कसिमलापाँय् र हस्तलेखन प्रतियोगिता सम्पन्न
- आश्विन १४, २०८१
भक्तपुर, ४ कार्तिक । प्रभात इङ्गलिस सेकेन्डरी स्कूलको एसएलसी – २०७२ समूहद्वारा आयोजित मैत्रीपूर्ण फूटसल प्रतियोगिताको उद्घाटन नेपाल मजदुर किसान पार्टीका सचिव एवं सांसद प्रेम सुवालको आतिथ्यमा शनिबार सम्पन्न भयो ।
कार्यक्रममा सांसद सुवालले खेलकुद मित्रता, अनुशासन र स्वास्थ्यको लागि हुनुपर्ने चर्चा गर्दै प्रतियोगितामा हुने हारजित अस्थायी हुने तर प्रतियोगिताको माध्यमबाट कायम हुने मित्रता स्थायी हुने बताउनुभयो ।
खेलकुदले शरिरको अङ्ग प्रत्यङ्ग बलियो बनाउने चर्चा गर्दै व्यायामशाला, खेलकुद भवन र खेल मैदान पर्याप्त भए अस्पताल र स्वास्थ्य केन्द्रहरू थोरै भए पुग्ने भुक्तभोगीहरूको अनुभव रहेको उहाँले बताउनुभयो ।
सांसद सुवालले भन्नुभयो, “स्वास्थ्यको लागि सन्तुलित आहार जरूरी छ । चाडपर्वमा मात्र धेरै खानेकुरा खानु स्वास्थ्यको लागि हानिकारक छ । स्वास्थ्यविज्ञहरू मानिसलाई तरकारी र झोल खानेकुरा धेरै खानुपर्ने सुझाव दिन्छन् । एक परिवारले वार्षिक ७० किलो खानेकुरा फाल्ने गरेको तथ्याङ्क छ । खानेकुरा फाल्नु हुुँदैन ।”
लामो बिदाको बेला नयाँ नयाँ पुस्तक अध्ययन गर्नु जरूरी रहेको सुझाव दिँदै उहाँले भन्नुभयो, “दसैँको मुखमा भक्तपुरमा दुई ओटा नयाँ पुस्तक सार्वजनिक भयो† पहिलो नेपाल क्रान्तिकारी किसान सङ्घको ‘किसान सङ्घर्ष’ र दोस्रो नेपाल क्रान्तिकारी युवा सङ्घको ‘रूसको डिसेम्बर विद्रोह जारविरूद्ध षड्यन्त्र’ । यी पुस्तकहरू अध्ययन गरी छलफल र अन्तरक्रिया गर्ने आशा गर्दछु ।”
चिकित्सकहरूले पत्रु खाना (तयारी खाना) नखान सुझाएको उल्लेख गर्दै सांसद सुवालले पत्रु खानालगायत नरम पिउने पदार्थले पेटको खराबी गर्नेतर्फ सचेत गराउनुभयो ।
उहाँले भन्नुभयो, “नयाँ पुस्ता मादक पदार्थ र धूमपानबाट पनि टाढा हुनु जरूरी छ । नयाँ पुस्ताले खेलकुदसँगसँगै साहित्य, गीत–सङ्गीत, नृत्यमा पनि चाख राख्नुपर्छ । नृत्य पनि स्वयम् एउटा व्यायाम हो ।”
प्रभात इङ्गलिस स्कूल भूतपूर्व विद्यार्थी समिति (पेशा) का अध्यक्ष निर्जन दुवालको सभापतित्वमा भएको उक्त कार्यक्रममा विद्यालयका अतिरिक्त क्रियाकलाप समितिका अध्यक्ष गौतमप्रसाद लासिवा र विद्यालयका प्राचार्य वदनकेशरी प्रजापतिले शुभकामना मन्तव्य राख्नुभएको थियो ।
कार्यक्रममा विद्यार्थी रूसेल शिल्पकारले पनि बोल्नुभएको थियो । प्रतियोगिता आइतबारसम्म चालु रहने र पुरस्कार वितरण पनि आइतबार नै हुने आयोजकले जनाएको छ ।
Leave a Reply