भर्खरै :

“सहकारी संस्थाहरू समुदायमा आधारित हुनुपर्छ”

“सहकारी संस्थाहरू समुदायमा आधारित हुनुपर्छ”

भक्तपुर, २७ असोज । भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको आतिथ्यमा भनपा वडा नं. १० स्थित डायमण्ड बचत तथा ऋण सहकारी संस्था लि. को २६ औँ वार्षिक साधारणसभा शनिबार सम्पन्न भयो ।
कार्यक्रममा प्रमुख प्रजापतिले बचतकर्ताहरूको रकम लिएर भागेका सहकारी संस्थाहरूलाई कानुनी दायराभित्र ल्याउन भक्तपुर नपाले सहजीकरणको भूमिका खेल्दै आइरहेको बताउनुभयो ।
समुदायमा आधारित सहकारी संस्थाहरूलाई मात्र विश्वास गरी आफ्नो रकम जम्मा गर्न अनुरोध गर्दै प्रमुख प्रजापतिले सहकारी संस्थाका सञ्चालकहरू इमानदार, नैतिकवान र अनुशासित हुन जरुरी रहेको बताउनुभयो ।
सहकारी संस्थाहरूले सीपमूलक तालिमहरू सञ्चालन गरी सदस्यहरूको हितमा विविध गतिविधि सञ्चालन गर्नुपर्ने भन्दै भक्तपुर नपाले समयसापेक्ष ढङ्गले लेखासम्बन्धी तालिमहरू सञ्चालन गर्दै आइरहेको छ भन्नुभयो ।
ब्याज र लाभांशको लोभले गर्दा धेरै सदस्यहरूको बचत रकम सङ्कटमा परिरहेको बताउँदै उहाँले सहकारी संस्थाहरूले सामाजिक दायित्व पूरा गर्नेतर्फ पनि ध्यान दिनुपर्ने बताउनुभयो ।
समुदायमा आधारित भक्तपुरका सहकारी संस्थाहरूले ख्वप अस्पतालमा स्थापना गरेको अक्सिजन प्लान्टमा आर्थिक सहयोग तथा सामुदायिक सुरक्षा कोषको ५० प्रतिशत रकम भक्तपुर नपामा जम्मा गरी सहयोग गरेको स्मरण गर्दै भक्तपुर नपाले शिक्षा, स्वास्थ्य, सम्पदा पुनःनिर्माणलगायत नगरको चौतर्फी विकासमा ध्यान दिँदै आएको बताउनुभयो ।
कार्यक्रममा राष्ट्रिय सहकारी बैङ्कका प्रतिनिधि रमेश बोहजू, जिल्ला सहकारी सङ्घ लेखा समिति सदस्य सुलोचना दुवाल, कानुन अधिवक्ता हरिराम लवजू, सहज साकोसका अमररत्न शाक्य, मनोविद् डा. नरेन्द्रसिंह ठगुना, समदर्शी साकोसका रामकृष्ण मानन्धर, इन्द्रायणी साकोसका सत्यनारायण सुवालले शुभकामना मन्तव्य राख्नुभएको थियो ।
संस्थाका अध्यक्ष लक्ष्मीप्रसाद फाँजुको सभापतित्वमा भएको उक्त कार्यक्रममा संस्थाका सचिव गुदीमाया नापित र संस्थाका बचत उपसमितिका सदस्य अनुपा नापितले पनि बोल्नुभएको थियो ।
प्रमुख प्रजापतिले ज्येष्ठ नागरिक सम्मान, एसईई र प्लस टु उत्तीर्णमध्ये उत्कृष्टहरूलाई सम्मान गर्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *