भर्खरै :

मार्गनिर्देश र सुसूचित गर्न रचनात्मक काम

सांस्कृतिक विविधताले भरिएको यो देशमा नेपालीहरूको आफ्नै संस्कृति र मौलिकता छ । विभिन्न जनजाति, धर्म, भाषाभाषीहरूको आ–आफ्नो संस्कृति यहाँ मनाइने विभिन्न चाडपर्वसित सम्बन्ध गाँसेको हुन्छ । नेपाली जनताको जनजीवनसित यहाँ मनाइने चाडपर्वको सम्बन्ध रहेको हुन्छ । यसकारणले पनि संस्कृतिलाई जीवन्तता दिनुपर्ने हुन्छ । संस्कृति या चाडपर्व विज्ञानसम्मत हुनुपर्ने संस्कृति विश्लेषकहरूको भनाइ छ । संस्कृतिलाई जीवन्तता दिने नाउँमा अन्धपरम्परालाई छोड्नुपर्ने उनीहरूको दाबी हो । यहाँका विभिन्न संस्कृतिमध्ये दसैँ पनि एक हो ।
मुख्य मुख्य चाडपर्व नजिकिएसँगै बजार भाउ बढ्छ । कहिले अभावको नाउँमा मूल्यवृद्धि हुन्छ भने कहिले बढी खरिद गर्ने भएर मूल्य बढाइएको हुन्छ । यहीँ बेला गुणस्तरहीन मालसामानको व्यापार हुन्छ । सरकारले बजारको मूल्यमा एकरूपता कायम गर्नुपर्ने हो, हरेक पसल पसलमा मूल्यसूची राख्नुपर्ने हो । सरकारले लागु गरेको उपभोक्ता नियमावली र उपभोक्ता संरक्षण ऐन व्यवहारमा लागु गरिएको भए धेरै हदसम्म मूल्यमा एकरुपता हुन्छ र गुणस्तरहीन या अखाद्य वस्तु बिक्री हुँदैन र उपभोक्ताहरूको स्वास्थ्यमा असर पर्दैन ।
चालु आर्थिक वर्ष २०८०÷०८१ मा वार्षिक बिन्दुगत मुद्रास्फीति (मूल्यवृद्धि दर) नियन्त्रणभन्दा माथि पुगेको बताइएको छ । नेपाल राष्ट्र बैङ्कले मङ्गलबार सार्वजनिक गरेको भदौ महिनासम्मको आर्थिक तथा वित्तीय स्थिति विषयक प्रतिवेदनमा सो कुरा उल्लेख गरिएको हो । पेट्रोलियम पदार्थको मूल्य बढेको छ । नेपाली बजारमा वस्तु तथा सेवाको माग न्यून भए पनि महँगी कसरी बढ्यो भन्ने प्रश्न अर्थशास्त्रीहरूले गरिरहेका छन् । अर्थतन्त्र पनि चलायमान हुन सकेन । कालोबजारी हुनु त स्वाभाविकजस्तो भइसकेको छ । त्यसमाथि भारतले चामल निर्यातमा प्रतिबन्ध लगायो । अहिले चिनी अभाव देखिएको छ । त्यसको पनि मूल्य बढेको छ । सरकार र सरकारका सरोकारवाला निकायहरू महँगी नियन्त्रण गर्ने पाइला चाल्दैनन् र अनुगमनमा निरन्तरता दिँदैनन् । व्यापारीहरू पनि चाडपर्वमा नै मूल्यवृद्धि गर्छन् । यी सबैको मार सर्वसाधारण जनतामा पर्छन् ।
यही समयमा चोरीचकारी बढेको हुन्छ । यही बेला गहना लुटपाटको घटना बढी हुन्छ । यही बेला बढी खर्च हुन्छ । कति युवाहरू त फुर्सदको समय भन्दै जुवा तास खेलमा व्यस्त हुन्छन् । जसोतसो खाई बचत गरिएको रकम जुवातास खेलेर सकाइन्छ । जुवा तास खेलेरै कतिको घरको गहना सकाइएको हुन्छ । रक्सी सेवन पनि यही समयमा बढी हुन्छ । रक्सी सेवनको कारण घर परिवारका सदस्यमात्र होइन, दाजुभाइ र छरछिमेकमाझ झगडा हुन्छ । जात्रामा किनमेल बढ्ने, जहाँतहीँ फाल्ने भएकोले यस्तै समयमा बढी फोहर देखिन्छ । यसकारण, दसैँको यो समयमा आफ्नो घर आँगनमात्र होइन टोल, चोक आदि पनि सफा गर्नुपर्छ, सफा, सुन्दर र स्वच्छ राख्नुपर्छ ।
दसैँमा बिदा हुन्छ । बिदाको समय रमझम गरेर बिताउनुभन्दा सरसफाइ कार्यक्रम विभिन्न पुस्तकको अन्तरक्रिया, समीक्षा, प्रवचन आदि रचनात्मक गतिविधि गरिरहनुपर्ने हुन्छ । नयाँ पुस्तालाई मार्गनिर्देश गरेर सुसूचित पार्ने अवसर पनि एक हो दसैँ । देश विदेशबारे प्रशिक्षित बनाउने, कार्यक्रममा सरिक गराएर सक्रिय बनाउनेतर्फ टोलका बुद्धिजीवी, शिक्षक, समाजसेवी तथा राजनीतिक कार्यकर्ताहरू लाग्नुपर्छ । यस्ता क्रियाकलापले नयाँ पुस्ताका व्यक्ति र युवाहरू गलत बाटोमा लाग्ने छैनन्, उनीहरू सुसूचित हुनेछन् । यसले आदर्शाेन्मुख समाज स्थापनामा टेवा पुग्नेछ । यसतर्फ सम्बन्धित सबैको ध्यान जानु आवश्यक छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *