भर्खरै :

नेपालको अर्थतन्त्रमा विदेशी दलाल पुँजीपतिवर्ग हाबी : अध्यक्ष बिजुक्छेँ

नेपालको अर्थतन्त्रमा विदेशी दलाल पुँजीपतिवर्ग हाबी : अध्यक्ष बिजुक्छेँ

भक्तपुर, २९ असोज । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) ले भक्तपुर ट्रक व्यवसायी सङ्घ (रूपान्तरित) भक्तपुर ट्रक व्यवसायी प्रा.लि.को आठौँ अधिवेशनको सोमबार उद्घाटन गर्नुभयो ।
कार्यक्रममा अध्यक्ष बिजुक्छेँले नेपालमा विदेशी दलाल पुँजीपतिवर्गको हाबी भइरहेको बताउँदै राष्ट्रिय पुँजीपतिवर्ग मिलेर विदेशी दलाल पुँजीपतिवर्गको विरोधमा सङ्घर्ष गर्नु आवश्यक भएकोमा जोड दिनुभयो ।
उहाँले हातहतियार बोक्ने मान्छेजस्तै सवारीसाधन भएका मानिस पनि सचेत हुनुपर्ने बताउँदै सरकारले सवारीचालकहरूलाई लाइसेन्स दिने बेला ध्यान दिनुपर्ने, राजमार्गभन्दा टाढा बस्ती बसाल्नुपर्ने र सवारीसाधन खरिद गर्नुअघि ग्यारेजको व्यवस्था गर्नुपर्नेमा जोड दिनुभयो ।
देशको नीति निर्माण गर्ने थलो संसद् राम्रो नभएसम्म देशको अवस्था राम्रो नहुने बताउँदै उहाँले सदनमा व्यवसायीहरू पुग्न सके सहज हुने तथा देशलाई माया गर्ने र देशको हितमा काम गर्ने कर्मचारीहरूको बाहुल्यता भए देशको विकास छिटो हुने बताउनुभयो ।
पार्किङको लागि ठाउँ–ठाउँमा ग्यारेज निर्माण गर्नुपर्ने बताउँदै उहाँले सरकारले एउटै देशको सवारीसाधन खरिद गर्न बन्द गर्नुपर्ने र विदेशीहरूको बैङ्कमा पैसा राख्न नहुने धारणा राख्नुभयो ।
उहाँले व्यवसायीहरूमा राष्ट्रिय भावना भएन भने ट्रक व्यवसायी, अर्बपति, खर्बपतिहरू नाङ्ले पसलमा झर्ने स्थिति आउन सक्नेतर्फ पनि सचेत पार्नुभयो ।
कार्यक्रममा भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले सरकारले हचुवाको भरमा वर्षौँसम्म जग्गाको कित्ताकाट रोकेको कारण देशको आर्थिक कारोबारमा समेत असर परेको बताउनुभयो ।
नेपालमा चरम बेरोजगारी, राजनैतिक अस्थिरता, भ्रष्टाचारका कारण उत्पन्न आर्थिक सङ्कटका कारण बितेको १९ महिनामा २४ लाख युवाहरूले नेपाल छाडेको तथ्याङ्क रहेको उल्लेख गर्दै प्रमुख प्रजापतिले गत आ.व. २०७९/८० मा श्रम रोजगारी स्वीकृतिमा नेपालका ८ लाख र अध्ययन गर्नको लागि १ लाख १० हजार युवाहरू विदेसिएको तथ्याङ्क उक्त कार्यक्रममा प्रस्तुत गर्नुभयो ।
उहाँले भन्नुभयो, “सार्वजनिक तथ्याङ्कअनुसार यो आर्थिक वर्षमा चीनका ११ करोड, भारतका ८० लाख र बङ्गलादेशका २० लाख पर्यटकहरू विदेश भ्रमणमा जाने रेकर्ड छ । त्यसको ५ प्रतिशतमात्र नेपाल आउने वातावरण बनाउन सके देशको लागि ठूलो टेवा पुग्ने देखिन्छ ।”
यातायात व्यवस्था विभागका महानिर्देशक उद्धव रिजालले भूकम्पको समयमा ठूलो चुनौतीका बिच काम गरेको अनुभव सुनाउँदै यातायातलाई प्रविधिसँग जोड्नुपर्ने र यातायात सुधारको लागि कार्यदल गठन भएको बताउनुभयो ।
नेपाल यातायात व्यवसायी महासङ्घका अध्यक्ष विजयबहादुर स्वाँरले यातायात व्यवसायीहरूको समस्या सरकारसमक्ष राख्न पनि सरकारले गम्भीरतापूर्वक नलिएको बताउँदै यातायात व्यवसायीहरू नागरिकहरूप्रति जवाफदेही हुनुपर्ने बताउनुभयो ।
भक्तपुर जिल्लाका प्रजिअ रोशनीकुमारी श्रेष्ठले अपराध नियन्त्रणमा ट्रक व्यवसायी सङ्घले सहयोग गर्दै आएकोमा धन्यवादज्ञापन गर्दै सवारी चालकहरूको गतिविधि व्यवस्थित गर्न सङ्घ, प्रदेश र स्थानीय तहबिच समन्वय हुनुपर्ने बताउनुभयो ।
भक्तपुर ट्रक व्यवसायी सङ्घका अध्यक्ष लक्ष्मीप्रसाद गोराको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा भक्तपुर उद्योग वाणिज्य सङ्घका अध्यक्ष शिव मानन्धरले ऋण तिर्ने वातावरण तयार गर्नुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा नेपाल यातायात राष्ट्रिय महासङ्घका नवीन प्रजापतिले सडक व्यवस्थित भयो भने राज्य नै व्यवस्थित हुने विचार राख्नुभयो भने ट्रक व्यवसायी सङ्घका पूर्व अध्यक्ष महेन्द्र खायमलीले सङ्घर्षकै कारण स–साना ट्रिपर निर्वाधरूपमा सञ्चालन गर्न सफल भएको बताउनुभयो ।
उद्घाटन कार्यक्रम भक्तपुर साकोसको बाँसुरी र वीणाको धुनमा पार्टी अध्यक्ष बिजुक्छेँले पानस प्रज्ज्वलन गरी उद्घाटन गर्नुभएको थियो ।
बन्द सत्रले लक्ष्मीप्रसाद गोराको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्य समिति गठन गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *