रास्वपाको राष्ट्र सङ्घमा सम्बोधन अध्ययन – २
- कार्तिक १०, २०८३
भक्तपुर, २ कार्तिक । “आदर्श समाजमा सबै मानिसहरूको सांस्कृतिक स्तर राम्रो भइसकेको हुन्छ । उक्त समाजमा प्रहरी, अदालत, जेल आवश्यक हुँदैन । तिम्रो र मेरो भन्ने नै हुँदैन । त्यसैले युद्धको सम्भावना पनि हुँदैन । युद्धमा हुने खर्चबाट विश्वको शिक्षा र स्वास्थ्यलगायत विकास निर्माणको खर्चको व्यवस्थापन गर्न सकिन्छ । विश्वको आर्थिक विकासमा सहयोग हुनेछ । आदर्श समाजको निर्माणको लागि हामी सक्रिय हुनु आवश्यक छ ।”
उक्त विचार नेपाल मजदुर किसान पार्टीका सचिव एवं सांसद प्रेम सुवालले पर्यटक पथप्रदर्शकहरूको भेला तथा शुभकामना आदानप्रदान कार्यक्रममा व्यक्त गर्नुभएको हो । उहाँले सरकारमा गएका नेताहरूको सांस्कृतिक स्तरको कमीले भ्रष्टाचार, तस्करी, भूमाफिया, देशका युवाहरू विदेश पलायन (मानव तस्करी) बढ्दै गएको, एमसीसीजस्ता देशघाती सम्झौता गरेको र देशको कोसी, गण्डकी, महाकाली र कर्णालीलगायतका नदीनालाहरू भारतलाई सुम्पेकोले आज हाम्रो देश गरिब देशको सूचीमा पर्न गएको बताउनुभयो ।
अहिलेसम्मका सरकारहरूले सियोसमेत नबनाएको र भएका उद्योग कलकारखानाहरू पनि कौडीको मोलमा निजीकरण गरी देशको उत्पादनशून्य बनाउनुका साथै कृषिप्रधान देशको नाम जपेर आवश्यक मल कारखानासमेत नबनाई वैदेशिक आयातमा भरपर्नुपर्ने अवस्था सृजना गरेकोले देशको आर्थिक अवस्था झन् कमजोर बनाउँदै लगेको सांसद सुवालले बताउनुभयो ।
उहाँले अहिले विश्वमा बडाराष्ट्र अहड्ढारवादले अशान्तिको वातावरण सृजना भएको बताउँदै प्यालेस्टाइनहरूले आफ्नो देशको अस्तित्वको लागि सङ्घर्ष गरिरहेको बताउनुभयो । उहाँले व्यक्तिगत स्वार्थ नभएका मानिसहरू अभय हुने चर्चा गर्दै भारतीय प्रधानमन्त्री मोदीले बिनासूचना कूटनैतिक मर्यादाविपरीत नेपाली भूमि कालापानीमा भ्रमण गर्दा पनि चुइँक्क बोल्न नसक्ने शासकहरू भारतीय दलाल साबित हुँदै छन् भन्नुभयो ।
उहाँले भन्नुभयो, “हाम्रा पथप्रदर्शकहरूले पनि देशको भूगोल, कूटनैटिक व्यवहार, इतिहास, कला, संस्कृति, सम्पदालगायतका विषयहरूमा अध्ययन गरी राजनैतिकरूपले सुसंस्कृत हुनुपर्छ र पर्यटकहरूलाई सही सूचना दिनुपर्छ । जनताको कुरा नसुन्ने र जनताको सेवालाई प्राथमिकता नदिने सरकार र मन्त्रीहरू नालायक हुन्छन् ।”
कार्यक्रममा भक्तपुर नगरपालिकाका उपप्रमुख रजनी जोशीले भक्तपुरलाई पर्यटकीय गन्तव्य स्थलको रूपमा विकास गर्न नेपाल मजदुर किसान पार्टीका अध्यक्ष एवं वरिष्ठ राजनीतिज्ञ नारायणमान बिजुक्छेँ (रोहित) द्वारा लिखित ‘सय वर्षपछिको भक्तपुर’ पुस्तक मार्गनिर्देशक भएको बताउनुभयो । उहाँले पथप्रदर्शकहरूले भक्तपुरलाई विश्वमा चिनाउने कार्य गर्ने हुँदा अध्ययनमा जोड दिनुपर्ने बताउनुभयो ।
कार्यक्रमका सभापति एवं पथप्रदर्शक परिचालन समितिका संयोजक गौतमप्रसाद लासिवाले पथप्रदर्शकहरू सद्भावना राजदूतको रूपमा कार्य गर्ने भएकोले आफ्नो सकारात्मक व्यवहारले पर्यटकहरूलाई प्रभावित गर्न सक्ने हुनुपर्छ भन्नुभयो ।
उहाँले पथप्रदर्शकहरूले गर्ने व्यवहारबाट रोजगारीको अवसर सृजना हुने हुँदा आफ्नो व्यक्तिगत स्वार्थभन्दा संस्थागत र समाजको हितबारे ध्यान दिनुपर्ने बताउनुभयो । उहाँले पथप्रदर्शकहरू लागुपदार्थ, मादक पदार्थ, जुवा ताँसजस्ता विकृतिबाट टाढा रहनुपर्ने र संस्कृतिलाई अध्ययन र रचनात्मक गतिविधिबाट थप रोचक बनाउन सकिने बताउनुभयो ।
कार्यक्रममा भक्तपुर पर्यटन विकास समितिका अध्यक्ष दिपेशराज शर्मा, भक्तपुर नगरपालिका वातावरण तथा पर्यटन समितिका सदस्यहरू उपेन्द्र सुवाल, मञ्जु लाखाजु, पथप्रदर्शक परिचालन समितिका सदस्यहरू रामसुन्दर भेले, पथप्रदर्शकहरू सुरेश परियार र श्रीजन प्रजापतिले शुभकामना मन्तव्य राख्नुभएको थियो ।
Leave a Reply