भर्खरै :

गैरआवासीय नागरिकलाई नागरिकता र नेपालको अर्थतन्त्र

गैरआवासीय नागरिकलाई नागरिकता र नेपालको अर्थतन्त्र

गैरआवासीय नेपालीहरूलाई नागरिकता दिन सुरू भएको समाचार सरकारी र गैरसरकारी सञ्चारमाध्यमहरूमा छायो । प्रधानमन्त्री पुष्पकमल दाहालले गैरआवासीय नेपाली सङ्घका नेताहरूलाई आर्थिक, सामाजिक र सांस्कृतिक अधिकारसहितको नेपाली नागरिकता प्रदान गरे । समाचार सुन्दा पढ्दा सामान्यजस्तो लाग्छ तर यसको परिणाम असामान्य पनि हुनसक्छ । गैरआवासीय नेपालीहरू हिजो नेपाली नागरिक भए पनि आज नेपाली नागरिक होइनन् । नेपालको नागरिकता त्यागेर विभिन्न देशको नागरिकता लिएर त्यो देशको अहितमा कुनै कार्य वा क्रियाकलाप गर्दिनँ भनी शपथ लिएका मानिसहरू हुन् । गैरआवासीय नेपाली सङ्घका नेताहरूले धेरै वर्षदेखि आर्थिक अधिकारसहितको नेपाली नागरिकता माग गर्दै आएका थिए ।
नेपाल प्राकृतिक स्रोत साधनमा धनी छ तर यसको उपयोग नेपालले राम्ररी गर्न सकेको छैन । विदेशी एकाधिकार पुँजीको नजर सधैँ नेपालको प्राकृतिक स्रोधसाधनबाट नाफा कमाउनेमा रहँदै आएको छ । गैरआवासीय नेपालीमध्ये केही नेपालको विकासको निम्ति काम गर्ने भावनाका छन् भने केही नाफाको निम्ति जे पनि गर्ने प्रवृत्तिका छन् । नाफाको निम्ति जे पनि गर्नेहरू विदेशीहरूको पुँजी लिएर नेपालको हितविपरीतका उद्यम गर्न नेपाल आउनेमा कुनै शङ्का छैन । तिनीहरूकै पुँजी अरूको भन्दा ठुलो हुने गर्दछ । त्यो पुँजीसित नेपालका राष्ट्रिय पुँजीपतिवर्गले प्रतिस्पर्धा गर्न सक्नेछैन । नेपालको पर्यटन, जलस्रोत, खानी प्रयोग, कृषि, पशुपालनलगायत शिक्षा र स्वास्थ्य समेत विदेशी पुँजीको हातमा पर्न जान बेर लाग्ने छैन । अर्थतन्त्र जसको हातमा हुन्छ, देशको सार्वभौमसत्ता उसकै हातमा पर्ने विश्व इतिहासले देखाएको तथ्य हो । भोलि नेपालको सार्वभौमसत्ता कमजोर हुने वा विदेशीको हातमा पुग्ने खतरा तड्कारो छ । रहरमा चालेको आजको कदम भोलि विषवृक्ष बन्न सक्नेतर्फ नेपाली जनता सचेत रहनैपर्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *