भर्खरै :

रुसको ‘अग्नि परीक्षा’ – १

रुसको ‘अग्नि परीक्षा’ – १
“एसिया शब्द यो ‘अग्नि परीक्षा’ उपन्यासमा जति अरू कुनै पनि रुसी उपन्यासमा प्रयोग भएको छैन ।”
२० औँ शताब्दीका पूर्वाद्र्धका रुसी उपन्यासकार एलेक्सी निकोलेभिच टोल्स्टोय (Alexei Nikolevich Tolstoi) को ‘अग्नि परीक्षा’ (Ordeal) उपन्यासको भूमिकामा उल्लेख भएको वाक्य हो यो । साँच्चै यो उपन्यास ‘रुसमय’ छ । तीन भागमा लेखिएको यो विशाल उपन्यासले सन् १९१७ को रुसी क्रान्तिअघि र क्रान्तिपछिको रुसको चित्रण गरेको छ । सन् १९१७ को क्रान्तिअघि र क्रान्तिको लगत्तै रुसमा आएको सामाजिक विचलन अराजकता, लुटपाट, विध्वंस, प्रथम विश्वयुद्ध र रुसी गृहयुद्धलाई लेखकले रुस र रुसी जनताको अग्नि परीक्षाको संज्ञा दिएका छन् ।
लेखकको परिचय
एलेक्सी निकोलेभिच टोल्स्टाय एक जमिनदार परिवारमा जन्मेका थिए । त्यस समय खान्दानी वा कुलीन वर्गका मानिसहरू आफ्नो जमीन पुँजीपतिहरूलाई बेच्दै थिए र निष्कृय, लम्पट र व्यभिचारको जीवन व्यतीत गर्दै थिए । लेखकका आमा अलेक्ज्यान्द्रा लियोन्टेभ्ना (Alexandra Leontyevna) एक शिक्षित महिला र लेखिका थिइन् । यी सबै विसङ्गतिहरूलाई उनी घृणा गर्थिन् । त्यसैले तिनले लेखकका पितालाई छोडिन् र लेखकको जन्म हुनुभन्दा अघि एक साधारण जग्गाधनी एलेक्सी अपोलोनोभिच बोस्ट्रोम (Alexei Apollonovich Bostrom) सँग विवाह गरिन् ।
एलेक्सी बोस्ट्रोम र लेखककी आमा दुबै नास्तिक र भौतिकवादी थिए । उनको घरमा निर्वासित माक्र्सवादीहरूको आवतजावत थियो र लेखकका झड्केला पिताको उनीहरूसँग विभिन्न विषयमा लामा–लामा बहसहरू हुन्थे । लेखकका अनुसार उनका झड्केला पिताले कार्ल माक्र्सका ‘पुँजी’ लाई कहिल्यै आत्मसात गर्न सकेनन् वा बुझ्न सकेनन् बरु उनी कोम्टे (Comte) र अङ्ग्रेजी अर्थशास्त्रीका दर्शनमै सन्तुष्ट रहन्थे ।
सानै उमेरदेखि लेखकमा पुस्तक पढ्ने बानी बस्यो । उनकी आमा उनलाई लेखक बनाउने इच्छा गर्थिन् र लेख्न प्रेरित गर्थिन् ।
विद्यार्थी कालमा ‘सामाजिक  प्रजातान्त्रिक समूह’ का सदस्य भएका लेखक विद्यार्थी प्रदर्शन र हडतालहरूमा भाग लिन्थे । प्राविधिक क्षेत्रका विद्यार्थी भए पनि उनले लेख्न भने छोडेका थिएनन् ।
सन् १९०६ तिर उनको भेट ‘सडक तथा सञ्चार मन्त्रालय’ का अधिकृत कन्स्टानटिन पेट्रोभिच भ्यान्डरफ्लिट (Konstantin Petrovich Vanderflit) सँग हुन्छ र उनी लेखकलाई प्रतीकवादी (Symbolists) खेमातिर लैजान्छन् । प्रतीकवादीहरूको बिचमा रहेर लेखकले केही कृतिहरू लेखे । ‘नीलो नदीपारि’ (Beyond Blue River) कवितासङ्ग्रह लेखककै भाषामा रुसी लोककला र लोक जीवनसँगको उनको पहिलो सङ्गतको प्रतिफल थियो ।
आफ्नो बाल्यकालका घटनाहरूको स्मरण गर्दै लेखेका कृतिहरूमा कलात्मकता ल्याउन सो प्रतीकवादी वृत्तमा रहेर सहयोग पाएको लेखक बताउँछन् । तर पछि समकालीन जीवन र रहनसहनको बारे लेख्न खोज्दा सो समयको विभिन्न पक्षलाई राम्ररी देखाउन सकेनन् । यसका लागि उनले प्रतीकवादीहरूको ‘आधुनिक जीवनलाई अस्वीकार गर्ने’ प्रतिक्रियावादी टाढा भए ।
तर, देशको वास्तविक अवस्था र जनताका बारेका जानकारी नभएकाले त्यसपछिका आफ्ना रचनाहरू पनि राम्रा नभएको उनको ठम्याइ थियो ।
पहिलो विश्वयुद्धमा युद्ध संवाददाता भएर रुसका विभिन्न भाग र १९१६ मा बेलायत र फ्रान्समा काम गरेपछि उनले साँचो अर्थमा जीवनलाई बुझे, “मैले साँचोरूपमा जीवन देखँे, त्यसमा सहभागी भएँ र प्रतीकवादी विचारको कसिलो कालो ठूलो कोट फुकालेर फ्याकिदिएँ । मैले रुसी जनतालाई देखेँ ।”
त्यसपछि आफ्ना रचनाहरूमा निखार आएको उनी बताउँछन् ।
लेखकको भित्री अनुभवहरूलाई पहिले सङ्केत र पछि शब्दबाट व्यक्त गरेपछि, शब्दको चयन र गठनले सङ्केतको झैँ काम गर्छ भने त्यसलाई साहित्य रचना मान्ने लेखकले धेरै नाटकहरू पनि लेखे ।
१९१८ को शरद्मा उनी सपरिवार युक्रेन गए र पछि पेरिस गए जहाँ सन् १९१९ मा उनले ‘अग्नि परीक्षा’ लेख्न सुरु गरे । उनले प्रवासमै रहँदा ‘अग्नि परीक्षा’ को पहिलो भाग दिदी बहिनी’ निकिताको बाल्यकाल (कथा) र ‘निकिता रस्चिनको बहादुरी’ कृति लेख्नुका साथै पहिले आफूले लेखेका कृतिहरूको सम्पादन गरे ।
१९२१ मा बर्लिनमा सरेपछि उनी ‘स्मेना भेख (Smena Vekh) (परिवर्तित भू–स्वरूप) भन्ने पुँजीवादी राजनैतिक अभियानमा सामेल भए । सोभियत रुसबाट प्रवासमा गएका रुसी प्रतिगामी (श्वेत) बुद्धिजीवीहरूको सो सङ्गठन ‘नयाँ आर्थिक नीति’ ले सोभियत शक्ति ढल्ने दिनको प्रतिक्षा गर्दै थिए । ‘परिवर्तित भू–स्वरूप’ शीर्षकमा उनीहरू लेख, रचना र निबन्धहरू प्रकाशित गर्थे ।
लेखकको सो समूहमा प्रवेशपछि उनका पुराना साथीहरू उनीसँग रुष्ट भए । १९२२ को वसन्तमा उनी र बर्लिन आएका गोर्की साथी भए ।
‘स्मेना भेख’ समूहको प्रतिक्रियावादी र सोभियतविरोधी प्रवृत्तिबारे लेखकमा पूर्ण जानकारी नभएको उनी आफैँ बताउँछन् । १९२२ को वसन्त ऋतुमा उनले ‘एन भी चाइकोभ्स्कीलाई पत्र’ भनी लेख छपाएपछि उनले श्वेत समूहमात्र होइन ‘स्मेना भेख’ वादीहरूसँग नाता तोडेको प्रस्ट भयो ।
त्यसपछि सोभियत सङ्घ फर्केका टोल्स्टायको ‘रुसी सर्वहारा लेखक सङ्घ’ (Russian Association Of Proletarian writers) का नेताहरू र त्रोत्स्कीका समर्थकहरूसँग राम्रो सम्बन्ध रहेन ।
‘रुसी सर्वहारा लेखक सङ्घ’ को दबाबले गर्दा टोल्स्टायले आफ्ना नाटकहरू मञ्चन गर्न पाएनन् । १९२६ मा ‘अग्नि परीक्षा’ को दोस्रो भाग ‘१९१८’ सुरु गरेका लेखकले पहिलेका कृतिहरूमा संशोधन गरिरहे ।
सन् १९३२ मा ‘सर्वहारा लेखक सङ्घ’ को विघटनपछि मात्र उनले आफ्ना नाटकहरू मञ्चन गर्न पाए । उनले फासिस्ट विरोधी सम्मेलनहरूमा दुईपटक भाग लिए । लेनिनग्राड प्रतिनिधिसभा (सोभियत) मा र पछि सोभियत सङ्घको सर्वोच्च सोभियतमा उनी निर्वाचित भए । सोभियत सङ्घको विज्ञान प्रतिष्ठानको सदस्यमा पनि उनी निर्वाचित भए । १९३५ मा उनले ‘अग्नि परीक्षा’ को तेस्रो भाग ‘अँध्यारो प्रभात’ (Black Morning) लेख्न सुरु गरे ।
१९४१ जून २२ का दिन सो उपन्यास लेखी सिध्याउँदा सोभियत सङ्घ दोस्रो विश्वयुद्धको चपेटामा थियो ।
उपन्यासका पात्रहरू र कथानक
‘दिदीबहिनी’ शीर्षककी प्रथम भागमा दुई दिदीबहिनी दासा र काट्या र उनीहरूका प्रेमी टेलेजिन र रस्चिनको कथा छ । यी चार पात्र नै उपन्यासका मुख्य पात्र हुन् । सन् १९१४ मा सुरु भएको पहिलो भाग सन् १९१७ को फेब्रुवरी क्रान्तिको लगत्तै समाप्त हुन्छ ।
उपन्यासको कथानक यी नै चार पात्रको वरिपरि घुमेको छ । काट्याका श्रीमान् निकोलाई इभानोभिच वकिल हुन्छ र काट्याकी बहिनी दासा कानुन पढ्न आफ्ना दिदी भिनाजुसँग बस्न सेन्ट–पिटर्सवर्ग आउँछिन् । त्यहाँ उसको भेट एक इन्जिनियर टेलेजिनसँग हुन्छ । उनीहरू एक अर्कालाई मनपराउँछन् । यता काट्या आफ्नो पतिसँग खुसी हुँदिन र उनी  नाच, नाटक र रमाइलोमै दिन बिताउँथिन् । पत्नी पर–पुरुषसँग लागेपछि निकोलाई आफ्नो पत्नी काट्यादेखि भिन्न बस्छन् । निकोलाई क्रिमियातिर लाग्छ भने काट्या पेरिसतिर । दासा भने परीक्षा सकेर आफ्नो पिता डाक्टर बुलाभिनकहाँ जान्छे । पिताकै सल्लाहअनुसार उनी दिदी भिनाजुलाई मिलाउन क्रिमिया जान्छे भिनाजुकहाँ । रुसभरिका धनीहरू बिदा मनाउन र स्वास्थ्योपचारको लागि जाने क्रिमियाको समुद्री किनारमा केही समय भिनाजुसँगै बस्छे तर पेरिसमा रहेकी उसकी दिदीको कुनै खबर आउँदैन । यही बेला युरोपमा पहिलो विश्वयुद्ध सुरु हुन्छ । टेलेजिन लडाइँमा बोलाइन्छ । लडाइँ सुरु भएपछि निकोलाई मस्को आउँछ र नगर रक्षा सङ्घमा काम गर्न थाल्छ । दासा पनि मस्कोमा घाइते सैनिकहरूको उपचार गर्ने अस्पतालमा नर्स बनेर काम गर्छे । उता अस्ट्रियासँगको युद्धमा टेलेजिन पक्राउ पर्छ र युद्धबन्दी बनाइन्छ । हराएका सैनिकहरूको सूचीमा टेलेजिनको नाम देखेपछि दासा विरक्तिन्छे तर आफ्नो काममा भने लागिरहन्छे ।
काट्या पनि फ्रान्सबाट फर्किन्छे र आफ्ना पतिसँग विगतलाई भुलेर सँगै बस्छिन् । उनी पनि दासासँगै नर्स भएर काम गर्न थाल्छे ।
दुश्मनको कैदबाट भाग्ने टेलेजिनको प्रयास तेस्रो पटकमा सफल हुन्छ । ऊ भागेर रुस आइपुग्छ । उसलाई सेन्ट पिटर्सवर्गको एक कारखानामा काम गर्न पठाइन्छ । त्यसबेला कारखानाका मजदुरहरूको प्रदर्शन सुरु हुन्छ र १९१७ फेब्रुवरीमा रुसमा जारशाहीको अन्त्यसँगै पुँजीवादी क्रान्ति हुन्छ ।
क्रान्तिपछि युद्ध कमिसार नियुक्त भएका निकोलाई एक सैनिक क्याम्पमा सिपाहीहरूद्वारा मारिन्छ । क्रान्तिपछि घर फर्कन चाहने सैनिकहरूलाई लडाइँ जारी राख्न निर्देशन दिएपछि क्रुद्ध भएका सैनिक जवानहरूले निकोलाई कुटेर मार्छन् ।
टेलेजिन र दासाको विवाह भइसकेको हुन्छ । एक्लिएकी काट्या सेन्ट पिटर्सवर्ग आउँछे र उनी एक जवान सैनिक अधिकृत रस्चिनलाई मन पराउन थाल्छे । रस्चिन र काट्याको पे्रमकथा भर्खर सुरु हुन लाग्दा उपन्यासको पहिलो भाग सकिन्छ ।
उपन्यासको दोस्रो भाग ‘१९१८’ सन् ‘१९१७’ को अक्टोबर क्रान्तिपछिको रुसको चित्रण हो । पहिलो भागभन्दा यसमा इतिहासका कुरा धेरै छन् ।
यसमा मुख्य पात्रहरू एक अर्काबाट टाढिन्छन् । थुप्रै नौला पात्रहरूको प्रवेश हुन्छ ।
दाम्पत्य जीवनमा बाँधिसकेका टेलेजिन र दासाको जीवनमा धक्का लाग्छ, दासाले एक पुत्रलाई जन्म दिएको तेस्रो दिनमै उसको मृत्यु हुन्छ । यसले दासालाई मानसिकरूपमा चोट पु¥याउँछ । ऊ एक्लै हुन चाहन्थिन् र टेलेजिनसँग केही समय छुट्टिएर बस्ने कुरा सुनाउँछे । टेलेजिन यो स्वीकार्न बाध्य हुन्छ र ऊ लालसेनामा भर्ती भई लडाइँमा जान्छ ।
यता रस्चिन र काट्याको विवाह भइसकेको हुन्छ । रस्चिनलाई अक्टोबर क्रान्ति मन परेको थिएन । ऊ तल्लो वर्ग शासनमा आउने कुराको विरोधी थियो । क्रान्तिमा भाग लिएका मजदुरहरूलाई ऊ घृणाको दृष्टिले हेथ्र्यो । उसमा कुलीन वर्गको हुँ भन्ने घमण्ड थियो । तर काट्या भने ‘ठिक्कै त छ’ भन्ने गर्थी । यही कुरामा उनीहरूको विचार मिल्दैन र काट्यालाई एक साथीकहाँ छोडी रस्चिन लडाइँमा जान्छ । त्यो क्षेत्रमा श्वेत रक्षक (प्रतिक्रियावादी सेना) थिएन । त्यसैले रस्चिनले श्वेत रक्षकहरूकहाँ पुग्न लालसेनामा भर्ती हुन्छ । लडाइँको समयमा श्वेत सेनातर्फ लाग्न सजिलो हुन्छ भनी ऊ मोर्चाको अघिल्लो पङ्क्तिमा बस्छ । युद्धमा श्वेत सेनासँग जम्काभेट भएपछि ऊ श्वेत सेनातर्फ लाग्छ र सोभियत सेनाको विरुद्ध लडाइँ गर्छ । कुलीन परिवारबाट आएकोले हुँदा लालसेनामा रहँदा उसलाई कसैले विश्वास गर्दैन भने स्वयंसेवक
(श्वेत) सेनामा हुँदा लालसेनाबाट आएको भनी उसलाई विश्वास गर्न अरू हिच्किचाउँछन् । श्वेत सेनामा रस्चिनको केही सिपाहीँहरूसँग खटपट पर्छ र उनीहरूमध्ये एक जनाले काट्यालाई रस्चिनको मृत्यु भएको झूटो खबर दिन्छ । त्यसपछि विरक्तिएकी काट्या रस्चिनको साथीकहाँबाट कुनै काम खोज्न इकाटेरिनोस्लाभतिर लाग्छे ।
टेलेजिन गएपछि दासाको भेट दक्षिणपन्थी वा अनुदारवादी व्यक्तिहरूसँग हुन्छ । उनीहरूले दासालाई गोप्य चिठीपत्र र खबर आदानप्रदान गर्न लगाउँछन् । दासा नजानिँदो किसिमले त्यो क्रान्तिविरोधी गुटको लागि काम गर्न पुग्छिन् । लेनिन उपस्थित भएको मजदुरहरूको सभामा दासालाई जासुसी गर्न पठाइन्छ । टेलेजिन भने सोभियत सेनामा वीरतापूर्वक लड्छ र उसलाई एक सैन्य टुकडीको कमान्डर बनाइन्छ ।
इकाटेरिनोस्लाभ हिँडेकी काट्या चढेको रेलमा अराजकतावादी माख्नो (Makhno) का मानिसहरूले लुटपाट गर्छन् र उनी तिनीहरूबाट बन्दी बनाइन्छन् । तिनीहरूमध्ये एक एलेक्सी क्रासिल्निकोभ थियो । ऊ पहिलो विश्वयुद्धमा रस्चिनका अर्दली थियो र उसका भाइबुहारी माट्रोनासँग काट्या बस्न थाल्छे ।
दासा संलग्न प्रतिक्रियावादी गुटका प्रमुख सडक दुर्घटनामा मारिन्छ र दासा समारामा रहेका आफ्ना पिता डाक्टर बुलाभिनकहाँ पुग्छे । उसका पिता एक चिकित्सक थिए र त्यस स्थानको जनस्वास्थ्य मन्त्रालयका उपसचिव थिए । उनी बोल्सेभिकहरूलाई घृणा गर्थे ।
रस्चिन काट्यालाई एक्लै छोडी आएकोमा पछुतो हुन्छ र सेनाबाट छुट्टी मिलाएर काट्यालाई भेट्न जान्छ । तर टेटकिन (TetKin) (रस्चिनका साथी) कहाँबाट हिँडेकी काट्यालाई रस्चिन भेटाउन सक्दैन । काट्यालाई खोज्दै ऊ इकाटेरिनीस्लाभ जान्छ ।
सेनाको काममा लुकिछिपी श्वेत सेनाको भेषमा समारा आएका टेलेजिनले दासा आफ्ना पिताकहाँ रहेको थाहा पाउँछ र भेट्न जान्छ । दासा टेलेजिनलाई देखेर खुसी हुन्छिन् र आफ्नो गल्तीको माफी माग्छिन् । डाक्टर बुलाभिन एक सोभियत सैनिक आफ्नो घरमा आएको भनी श्वेत सेनालाई खबर गर्छ । टेलेजिनलाई पक्रन सैनिकहरू आउँदा दासा उसलाई भगाउँछे ।
त्यसको केही समयपछि समारामा सोभियत सेनाले धावा बोल्छ । समारा कब्जा गर्ने क्रममा टेलेजिन त्यहाँ आइपुग्दा उसले न दासालाई भेट्छ न बुलाभिनलाई । दुबैको अत्तोपत्तो हुँदैन । यही दोस्रो भाग टुङ्गिन्छ ।
तेस्रो भाग ‘अँध्यारो प्रभात’ मा पनि रुसी गृहयुद्धको चित्रण र वर्णन छ । ‘अँध्यारो प्रभात’ को अर्थ निराशावादी नभई उज्यालो दिनको सुरुवातको रूपमा लिइएको छ ।
यो भाग पनि तिनै पात्रहरूको वरिपरि घुम्छ तर यसमा अझ बढी इतिहासका कुरा छन् । पढ्दै जाँदा इतिहासको पुस्तक पढ्दै गरेको भान हुन्छ ।
यसका पात्रहरू अझ नयाँ ठाउँमा पुग्छन्, नौलो अनुभव बटुल्छन्, विभिन्न पीडा र खुसीका क्षणहरूबाट गुज्रन्छन् र कथा सुखान्तमा टुङ्गिन्छ (संयोगान्त हुन्छ) ।)
समारामा सोभियत सेनाको आक्रमण हुँदा बुलाभिन त्यहाँबाट भाग्छ । आफ्नी छोरी दासालाई पनि ऊ साथै लान चाहन्छ । तर, टेलेजिनसँगको त्यस छोटो भेटपछि बदलिएकी दासा आफ्ना पितालाई घृणा गर्न थाल्छिन् र जान अस्वीकार गर्छिन् । बुलाभिन एक्लै भाग्छ र मारिन्छ । दासा पनि लडाइँको बिचमा समारा छोडेर जान्छे ।
विशाल घाँसे मैदान (Steppe) मा लक्ष्यहीन भौतारिरहँदा उसको भेट कुज्मा कुज्मिच (KuZma Kuzmich) सँग हुन्छ । ऊ पहिलो एक पादरी थियो तर गिर्जाघरको नियमको प्रतिकूल आचरण गरेको हुँदा उसलाई पादरीबाट हटाइएको थियो । ऊ निकै फतफत गरिरहन्थ्यो र निस्फिक्री घुम्थ्यो । यसरी दासा र कुज्मा यात्रामा जाँदा उनीहरू लालसेनाको एक टुकडीद्वारा बन्दी बनाइन्छन् । डा. बुलाभिनकी छोरी भन्ने थाहा पाएर दासामाथि लालसेनाको नजर कडा हुन्छ । तर, ऊ लालसेनाका एक टुकडीका कमान्डर टेलेजिनकी पत्नी हो भन्ने कुरा खुलेपछि भने उसलाई त्यही टुकडीमा नर्सको रूपमा काम गर्न दिइन्छ ।
अनुवाद : सुवेग

Leave a Reply

Your email address will not be published. Required fields are marked *