भर्खरै :

मोदीको गुञ्जी भ्रमणबारे राजदूत शर्मासित स्पष्टीकरण लिनुपर्छ

मोदीको गुञ्जी भ्रमणबारे राजदूत शर्मासित स्पष्टीकरण लिनुपर्छ

जुम्ला, २९ असोज । “भारतीय प्रधानमन्त्री मोदी नेपालको भूमि गुञ्जीका सेनासहित प्रवेश गरेको बारे दिल्लीस्थित नेपालको राजदूत शङ्कर शर्माले नेपाल सरकारलाई जानकारी दिनुपथ्र्यो । राजदूत शर्माले दिएको जानकारीअनुसार नेपाल सरकारका प्रतिनिधिले नेपाली भूमि गुञ्जीमा भारतीय प्रधानमन्त्री मोदीलाई स्वागत गर्नुपर्ने थियो । राजदूत शर्माले भारतीय प्रम मोदीको गुञ्जीमा प्रवेशबारे नेपाल सरकारलाई जानकारी नदिनु राजदूत शर्माबाट जिम्मेवारी बहन नहुनु हो । राजदूत शर्मालाई काठमाडौँ बोलाई स्पष्टीकरण लिनुपर्दछ र बर्खास्त गर्नु आवश्यक छ ।”
उक्त भनाइ नेपाल मजदुर किसान पार्टीका सचिव एवम् प्रतिनिधिसभा सदस्य प्रेम सुवालले रेडियो खुला आकाश जुम्लाका भीम कसिङ्गरसँग राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विषयमा आइतबार कुराकानी गर्दै व्यक्त गर्नुभएको हो ।
उहाँले भन्नुभयो, “भारतीय प्रधानमन्त्री मोदीको नेपाली भूमि गुञ्जीमा प्रवेश गरेको बारे सिंहदरबारका उच्चपदस्थ कर्मचारी, मुख्य सचिव र सचिवहरू पनि जिम्मेवार छन् । सरकारी कर्मचारीहरू भारतले नेपालमा हस्तक्षेप गरे पनि सिंहदरबार यथावत रहने र आफ्नो जागीर सुरक्षित हुने ठान्नु देश र जनताप्रति घात नै हो ।”
“नेपाल मजदुर किसान पार्टीले पञ्चायती शासनको जोखिम सामना गरी कर्णालीमा कम्युनिस्ट आन्दोलनको बीउ छरेको थियो । बहुदलको ३४ वर्षयता सरकारमा गएका नेका, एमाले र माओवादी नेतृत्वमा बनेका सरकारहरूले देश र जनताको हितमा काम गरेनन् । कोशी र गण्डक सम्झौताको विरोध गरेका एमाले र माओवादीहरूले सरकारमा गएर महाकाली, माथिल्लो कर्णाली, अरूण तेस्रो, पश्चिम सेती, तिला १, तिला २, मुगु कर्णाली भारतीय एकाधिकार पुँजीको हातमा सुम्पिदिए । गएको जेठ महिनामा दिल्ली पुगेका माओवादी नेतृत्वको गठबन्धन सरकारका प्रधानमन्त्री पुष्पकमल दाहालले फुकोट कर्णाली भारतीय प्रम मोदीलाई दिए,” उहाँले भन्नुभयो ।
उहाँले आफूलाई कम्युनिस्ट दाबी गरेका माओवादी, एकीकृत समाजवादी र राजमोले नेपाली काङ्ग्रेससँग निर्वाचन गठबन्धन गरे भने राजमोले सङ्घीयता खारेज गर्नुपर्ने नारा दिए पनि २०७२ सालमा सङघीयतामै उपप्रधानमन्त्री भएको उल्लेख गर्दै शासक दलहरू गाँसेगुसे एकै नासे भएको बताउनुभयो ।
उहाँले भन्नुभयो, “बेलायती र अमेरिकी साम्राज्यवादले प्यालेस्टाइनीहरूको भूमिमा यहुदीहरूलाई बसोबास गराई इजरायल देश घोषणा गराई प्यालेस्टाइनीहरूलाई राज्यविहीन बनाए । शासक दलहरूले युद्धग्रस्त क्षेत्र इजरायलमा नेपालका कृषि विषयमा स्नातक गरेका विद्यार्थीहरू र अन्य युवाहरूलाई रोजगारीमा पठाएकै कारण नेपाली विद्यार्थीहरूको मृत्यु भएको हो ।”
उहाँले सरकारहरूले कृषि पढेका विद्यार्थीहरूलाई कर्णालीको फलफुल, खाद्यान्न, जडीबुटीको विकासमा काम दिएका भए भारतबाट दाल, तरकारी, चामल किनेर खानुपर्ने अवस्था आउने नआउने विचार व्यक्त गर्दै जुम्लाको तिला नदी, जवा नदी, हिमा नदी, जुगाड नदीलाई प्रदूषणयुक्त बनाउन सम्पूर्ण जनता, जनप्रतिनिधि, प्रशासन, प्रहरी मिलेर योजना बनाउनु जरुरी छ भन्नुभयो । सरकारहरूले कर्णालीका नदीहरूबाट जलविद्युत् उत्पादन गरी जनतालाई सस्तोमा उपलब्ध गराउनुपर्ने पनि उहाँले जोड दिनुभयो ।
उहाँले भन्नुभयो, “राजा र राजतन्त्रले सामन्तवर्गको प्रतिनिधित्व गर्छ । कसैले राजतन्त्र फर्काउने दाबी गर्नु केटाकेटी बेलाको लुगा ठूलो हुँदा लगाएजस्तै हुनेछ ।”

Leave a Reply

Your email address will not be published. Required fields are marked *