भर्खरै :

देशको शैक्षिक अवस्था भताभुङ्ग हुनुको मुख्य कारण आक्रामक पुँजीवाद र नवउदारवाद

देशको शैक्षिक अवस्था भताभुङ्ग हुनुको मुख्य कारण आक्रामक पुँजीवाद र नवउदारवाद

भक्तपुर, २७ असोज । वागीश्वरी मावि, वागीश्वरी कलेज र वागीश्वरी कलेज अफ मानेज्मेन्ट च्याम्हासिंहको संयुक्त आयोजनामा विजया दशमी २०८० को शुभकामना आदान प्रदान कार्यक्रम कलेज व्यवस्थापन समितिका अध्यक्ष एवम् भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको प्रमुख आतिथ्यमा सम्पन्न भयो ।
कार्यक्रममा नगर प्रमुख सुनिल प्रजापतिले देशको शैक्षिक अवस्था भताभुङ्ग हुनुको मुख्य कारण आक्रामक पुँजीवाद र नवउदारवाद भएको बताउनुभयो । उहाँले भन्नुभयो, “शिक्षालाई निजीकरणको नाममा व्यापारीकरण गरियो । विदेशी विश्वविद्यालयको सम्बन्धमा यहाँ कलेजहरू सञ्चालन गर्न दिइयो । परिणामस्वरूप देशको विश्वविद्यालयको सम्बन्धमा सञ्चालित ५३९ कलेजहरू अहिले बन्द हुने अवस्थामा पुगेका छन् ।”
देशको युवा जनशक्ति विदेशको भयावह स्थितिको चर्चा गर्दै उहाँले युवा विद्यार्थीको हृदयमा देशभक्ति जगाउने जिम्मेवारी मूलतः शिक्षकहरूकै हो भन्नुभयो ।
उहाँले पूर्वजले गरेको त्याग तपस्याका कारण आज भक्तपुर नगर देशमा नमुनाको रूपमा देखिएको र वागीश्वरी स्कुल, कलेज पनि नमुनाको रूपमा अघि बढिरहेको बताउनुभयो ।
केही दिनअगाडि त्रि.वि.का उपकुलपतिसँग भएको वार्तालापको जानकारी दिँदै उहाँले भन्नुभयो, “उपकुलपति स्वयम् देश राजनीतिक भागबन्डाले बिग्रिएको स्वीकार्नु हुन्छ । शिक्षामा विकृतिहरू थाहा भएर पनि आफूले केही गर्न नसकेकोमा उपकुलपति नै लाचार देखिनु हुन्छ ।”
पढेलेखेका उच्चाधिकारीहरू देश र जनताप्रति जिम्मेवार नभई राज्यको तलब खाई आइएनजीओको डलरमा बिकिँदा देशले दुःख पाएको उदाहरण दिँदै उहाँले अब परनिर्भरता त्याग्दै विकास निर्माणमा हिसाबकिताब पारदर्शी गर्दै अघि बढ्न सके स्थितिमा केही सुधार आउने अपेक्षा गर्नुभयो ।
नेपालको जलस्रोतमाथि भारतले कब्जा जमाउँँदै गएको चर्चा गर्दै उहाँले भारतीय विस्तारवाद नै देशको मुख्य शत्रुको रूपमा देखापरेको छ, भारतका ठूला व्यापारी रामदेवलाई यहाँ ठूला योगीको रूपमा स्थापित गर्न खोज्नु गलत हुने बताउनुभयो ।
देशको बिदालाई सिर्जनात्मक ढङ्गले उपयोग गरियोस् भन्ने शुभेच्छासहित उहाँले गरेको राम्रो काम कहिल्यै खेर नजाने बताउनुभयो ।
कार्यक्रममा कलेज व्यवस्थापन समितिका उपाध्यक्ष एवम् पूर्वप्रधानाध्यापक मोहनप्रसाद प्रजापतिले विगतमा विदेशीले डब्बल तलबको लोभ देखाए पनि आफूहरू नलोभिएको चर्चा गर्दै प्रगतिको लागि साझा प्रयास आवश्यक हुनेमा जोड दिनुभयो ।
कार्यक्रममा संयोजक ज्ञानसागर प्रजापतिले विद्यालय शिक्षा विधेयक २०८० मा आफूहरूले दिएको संशोधन प्रस्तावको जानकारी दिँदै राज्यले शिक्षामा कुल राष्ट्रिय बजेटको २४ प्रतिशत लगानी नगरी नहुनेमा जोड दिनुभयो ।
प्र.अ. कृष्णप्रसाद धन्छाको सभापतित्वमा भएको उक्त कार्यक्रममा वागीश्वरी कलेजका प्राचार्य धनकुमार श्रेष्ठ, विद्यालयका स.प्र.अ उकेश सुवाल, शिक्षकहरू बब्लुकुमार राउत, विश्वेश्वर मानन्धरलगायतले शुभकामना मन्तव्य दिनुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *