भर्खरै :

आतङ्कवादी को ? – २

आतङ्कवादी को ? – २

(गत शनिबार १९ गतेबाट प्यालेस्टाइन र इजरायलको द्वन्द्व फेरि चक्र्याे । धेरै पाठकहरूमा यो समस्याको मूल कारणको जानकारी अभाव देखिन्छ । इजरायलले प्यालेस्टाइनी जनतामाथि मच्चाएको आतङ्कलाई ओझेल पार्न प्यालेस्टाइनी जनता र उनीहरूको पक्षमा लड्ने अन्य लडाकु समहूलाई इजरायलले पश्चिमा शक्तिहरूले आतङ्ककारी वा आतङ्कवादीको संज्ञा दिँदै आएका छन् । भक्तपुर नगरपालिकाको प्रकाशन पञ्चायत अङ्क ८, वर्ष ६, २०४५ मा जोरालद्वारा लिखित आलेखलाई मजदुरका पाठकहरूको जानकारीका लागि लेखकको अनुमतिमा यहाँ पुनः प्रकाशन गरिएको छ । – सम्पादक)
अन्तर्राष्ट्रिय आतङ्कवादको एक रूप भरौटे सिपाहीँ
‘भियतकङ्ग, भियतकङ्ग
मार, मार, मार
म मार्छु, म मार्छु …..’
यो गीतको अंश हो । यो गीत भियतनाममा कार्यरत भरौटे सिपाहीँले गाउने गीत हो जुन धेरै वर्ष पहिले Der Spiegel मा प्रकाशित भएको थियो ।
ग्वाटेमालामा भरौटे सिपाहीँहरूलाई तालिम दिने केन्द्रमा एकपटक मेक्सिकोका पत्रकार मारियो मेनेन्डेज रोड्रिग्वेजले प्रवेश गरे । त्यहाँ प्रशिक्षकले भरौटे सिपाहीँ जसलाई ‘रातका बाघ’ (Caibil) नाम दिइएको छ, लाई तालिम दिइरहेको थियो । प्रशिक्षणको रोचक सानो नमुना जुन प्रश्न र उत्तरमा छ –
‘रातको बाघले के खान्छ ?’
‘मा… सु !’
‘कस्तो मासु ?’
‘मा…न…व को मासु ?’
‘कस्तो मासु ?’
‘क..म्यु..नि..स्टको मासु !’
‘रातको बाघले के पिउँछ ?’
‘रगत !’
‘कस्तो रगत ?’
‘मानव रगत  !’
‘कसको रगत ?’
‘कम्युनिस्टको रगत !’
यस्तै प्रशिक्षण प्राप्त भरौटे सिपाहीँले जिउँदै गर्भवती महिलाको पेट चिरेर बच्चा निकाल्यो र मा¥यो, स्तन काटिदियो, बच्चालाई माथि फालेर सङ्गीनको टुप्पामा थाप्यो, जिउँदै जलाइदियो, गाडिदियो, बलात्कार ग¥यो, आगो लगायो, भिरको छेउमा गोली नभएको पिस्टोलले कञ्चटमा सोझ्याई पिटिक्क … पिटिक्क गर्दा भयले हाम्फालेर म¥यो … जस्ता घटनाले आतङ्कित नहुने को होला ? अझ चीनका पुराना दार्शनिकले आतङ्कवादको परिभाषा दिएझैँ ‘दस हजारलाई तर्साउन एक जनालाई मार्नु’ को घटना पनि भरौटे सिपाहीँ पुगेका देशको लागि साधारण कुरा हुनसक्छ ।
भरौटे सिपाहीँहरू भाडामा लिने चलन प्राचीन समयदेखि रहेको छ । बेबिलोन, प्राचीन रोम, पर्सिया र कार्थेजमा भरौटे सिपाहीँ प्रयोग भएको थियो । प्राचीन ग्रीकका स्वेच्छाचारी शासकहरूका अङ्गरक्षकको रुपमा अति निर्दयी र अत्याचारी भरौटे सिपाहीँहरूले कार्य गरेका थिए ।
स्पेन, इटाली र फ्रान्सका शाही दरबारहरूमा भरौटे सिपाहीँको ठूलो माग थियो ।
मध्य युगमा आएर भरौटे सिपाहीँहरूको लुट, निर्दयिता र क्रुरताको कारण तिनीहरूको नाम ‘काला रक्षक’ (Black Guards) रहन गएको थियो ।
युरोपका साम्राज्यवादी शासकहरूले आफ्नो स्वार्थ पूरा गर्न भरौटे सिपाहीँ प्रयोग गरे । पहिले ती साम्राज्यवादीहरूले विभिन्न देशका राजा, सामन्त र कबिला सरदारहरूको बफादारी हासिल गरे । अनि ती राजा या सरकारप्रति बफादार प्रजा विदेशी साम्राज्यवादी देशको फौजमा भर्ती गराइन्छ र हुने गर्छन् । वस्तुतः ती भर्ती भएका फौज नियमित होइन भरौटे हुन् ।
नियमित फौज आफ्नो देशको राजा या सरदारप्रति बफादार रहन्छ जबकि ती फौज कसैप्रति बफादारभन्दा केबल पैसाको लागि काम गर्छन् । पैसाको लागि काम गर्ने सिपाहीँ भएकोले यिनीहरूलाई भाडाका या भरौटे सिपाहीँ (Mercenary) भनिएको हो ।
आफ्नो साम्राज्यमा कतै स्वतन्त्रता आन्दोलन चलेपछि, आफ्नो नियन्त्रणमा राख्न नसक्ने भएपछि कुनै स्थानीय हाँकधाक भएका व्यक्तिलाई आर्थिक, अस्त्रशस्त्रले सहयोग गर्छन् । उसलाई सत्ता कब्जा गर्न सघाउँछन् ताकि सत्ता स्वतन्त्रताप्रेमीहरूको हातमा नपरोस् । त्यस्ता व्यक्ति साम्राज्यवादी दलाल हुने भएकोले राष्ट्रिय सेना गठन गर्न सक्दैन । अतः पैसा पाए जे पनि गर्नेहरूबाट सेना गठन गर्छ जसले हत्या, लुट, मनपरी गर्छन् र आतङ्क फैलाउँछन् । ती भरौटे सिपाहीँ हुन् ।
फ्रान्समा भरौटे सिपाहीँ
गएको शताब्दीका पूवाद्र्धमा फ्रान्सको राजा लुई फिलिपले French Foreign Legion (फ्रेन्च सेनामा भरौटे सिपाहीँ) को गठन गरेका थिए । उत्तरी अफ्रिकाका देशहरूमा आक्रमण गर्न यसको गठन गरिएको थियो । फ्रेन्च भरौटे सेनाले अल्जेरिया कब्जा ग¥यो र १३० वर्षसम्म अल्जेरिया फ्रान्सको अधीनमा रहनु परेको थियो ।
सन् १८५५ मा रुससँग भएको क्रिमिया युद्धमा पनि फ्रेन्च भरौटे सेना प्रयोग भएको थियो । त्यसबेला भरौटे सेनाको खर्च तुर्की, बेलायत, फ्रान्सले व्यहोरेका थिए ।
सन् १८७१ मा पेरिस कम्युन असफल पारेपछि कम्युनार्डहरूको हत्या गर्न फ्रेन्च भरौटे सेना पनि प्रयोग गरिएको थियो । सन् १८८४ मा फ्रान्सले हिन्द–चीन (भियतनाम, लावस र कम्बोडिया) माथि अतिक्रमण गर्दा भरौटे सेना प्रयोग गरेको थियो ।
अघि उल्लेख भएझैँ पैसाको लागि काम गर्ने भरौटे सेनाको कुनै विश्वास हुँदैन । त्यसैले सन् १९१४ को पहिलो विश्वयुद्धमा यी फ्रेन्च भरौटे सेनाले आफ्नो बन्दुकको नाल जर्मन सेनातर्फ फर्काउनुको सट्टा आफ्नै मालिकको फ्रेन्च सेनातर्फ फर्काएको थियो । यो फ्रेन्च विदेशी भरौटे सेना (Legion) आज पनि छ जसले कानुनी मान्यता पाएको छ । त्यसैले फ्रान्समा यसबारे त्यति चर्चा गरिँदैन भनिन्छ । यो भरौटे सेना राखिने वा तालिम दिने व्यारेक (क्याम्प) मा फ्रान्सका रक्षामन्त्रीको अनुमतिबिना कोही जान सक्दैन । एक तथ्याङ्कअनुसार त्यहाँ फ्रान्सिसी अङ्ग्रेजी, जर्मन, आएरिस, पोर्तुगल, इटाली, ग्रीक, अरबी, स्वेडीस भाषा बोल्नेहरू करीब आठ हजार जति भरौटे सैनिकहरू छन् ।
दोस्रो विश्वयुद्धपछि भरौटे सेनाको पहिलो प्रयोग अल्जेरियामा भएको मानिन्छ । अल्जेरियाको स्वतन्त्रता आन्दोलन चलेपछि त्यहाँ रहेका मुट्ठीभर फ्रान्सिसीहरूले भरौटे सेना प्रयोग गराएका थिए । ती मुट्ठीभर फ्रान्सिसीहरू फ्रान्सको उपनिवेश रहेको अल्जेरियाको स्वतन्त्रता चाहँदैनथे ।
अल्जेरियापछि विभिन्न देशका भरौटे सेनाहरू ग्वाटेमाला, होन्डुरस, पेरु, भेनेजुयला, ग्रेनाडा, निकारागुआ आदि देशमा प्रयोग भयो र भइरहेको छ ।

रबर्ट के. ब्राउन

स्पेनमा
स्पेनमा पनि सन् १९२० मा स्पेनी विदेशी भरौटे सेना गठन गरिएको थियो । यसलाई मोरक्कोको मुक्ति आन्दोलन र अस्ट्रियाको फासिस्टविरोधी विद्रोहलाई निर्दयतापूर्वक दबाउन प्रयोग गरिएको थियो ।
संरा अमेरिकामा
पुँजीवादी मुलुकहरूमा स्वस्थ, कार्य गर्न सक्षम, शिक्षित, लाखौँ मानिसहरू बेरोजगार छन्– डुकु, भात र बासको समस्याले आक्रान्त छन् । त्यस्ता मानिसहरू विशेषगरी युवाहरू आफ्नो भोक मेटाउन काम खोज्दै हिँड्नु कुनै अस्वाभाविक होइन । जब काम वा राम्रो काम सरकारले दिँदैन भने जे पाउँछ त्यहीँ काम गर्नु स्वाभाविक हो । ती युवाहरूले जब, तुरुन्तै भरौटे सेनाको आवश्यकता, तुरुन्त सम्पर्क राख्नुहोस्, आकर्षक तलब, विदेशमा जाने … … जस्ता विज्ञापन देख्छन् तब तिनीहरू ओइरिहाल्छन् । अनि बन्छ– भरौटे सिपाही !
‘भाग्यका सिपाहीँ’
यस्तै कार्यको लागि अमेरिकामा एउटा पत्रिका छ ‘भाग्यका सिपाहीँ’ (Soldier of Fortune) । यसमा युद्ध र सैन्यवादको प्रशंसा गरिएको हुन्छ, पेशेवर हत्यारा (भरौटे) हरूले कसरी हत्या र विध्वंस मच्चाए भन्ने संस्मरण, विवरण रोचक ढङ्गले प्रस्तुत गरिन्छ ताकि अरुलाई आकर्षित गर्न सकियोस् । यस पत्रिकाको विचार बुझ्न सायद एक वाक्य यथेष्ट हुनेछ– हत्या गर्ने अधिकार खुसीको बेला हो !
यो पत्रिका सन् १९७५ मा प्रकाशनमा आएको हो । यसको वितरण अमेरिका, बेलायत, फ्रान्स, अस्ट्रेलिया आदि गोराहरूको देशमा मात्र होइन, दक्षिण पूर्व एसिया, मध्यपूर्व, ल्याटिन अमेरिकामा पनि हुन थालेको छ ।
यसका मालिक फ्लोरिडाका रबर्ट के. ब्राउन हो । ब्राउन क्युवाका क्रान्तिविरोधीहरूलाई तालिम दिएर लड्न पठाउने गथ्र्याे, उसले भियतनाम गएको अमेरिकाको विशेष फौजमा काम गरिसकेको छ । पेरुमा संरा अमेरिकी केन्द्रीय गुप्तचर संस्था (CIA) को एजेन्ट भएर पनि काम गरिसकेको छ । पेरुमा छँदा ब्राउनले हतियार व्यापार गर्न थाले । हतियार व्यापारबाट यथेष्ट नाफा पाएपछि उनीमा व्यापारी बुद्धि निस्क्यो र सोच्न थाल्यो– हतियारका साथै हतियार चलाउने मान्छे पनि बेच्न पाए !! तत्पश्चात् राष्ट्रिय मुक्ति सङ्घर्ष चलिरहेका देशका शासकहरूलाई बेच्न भरौटे सेनालाई तालिम दिन थाले । त्यसबाट नाफा अझ बढ्यो र पत्रिका निकाले ।
ब्राउन आज भरौटे सेनाका ‘गुरु’ मानिन्छ । यसको ‘भाग्यका सिपाहीँ’ का कार्यको सानो अंश –
१) अँगोला सरकारविरुद्ध लडेको र लडिरहेको,
२) रोडेशियामा इयान स्मिथको गोरा सरकारको लागि लडेको,
३) डोमिनिकामा अमेरिकाको कु क्लक्स क्लानसँग मिलेर गोरा जातिको सरकार स्थापना गर्न खोजेको,
४) सेशेल्समा राष्ट्रपति अल्बर्ट रेनलाई १९८१ मा अपदस्थ गर्न खोजेको,
५) कोमोरो टापुमा १९७८ मा भएको ‘कू’ मा सघाएको ….
‘भाग्यको सिपाहीँ’ मात्रै अमेरिकामा छैन त्यहाँ भरौटे सेनाका विश्वभर नाम चलेको क्याम्परको स्कूल पनि छ । अमेरिकाको अरिजोना, कोलोराडो, इलिन्वाय, न्यु मेक्सिको, उत्तर क्यारोलिना, मिसिसिपि, न्युयोर्क, मिसौरी, अलाबामा आदि ठाउँमा भरौटे सेनाको तालिम केन्द्रहरू खोलिएका छन् । त्यहाँबाट निस्केका भरौटे सेना विशेषगरी मध्य अमेरिका, मध्य पूर्वमा लड्छन् –सीआईएको निम्ति पनि ।
फ्रान्क क्याम्पर
भरौटे सेनाका अर्का गुरु फ्रान्क क्याम्पर हो । क्याम्पर भियतनाम युद्धमा लडिसकेको प्रशिक्षित कमान्डो हो, ऊ एफबीआईको भूपू एजेन्ट पनि हो । उसले मध्य अमेरिका, अफ्रिकाको केही भाग र पश्चिम एसियामा लडिसकेको छ ।
क्याम्परको स्कूल ४० (चालिस) एकड भूमिमा फैलिएको छ जहाँ पाइला टेक्नु पनि खतराबाट मुक्त छैन । यो स्कूल उसको भरौटे सिपाहीँ सङ्घको एक शाखाको रूपमा सन् १९८० मा खोलिएको हो । यो स्कूल अलाबामा राज्यको बर्मिङ्गघामनिर छ ।
फ्रान्क क्याम्परको स्कूलमा कम्युनिस्टहरूलाई प्रवेश गराइन्न । किनभने, क्याम्पर ‘कम्युनिस्टहरूलाई घृणा’ गर्छन् ।
क्याम्परमात्र होइन, सबै भरौटे सेनाहरू के भन्छन् भने जोसुकैको निम्ति पनि आफू काम गर्ने तर कम्युनिस्टको लागि होइन । भरौटे होस् वा अन्य कम्युनिस्टहरूलाई मार्नु पाउनु खुसीको कुरा ठान्दछन् ।

भरौटे सेनाका ठेकेदार फ्रान्क क्याम्पर

क्याम्परको स्कूलमा के सिकाउँछ त ? खुल्दुली लाग्नु स्वाभाविक हो । यातना कसरी दिने, विध्वंस कसरी गर्ने, हतियार चलाउने र हत्याका तरिकाको शिक्षा उसको स्कूलमा दिइन्छ । तर, क्याम्पर भन्दछन्, “म आतङ्कवादीलाई तालिम दिन्न । म केही निपुणता भएकाहरूलाई मात्र तालिम दिन्छु ।” कुरा ठिक्कै हो, जो आफैँ आतङ्कवादी छ त्यसलाई आतङ्कवादी तालिमको के आवश्यकता ? तालिम त लालसिंहलाई आवश्यक छ जो राजीव गान्धी र भजनलालको हत्या गर्न खोज्दै थियो । त्यसैले आफ्नो स्कूलबाट तालिम लिएर निस्केपछि कोही आतङ्कवादी … भने क्याम्पर भन्छ, “मेरो के लाग्छ ?”
स्मरणरहोस्, अमेरिका भ्रमणको बेला भारतका प्रधानमन्त्री राजीव गान्धी र अर्काे एक मन्त्री भजनलालको ‘अवश्यम्भावी’ हत्या षड्यन्त्र असफल पार्न क्याम्परले एफबीआई (सङ्घीय गुप्तचर विभाग) लाई सूचना दिएको दाबी गरेको थियो । ताज्जुवको कुरो के छ भन्ने हत्या षड्यन्त्रमा संलग्न लालसिंह उसैको स्कूलबाट प्रशिक्षित थियो !
अमेरिका ‘प्रजातान्त्रिक’ देश भएकोले त्यहाँ स्वतन्त्रता आन्दोलन दबाउन, तानाशाहहरूलाई सघाउन सञ्चालित आतङ्कवादी स्कूल बन्द हुँदैन । आतङ्कवादी तालिम केन्द्रहरूलाई कानुनी मान्यता प्राप्त छ । क्याम्परको आतङ्कवादी तालिम केन्द्र बन्द गराउन केही समय पहिले प्रयास भएको थियो तर असफल भयो ।
विश्वभर आतङ्कवादीहरूले तालिम पाउने क्याम्परको स्कूलबारे क्याम्पर भन्छ, “हामीले कुनै गैरकानुनी कार्य गरेका छैनौँ । यदि वैध नभएको भए अमेरिकी सरकारले हामीलाई छुट दिन्थ्यो र ?”
फ्रान्स, अमेरिकाबाहेक बेलायत, बेल्जियम, पश्चिम जर्मनी, इटाली, पोर्तुगल, सिंगापुर, मनिला, इस्लामावाद, बैङ्कक आदि ठाउँमा पनि भरौटे सेनालाई तालिम दिइँदै छ ।
रबर्ट के. ब्राउन होस् वा फ्रान्क क्याम्पर दुवै भूतपूर्व सीआईए एफबीआईका एजेन्ट हो र दुवै भरौटे सिपाहीँका गुरु वा ठेकेदार हो । जहाँ जुन शासकले पैसा दिन्छ त्यसको निम्ति भरौटे सेना तिनीहरू पु¥याउँछन् । यसका साथै दुवैले सीआईएको निम्ति पनि काम गर्छन् । सीआईए आफू प्रत्यक्ष संलग्न हुन नचाहेको ठाउँमा यिनै भरौटे सेनालाई प्रयोग गरी ध्वंसात्मक र आतङ्कवादी कार्य गराउँदै आएको छ । क्याम्परले सीआईएसँग मिलेर काम गरेको कुरा स्वीकारेका छन् र आफ्नो व्यापार निर्विघ्न सञ्चालन गर्न आवश्यक पनि थियो भनिन्छ ।
ती भरौटे सेनाको कारण संरा अमेरिकाको हतियार निर्माता र हतियारका तस्करी, कालाबजारीयाहरू एकातिर अन्तर्राष्ट्रिय आतङ्कवादलाई सघाउँदै छ भने अर्काेतिर मोटो नाफा कमाउँदै छ ।
सहयोग सामग्री
१) कारवां– जनवरी प्रथम, १९८६
२) Occupation < Professional Killer ले भ्लाडिमिर कोल्डोब्स्की, नोभोस्ती प्रेस एजेन्सी प्रकाशन गृह १९८५
३) नवभारत टाइम्स– १३ मार्च १९८८
४) The Illustrated Weekly of India 15-21 Sept. 1985, 17-23 May, 1987
५) सारिका सेप्टेम्बर १९८७
६) Terrorism and International Law ले I. Blishchenko, N. Zhdanov, प्रगति प्रकाशन मास्को १९८४
७) Leftist Terrorism ले Viktor Vitiuk, प्रगति प्रकाशन, मास्को १९८५
८) माया–जुलाई १९७९
९) Zionism Stands Accused ले Igor yroslavtsev प्रगति प्रकाशन मास्को १९८६ ।
स्रोत : पञ्चायत, वर्ष ६, अङ्क ८, २०४५
समाप्त

Leave a Reply

Your email address will not be published. Required fields are marked *