भर्खरै :

‘जनताको साहित्य र साहित्यकार’ पुस्तकलाई आधार बनाएर साहित्य लेखनबारे प्रशिक्षण दिनु उपयुक्त हुने

‘जनताको साहित्य र साहित्यकार’ पुस्तकलाई आधार बनाएर साहित्य लेखनबारे प्रशिक्षण दिनु उपयुक्त हुने

भक्तपुर, ४ कार्तिक । “वरिष्ठ साहित्यकार हरिबहादुर श्रेष्ठले लेख्नुभएको ‘जनताको साहित्य र साहित्यकार’ पुस्तकलाई आधार बनाएर नयाँ पुस्तालाई साहित्य लेखनबारे विद्यालयहरूले प्रशिक्षण दिनु उपयुक्त हुनेछ ।”
उक्त भनाइ नेपाल मजदुर किसान पार्टीका सचिव एवं सङ्घीय सांसद प्रेम सुवालले विजया दशमीको अवसरमा शनिबार भक्तपुर नगरपालिकाद्वारा आयोजित शुभकामना तथा पुरस्कार वितरण कार्यक्रममा व्यक्त गर्नुभएको हो ।
गीत, सङ्गीत र नृत्य विधा विद्यालयको पाठ्यक्रममा राख्नु उपयुक्त हुने धारणा राख्दै सांसद सुवालले विद्यालयहरूमा प्रशिक्षकहरूको व्यवस्था गरेर नयाँ पुस्तालाई चित्रकलाको प्रशिक्षण दिनुपर्ने सुझाव दिनुभयो ।
पालिकाहरूमा कृषिमा स्नातक गरेकाहरूलाई रोजगारी दिएर खाद्यान्न र फलफुल नेपालमै उत्पादन गरी दाल, चामल, तरकारी आयातमा भइरहेको व्यापारघाटा न्यून गर्नुपर्ने र वातावरण विषय अध्ययन गरेका विद्यार्थीहरूलाई हरेक पालिकामा रोजगारी दिएर मानव स्वास्थ्य अनुकूल वातावरण तयार गर्ने कार्यक्रम अगाडि बढाउनुपर्ने आवश्यकता उहाँले औँल्याउनुभयो ।
मानव बस्तीको बिचमा ध्वनि, धुवाँ, रसायन प्रदूषण फैलाउने उद्योगहरू रहेको भक्तपुर औद्योगिक क्षेत्रलाई स्थानान्तरण गर्ने विषयलाई भक्तपुर नगरपालिकाले अगाडि बढाउनु जरूरी रहेको सांसद सुवालले बताउनुभयो ।
उहाँले भन्नुभयो, “विद्युत् तार भूमिगत गरिएको राम्रो हो । सँगसँगै सडकमा खनिएका खाल्डाहरू समयमै मर्मत गरिनु उत्तिकै जरूरी छ । लोडसेडिङको बेला अलग विद्युत् लाइन लिएर उद्योग सञ्चालन गरेकाहरूसँग २० अर्बभन्दा बढी रूपैयाँ महसुल नउठाउनु सरकारका मन्त्री र विद्युत् प्राधिकरणका कार्यकारी निर्देशकको गल्ती हो । सर्वसाधारण जनतासँग दुई महिनाको महसुल बाँकी भए लाइन काट्ने तर खराब उद्योगीसँग अर्बौँ रूपैयाँको बिजुली महसुल बक्यौता नउठाउने पक्षपात अन्त्य हुनु जरूरी छ ।”
सचिव सुवालले नेमकिपाको घोषणापत्रअनुसार काम गर्न जनप्रतिनिधिहरूलाई कर्मचारीहरूले सहयोग गर्नु जरूरी रहेको बताउनुभयो ।
पेटी र सडकमा सामान राखी बिक्री गरिँदा साँगुरा ठाउँमा दुर्घटना हुने खतरा भएकोले यसतर्फ भनपा सचेत हुनु जरूरी रहेको सांसद सुवालले उल्लेख गर्नुभयो ।
उहाँले भन्नुभयो, “वर्गीय आन्दोलन रोक्न साम्प्रदायिक द्वन्द्व फैलाउनहरूदेखि सचेत हुनु आवश्यक छ । कुनै अवसर नभए पनि बरोबर धर्म प्रचार गर्नु उपयुक्त होइन ।”
प्रम पुष्पकमल दाहालको भारत भ्रमणको बेला फुकोट कर्णाली जलविद्युत् आयोजना भारतीय विस्तारवादलाई दिएको अर्को देशघात भएको उहाँले स्पष्ट पार्नुभयो ।
सांसद सुवालले भन्नुभयो, “खुला सीमाको कतिपय स्थानमा भारतीय विस्तारवादले सीमा स्तम्भसमेत उखेलेर फाल्ने र नेपालतर्फ सार्ने गरेको बारे शासक दल र तिनका नेताहरू सचेत छैनन् । भारतीय प्रम मोदी नेपालको भूमि गुञ्जीमा सैनिकसहित प्रवेश गरेको बारे प्रम दाहालले कुनै प्रतिक्रिया नदिनु नेपाली भूमि गुञ्जीमा दाबी छोडेजस्तै हो । यो नेपाली जनतालाई स्वीकार छैन ।”
देशको सन्तुलित विकास भए दाल, चामल, तरकारी भारतसँग किन्नुपर्ने स्थिति नआउने सचेत पार्दै उहाँले देशको सन्तुलित विकासको लागि प्रम, मन्त्री, सांसद र उच्च अधिकारीहरू आ–आफ्नो जिल्लामा बसोबास गर्नु जरूरी रहेको बताउनुभयो ।
उहाँले भन्नुभयो, “सिद्धान्तहीन निर्वाचन गठबन्धन र संयुक्त सरकारबाट देश र जनताको हित नहुने अहिले प्रस्ट भइरहेको छ । अन्तर्राष्ट्रिय मुद्राकोषले एसियाकै गरिब देशमा नेपाललाई सूचीकृत ग¥यो, तर प्रम र मन्त्रीहरू लाज मानेका छैनन् ।”
शिक्षा विधेयकमा राष्ट्रियस्तरको एसईई परीक्षा हटाइने व्यवस्था ठीक छैन । राजनीति देश र जनताको इमानदारीपूर्वक सेवा गर्न हो । शिक्षक, प्राध्यापक, कर्मचारीले देश र जनताको सेवाको लागि राजनीति गर्न पाउनुपर्दछ । विधेयकमा शिक्षकरूलाई राजनीति गर्न निषेध गरिएको गलत छ, उहाँले स्पष्ट पार्नुभयो ।
सांसद सुवालले भन्नुभयो, “निजामती सेवा विधेयकमा स्थानीय तहका कर्मचारी पनि समेट्नुपर्ने माग भइरहेको छ । सङ्घमा निजामती कर्मचारी केही हजार भए पुग्छ । जनताको काम हुने स्थानीय तहमा पुग्दो कर्मचारीको व्यवस्था गर्नु जरूरी छ ।”
कार्यक्रमका सभापति एवं भक्तपुर नपाका प्रमुख सुनिल प्रजापतिले जनप्रतिनिधिहरूको दीर्घकालीन सोच र लक्ष्य पूर्तिको लागि नीति कार्यान्वयन गर्ने कर्मचारीहरू भएको हुँदा कर्मचारीहरूले अनुशासित र इमानदारीपूर्वक सेवा गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।
उहाँले भन्नुभयो, “कर्मचारीहरूले इमानदारीपूर्वक चुस्तगतिमा काम गरेमा जनताले सुखानुभूति गर्छन् । कर्मचारीहरूप्रति जनता सकारात्मक भए देशको भविष्यप्रति जनता आशावादी हुनेछन् ।”
भक्तपुर नगरपालिकाले नगरवासीहरूलाई सकृय बनाउन समय समयमा विद्यार्थीहरूको लागि खेलकुद प्रतियोगिता, टोल–टोलमा व्यायामशाला र शारीरिक व्यायामको प्रशिक्षण दिइरहेको चर्चा गर्दै प्रमुख प्रजापतिले भनपाका जनप्रतिनिधिहरूले नेमकिपाको निर्वाचन घोषणापत्रअनुसार देश र जनताको सेवामा काम गरिरहेको बताउनुभयो ।
भनपाका उपप्रमुख रजनी जोशीले बिदाको समयमा स्वास्थ्यबारे चेतना अभियान निरन्तर जारी राखी समुदायमा भिजेर काम गर्न कर्मचारीहरूलाई सुझाव दिनुभयो ।
भनपा–७ का वडाध्यक्ष उकेश कवांले अहिलेको प्रतिस्पर्धी समाजमा विद्यार्थीहरूले अझ बढी मिहेनत गर्नुपर्ने तथा भक्तपुर पर्यटकीय गन्तव्यस्थल भएकोले कर्मचारीहरूले चाडपर्वको समयमा सरसफाइलाई विशेष ध्यान दिनुपर्ने बताउनुभयो ।
कार्यक्रममा भनपा–९ का वडाध्यक्ष रवीन्द्र ज्याख्व, भनपा–५ का वडाध्यक्ष योगेन्द्रमान बिजुक्छेँ र शिक्षा शाखाका साधुराम फुयाँलले पनि बोल्नुभएको थियो ।
कार्यक्रममा प्रमुख अतिथि सुवालले चित्रकला, वक्तृत्वकला र निबन्ध प्रतियोगितामा पुरस्कृत हुने विभिन्न विद्यालयका १७ जना विद्यार्थीहरूलाई प्रमाणपत्र र नगद पुरस्कार वितरण गर्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *