हुनसक्ने भनेका छन् । संरा अमेरिकामा यहुदी जाति शक्तिशाली छ । चुनावमा यसको ठूलो प्रभाव रहँदै आएको छ । तिनीहरूलाई खुसी पार्न र मत तान्न नै यस्तो ‘मूर्खतापूर्ण’ निर्णय लिइएको हुनुपर्छ ।
प्यालेस्टिनी र आतङ्कवादी
सबै प्यालेस्टिनी आतङ्कवादी हो – यो पूरै गलत छ । कुनै पनि प्यालेस्टिनी आतङ्कवादी होइन – यसो भन्न पनि गा¥है छ । आफ्नो देश इजरायलीहरूले शक्तिको भरमा लुटेपछि सम्पूर्ण प्यालेस्टिनीहरू देश फर्काउन आवाज उठाइरहेका छन्, माग गरिरहेका छन्, सङ्घर्ष गरिरहेका छन्, बन्दुक उठाइरहेका छन् । कसै कसैले विमान अपहरण गरी, बम विस्फोटन गरी, मानिसलाई बन्धक राखी आफ्नो समस्यालाई विश्वभरिका जनतालाई अवगत गराइरहेका छन् । आफ्नो देश लुटाएर बस्नु पर्दाको दुःख र पीडा प्यालेस्टिनीलाई थाहा होला इजरायलीलाई होइन, रेड–इन्डियनले बुझ्ला अमेरिकीले होइन ।
परापूर्वकालमा हाम्रा पूर्वज यहुदीहरू प्यालेस्टिनी भूमिमा बसेका थिए, त्यसैले यो देश हाम्रो हो भन्ने आधारमा यहुदीहरूलाई संरा सङ्घले इजरायल स्थापना गर्न दिने निर्णय लियो । त्यहाँ बसिरहेका प्यालेस्टिनीहरूलाई लखेटेर पठाए । आफ्नो श्रीसम्पत्ति छोडेर प्यालेस्टिनीहरू भागे र शरणार्थी शिविरमा पुगे । तिनीहरूको आफ्नो घर छ तर यहुदी लुटाहाहरूले लुटेर रजाइँ गरिरहेका छन् र प्यालेस्टिनीहरू घर अर्थात् देशविहीन भएका छन् । आफ्नो घर लुट्ने लुटाहामाथि आफूले सकेको शक्ति प्रयोग गर्नु ठाडै अन्याय हो भन्ने धृष्टता अमेरिकाले गर्ला, इजरायलले सम्झेला, नाटो देशले सोच्ला । तर, विवेकशील प्राणीले सोच्दैन । त्यस्तै, इजरायल स्थापना गर्न दिने र आफैँले छुट्याएको प्यालेस्टिनी देश दिलाउन नसक्ने संरा सङ्घले नैतिकरूपले पनि प्यालेस्टिनीलाई केही भन्न मिल्दैन । ‘आइलाग्ने माथि जाइलाग्ने’ परम्परा भएका हामी नेपालीहरू देश लुटाहाविरुद्ध गरेको कार्य अप्रिय भए पनि ‘शत्रु आई देशलाई कुल्चे, हामी खरानी पार्ने छौँ’ भनी गीतले स्वागत गर्छाैँ ।
इतिहासमा आतङ्क
आतङ्कको अङ्ग्रेजी शब्द Terror हो । यो शब्द ल्याटिनी हो र पछि युरोपीय भाषाहरूमा आएको मानिन्छ ।
आतङ्क मच्चाउनेलाई आतङ्कवादी भनिन्छ जसको आतङ्कवादमा विश्वास छ । आतङ्कवाद इतिहासजत्तिकै पुरानो छ । यद्यपि, इतिहासमा आतङ्क शब्द महान् फ्रान्सेली राज्य क्रान्तिदेखि देखापरेको भनिन्छ । फ्रान्सेली राज्य क्रान्ति आजको मानव अधिकारको सानो आधारशीला थियो । त्यस क्रान्तिले ‘समानता, स्वतन्त्रता र भ्रातृत्व’ को नारा दिएको थियो । क्रान्तिकारीहरू सत्तामा पुगेपछि क्रान्तिविरोधीहरूले आगो लगाउने, विस्फोट गर्ने, गणतन्त्रभित्र दङ्गा गर्ने, कन्भेन्टका कमिसारहरूको हत्या गर्ने, नेताहरूको हत्या गर्ने, विध्वंसकारी कार्य गर्ने, खाद्य सामग्री र दैनिक उपभोग्य वस्तुहरू लुकाउने, कालो बजार गर्ने, क्रान्तिविरुद्ध जासुसी गर्ने आदि विरुद्ध मुद्दा चलाई फाँसी दिइएको थियो । यस क्रान्तिकारी कानुनको कार्यान्वयनलाई नै बुर्जुवा इतिहासकारहरूले ‘आतङ्क’ को संज्ञा दिए । त्यसबेला क्रान्तिविरोधी अभियुक्तहरूको सामाजिक स्तर
(वर्ग) लाई विशेष ध्यान दिइएको थियो ।
तर, क्रान्तिकारीहरूविरुद्ध चलाइएको ‘श्वेत आतङ्क’ बारे भने तिनीहरू प्रायः मौन रहन्छन् ।
त्यस्तै, आज यति बमहरू बनिसकेका छन् कि यो पृथ्वीलाई सयौँपटक ध्वस्त गर्न पुग्छ – यसोभन्दा को आतङ्कित हुँदैन ? तब बमधनीहरूलाई किन आतङ्कवादी भनिँदैन ?
आतङ्कवादबारे मत भिन्नता
आतङ्कवादबारे सर्वसम्मत विचार देखापरेको छैन । आतङ्कवाद समय–समय र व्यक्ति–व्यक्तिको विचारमा भर पर्छ । त्यसैले, एउटै व्यक्ति एकै समयमा क्रान्तिकारी र आतङ्कवादी दुवै हुनसक्छ ।
भारतमा सन् १८५७ मा भएको विद्रोहमा भाग लिनेहरूलाई उपनिवेशवादी बेलायती शासकहरूले ‘आतङ्कवादी’ को संज्ञा दिएका थिए । तर, भारतीयहरू त्यो कुरा मान्दैनन् ।
त्यस्तै, बेलायती उपनिवेशकालमा भगत सिंह र सुखदेवहरू शासकहरूको दृष्टिमा आतङ्कवादी थिए । तर, भारतीयहरू तिनीहरूलाई सम्मान र आदरयोग्य सहिद मान्दछन् ।
भारतको स्वतन्त्रता आन्दोलनमा केही सङ्गठन र व्यक्तिले १९२०–३० तिर जे काम गरेका थिए त्यस्तै काम भिन्द्रानवाले, फिजो, लाल डेंगाका कार्यकर्ताहरूले गरे, तर पहिलोलाई क्रान्तिकारी माने पनि दोस्रोलाई मानिएको छैन ।
आफ्नो पालामा टिटो, सुकर्ण, होचि मिन्ह, खुमेनी र तेस्रो विश्वका अन्य थुप्रै नेताहरूलाई तात्कालीन शासकहरूले ‘आतङ्कवादी’ को संज्ञा दिएका थिए ।
सन् १९७२ मा म्युनिख (ओलम्पिक खेल) मा एघार जना इजरायलीहरूको अपहरण र हत्या प्यालेस्टिनीहरूको एउटा गुटले गरेको थियो । त्यस कार्यलाई सर्वत्र आतङ्कवादी कार्य भनिएको छ । तर, केहीले यस्तो पनि भने, “यदि कसैले मेरो देशको केही या सम्पूर्ण भाग (कसैले) कब्जा गरे म पनि त्यसै गर्थे हुँला ।”
रोडेशियामा जातिवादी गोरा सरकारविरुद्ध सङ्घर्ष गरी स्वतन्त्र भएपछि नाम फेरेर जिम्बाबे रहेको हो । यो देशका प्रधानमन्त्री रवर्ट गाब्रियल मुगावे हुनुहुन्छ । उहाँ अहिले असंलग्न आन्दोलनका अध्यक्ष पनि हुनुहुन्छ । तर, बेलायती जातिवादीहरूको दृष्टिमा एक समय उहाँ ‘आतङ्कवादी’ हुनुहुन्थ्यो । बेलायतको एक प्रकाशनले उहाँसम्बन्धी एउटा पुस्तक प्रकाशन गर्न लागेको थियो । त्यस पुस्तकको नाम थियो– एक आतङ्कवादीको जीवनी ! तर, बेलायतका महारानीको सरकार र रोडेशियाका देशभक्त मोर्चाबिच सम्झौता हुने थाहा पाउनासाथ अर्कै नामले पुस्तक बजारमा ल्यायो र उहाँ आतङ्कवादी हुनु भएन ।
दक्षिण अफ्रिकामा जातिवादी तानाशाही सरकारविरुद्ध त्यहाँका जनता सङ्घर्ष गरिरहेका छन् । अफ्रिकी नेसनल काङ्ग्रेस दक्षिण अफ्रिकाको जातिवादविरोधी सशक्त सङ्गठन हो । गोराहरूको दृष्टिमा अफ्रिकी नेसनल काङ्ग्रेसका नेता र कार्यकर्ताहरू आतङ्कवादी हुन् । तर, विश्वका जनता यिनीहरूलाई आतङ्कवादी मान्दैनन् ।
हाम्रै देशका सहिदहरू पनि श्री ३ महाराज र राणाहरूको दृष्टिमा राम्रो कहाँ थियो र ?
माथिको भनाइबाट के स्पष्ट हुन्छ भने कुनै व्यक्तिको विचार र समय ‘आतङ्कवादी’ कहलिएका व्यक्ति अर्काे व्यक्तिको विचार र समयमा क्रान्तिकारी हुन्छ । त्यस्तै कुनै कुनै आतङ्कवादी पनि ‘क्रान्तिकारी’ तथा ‘स्वतन्त्रताका योद्धा’ बनाइन्छ । निकारागुआका कन्ट्राहरू, अफगानिस्तानका विद्रोहीहरू अमेरिकाको दृष्टिमा आतङ्कवादी होइन, ‘स्वतन्त्रताको योद्धा’ हुन् ।
यसरी ‘आतङ्कवादी’ को निक्र्याेल राजनैतिक विचारबाट हुन्छ भन्ने बुझिन्छ । त्यसैले, ‘आतङ्कवादी’ सङ्गठन दुई प्रकारका हुन्छन्– दक्षिणपन्थी र वामपन्थी ।
अन्तर्राष्ट्रिय आतङ्ककवाद
माथि उल्लेख भएझैँ आतङ्ककवाद धेरै पुरानो हो । तर, आज आतङ्कवादले विश्वव्यापी भय र त्रास फैलाएको छ । आतङ्ककवाद कुनै स्थान वा देशभित्र सीमित नरही अन्तर्राष्ट्रिय स्तरमा पुगेको छ । जापानको रेड आर्मीले विमान अपहरण गरी फलानो ठाउँमा ओराल्यो भन्ने खबर विश्वभर फैलिन्छ । अन्ततः विमानलाई बमले उडाइदियो भने विमान चढेका मानिसहरूको ज्यान जानेछ । इटालीको रेड बिग्रेडले एक व्यापारीहरूको अपहरण ग¥यो भन्ने खबरको समाप्ति एक व्यक्तिको मृत्यु हुन्छ । तर, फलानो देशको फौजले अर्काे देशमाथि हमला ग¥यो भन्दा नि ? अथवा कुनै देशको मुक्ति आन्दोलन दबाउन फलाना देशले फौज पठायो भन्दा ? कुरा स्पष्ट छ, विमान अपहरण र व्यक्ति अपहरणको मात्र होइन आक्रमण र हस्तक्षेपले पनि विश्वभर आतङ्क फैलाउँछ भन्ने तिनीहरूलाई आतङ्ककवादी किन नभन्ने ? आफ्नो स्वाधीनता गुम्ने पराइको अधीनमा रहनुपर्ने मात्र होइन दैनिक जीवनयापनमा पर्ने प्रतिकूल प्रभावले समेत मानिस आतङ्कित रहन्छन् । त्यो आतङ्कित सङ्ख्या एउटा विमानका यात्रु र त्यसका नाता कुटुम्बभन्दा कता हो कता बढी छ । यस्तो आतङ्क ल्याउनमा भरौटे सिपाहीँहरूले ठूलो भूमिका खेल्दै आएको छ ।
विश्वभर आतङ्क फैलाउनमा भरौटे सिपाहीँको प्रयोग यथेस्ट भएको छ । ‘साम्राज्यवादी देशहरूले आफ्नो स्वार्थ पूरा गर्न’ भरौटे सिपाहीँ प्रयोग गर्दै आएको छ र ‘अन्तर्राष्ट्रिय आतङ्कवादको एक रूप बन्दै छ ।’ यस अर्थमा भरौटे सेना र यसका सञ्चालकहरू प्रयोग गर्नेहरू पनि आतङ्कवादीको परिभाषाभित्र पर्नुपर्छ ।
यहाँनेर भरौटे सिपाहीँबारे केही जानकारी दिनु सान्दर्भिक हुनेछ ।
एक नम्बरका आतङ्कवादी
आज– अबु निदाल
‘अमेरिका हाम्रो तारो हो’ भन्ने अबु निदाललाई आज सबभन्दा खतरनाक आतङ्कवादी मानिन्छ ।
अबु निदालको अर्थ सङ्घर्षको पिता हो । उनको वास्तविक नाम साब्रि खलिल–अल–बान्ना हो । उनको जन्म सन् १९३७ मेमा प्यालेस्टिनको जाफ्फामा भएको थियो । जाफ्फा आज इजरायलमा पर्दछ ।
२९ नोभेम्बर १९४७ मा संरा सङ्घले इजरायल स्थापना गर्ने निर्णय लिएपछि १९४८ अप्रिलमा अरू प्यालेस्टिनीका साथै अबु निदालको घर, सम्पत्ति सबै लुटियो र उनले भागेर ज्यान बचाए ।

अबु निदाल
अबु निदाल प्यालेस्टिन मुक्ति सङ्गठन (पीएलओ) को फताह समूहमा मतभेद भएपछि उनले सन् १९७४ मा अबु निदाल सङ्गठन स्थापना गरे । यो सङ्गठन सशस्त्र सङ्घर्षबाहेक अन्य कुरामा विश्वास गर्दैन र अति कठोर मानिन्छ ।
उनी मरेको समाचार धेरैपटक आइसके पनि जिउँदै रहेकोमा प्रायः सबै विश्वस्त छन् । मरेको खबर प्रचार गरी उनलाई प्रकाशमा ल्याउने र तारो बनाउने जाल भनिन्छ ।
उनको तस्बिर बिरलै उपलब्ध छ । सन् १९७८ मा एसोसियटेड प्रेसले निदालको भनी प्रकाशित गरेको तस्बिर प्यालेस्टिनी लेखक अब्दुल कादर यासीनको परेर चार वर्षपछि सच्याएको थियो ।
प्यालेस्टिन हडप्नेहरूले अबु निदाल सबभन्दा ठूला आतङ्कवाद मानिएको छ ।
हिजो मेनाहम बेगिन
सन् १९४० ताका मेनाहम बेगिनलाई बेलायती सरकारले मुर्दा या जिउँदा ल्याउने इनामको घोषणा गरिएको थियो । त्यसबेला उनी एक नम्बरका आतङ्कवादी थिए । कुख्यात आतङ्कवादी सङ्गठन इर्गुनका नेता थिए ।

सन् १९३५ मा यहुदीवादीहरूले एउटा सङ्गठन बनाए – इर्गुन जभै ल्यूमि (Irgun Zvai Leumi) । त्यो आतङ्कवादी सङ्गठन थियो । बेगिनले राजनीतिक जीवन यसैबाट सुरु गरेका थिए र उनी सङ्गठनका प्रमुख थिए ।
तर, पछि मेनाहम बेगिन इजरायलको प्रधानमन्त्री बने । त्यसैले उनलाई साम्राज्यवादीहरू आतङ्कवादी भन्दैनन् ।
Leave a Reply