भर्खरै :

“शिक्षकहरू योग्य नभइकन नयाँ पुस्ता युग सुहाउँदो हुँदैन”

“शिक्षकहरू योग्य नभइकन नयाँ पुस्ता युग सुहाउँदो हुँदैन”

भक्तपुर, २ कार्तिक । भक्तपुरका सामुदायिक माध्यमिक विद्यालयहरूको संयुक्त परीक्षा समितिको आयोजनामा दशमी, शुभ दीपावली तथा छठ पर्व २०८० को अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रममा नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) ले शिक्षकहरू योग्य नभइकन नयाँ पुस्ता युग सुहाउँदो नहुने हुँदा शिक्षकहरू हरदृष्टिले योग्य भइराख्नुपर्नेमा जोड दिनुभयो ।
कुनै बेला एक शिक्षकले ‘नेपोलियन र बोनापार्ट’ भनेर पढाउँदा उनको जागिरै गएको स्मरण गर्दै उहाँले अर्का एक शिक्षकले सार्वभौमिकताको गलत व्याख्या गर्दा जागिर गएको चर्चा गर्नुभयो । उहाँले भन्नुभयो, “आजका नयाँ पुस्ता कतिपय अवस्थामा शिक्षकभन्दा धेरै अगाडि बढेका हुन्छन्, यस्तो अवस्थामा शिक्षकको स्तर नबढे त्यस्ता विद्यार्थीले शिक्षकलाई नटेर्न सक्छन् । त्यसैले शिक्षकले आफ्नो स्तर उठाउनुको विकल्प छैन ।”
एक ज्येष्ठ फ्रान्सेली शिक्षकले जीवनको उत्तराद्र्धमा पनि चिनियाँ भाषा सिकेर चिनियाँ कम्युनिस्ट पार्टीको सदस्यता हासिल गरेको उल्लेख गर्दै उहाँले सिक्नलाई उमेरले नछेक्ने दृष्टान्त दिनुभयो । उहाँले भन्नुभयो, “वर्तमान चीनको प्रगतिको मुख्य आधार नै बरोबर बैठक भइरहनु हो, बैठकले सामूहिक भावनाको विकास हुनेमात्र नभई गल्ती पनि कममात्र हुने हुन्छ । बैठक बस्ने संस्कारमा कन्जुस्याइँ नगरौँ ।”
दसैँ बिदाको उपयोग पुस्तक पढेर, पढेको पुस्तकको समीक्षा लेखेर गरौँ भन्दै उहाँले पुस्तकालय जाने बानी बसाल्न, नयाँ पुस्तालाई पुस्तक उपहार दिन र घर घरमा अध्ययन कक्ष बनाई पठन संस्कृति बसाल्न आग्रह गर्नुभयो ।
उहाँले भन्नुभयो, “पुँजीवाद स्वयं एउटा पाप हो । ठूला भन्ने शिक्षक सङ्गठनहरू नै डलरको लोभ गर्छन् । शिक्षामा सरकारले लगानी गर्नु हुँदैन भन्ने पुँजीवादीहरू तर्क गर्छन् ।” आफूले संसद्मा त्यसको विरोध गरेको चर्चा गर्दै उहाँले विदेशीले नेपालको शिक्षामा लगानी गर्नुको उद्देश्य आफ्नो देशमा सस्तोमा शिक्षित जनशक्ति आपूर्ति गर्नको लागि हो भन्नुभयो ।
उहाँले इजरायलले अस्पतालमा समेत हमला गरेर मानवाधिकार हनन गरेको र इजरायल अमेरिकाको इसारामा चल्ने देश हो भन्नुभयो । अमेरिकामा साँच्चै प्रजातन्त्रभन्दा पनि सैनिकतन्त्रको बोलावाला छ भन्दै उहाँले संसारका ८० देशमा ८ सत्न्दा बढी व्यारेक राखेको दृष्टान्त दिनुभयो ।
नेपाल सरकारले १०० बेडको आफ्नै अस्पताल नभएको भनी नर्सिङ कलेज बन्द गर्नु भारतको स्वार्थमा रहेको तथ्यले पुष्टि गर्छ भन्दै उहाँले नेपालमा नर्सिङ कलेजहरू बन्द गर्नु र भारतले नेपालको सीमावर्ती क्षेत्रमा सयौँ नर्सिङ कलेजहरू खोल्नु कुनै संयोग होइन भन्नुभयो ।
देशको अर्थतन्त्र विदेशी दलाल पुँजीपतिवर्गको हातमा पर्दै गएकोमा चिन्ता व्यक्त गर्दै उहाँले देशको बजेट निर्माणमा तिनीहरूले हस्तक्षेप गर्न थालेका छन्† त्यसैको परिणामस्वरूप देशको कलकारखाना निजीकरण गरिएको हो भन्नुभयो ।
राजनीति देश र जनताको सेवा गर्न हो, शिक्षकमा राजनीतिक चेत नभए विद्यार्थीलाई समसामयिक घटना परिघटनाको जानकारी दिन नसक्ने उल्लेख गर्दै उहाँले पार्टी प्रकाशनहरूको अध्ययन गोष्ठी, अन्तरक्रिया र समीक्षा कार्यक्रमहरू गर्न सुझाव दिनुभयो ।
कार्यक्रममा नेपाल क्रान्तिकारी शिक्षक सङ्घका केन्द्रीय अध्यक्ष ज्ञानसागर प्रजापतिले दसैँलाई रचनात्मक ढङ्गले मनाउन आग्रह गर्दै विद्यालय शिक्षा विधेयकमा शिक्षक सङ्घको तर्फबाट ७६ बुँदा संशोधन हालेको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “शिक्षा विधेयक संशोधनमा जिशिका खारेज गरी स्थानीय पालिकालाई सबल बनाउनुपर्नेलगायत शिक्षकका हकहितका बुँदाहरू रहेका छन् ।”
शिक्षामा देशको कुल बजेटको कम्तीमा २४ प्रतिशत लगानी गर्नुपर्ने, राष्ट्रसेवक कर्मचारी, सेना, प्रहरी, शिक्षकका सन्तान सार्वजनिक स्कुलमै पढाउनुपर्नेलगायतका नीति अँगाल्नुपर्ने भन्दै उहाँले शिक्षकको राजनीतिक, मौलिक अधिकार हनन गर्न नपाइने र वाक् तथा प्रकाशन स्वतन्त्रतामाथि प्रतिबन्ध लगाउन नपाइनेमा जोड दिनुभयो ।
आयोजक समितिका अध्यक्ष एवं शारदा माविका प्रअ रोशनराज तुइतुईको सभापतित्वमा भएको उक्त कार्यक्रममा नेक्राशिसङ्घ भक्तपुर जिल्ला समितिका अध्यक्ष एवं गणेश मावि भार्वाचोका प्रअ गणेशराम थुसा, जोरपाटी मावि चित्तपोलका प्रअ हरिप्रसाद ढकाल, पञ्चकन्या मावि सुडालका प्रअ नारायणप्रसाद दुलाल, बासु माविका प्रअ अम्बिका न्याइच्याईँ र समितिका सचिव लक्ष्मीनारायण दुवालले पनि शुभकामना मन्तव्य दिनुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *