भर्खरै :

दलको राजनीतिक दृष्टिकोण व्यापक हुनुपर्छ

समाजलाई परिवर्तन गर्ने आधारभूत पक्ष भनेको सही दृष्टिकोणयुक्त राजनीति नै हो । समय अनुकूल देशको व्यवस्था परिवर्तन गर्ने, जनतालाई राहत दिने र सन्तुलित विकास गर्ने आधार पनि राजनीति नै हो । सरकारको नेतृत्व गर्ने राजनीतिक दलहरूको राजनीति र राजनीतिक दृष्टिकोण व्यापक भएन, बहुमत जनताको पक्षमा ऐन कानुन बनाइएन भने देशको मुहार फरिने छैन । दलाल पुँजीवादमा आधारित नवउदारवादी पुँजीवादले श्रमजीवीवर्गको भलो हुँदैन । आदर्शाेन्मुख समाज निर्माण गर्ने हो, शोषणरहित समाज स्थापना गर्ने हो भने समाजवाद र असल राजनीतिक संस्कार आवश्यक हुन्छ । उन्नत समाज स्थापना गर्ने काम बहुमत जनताको प्रतिनिधित्व गर्ने कम्युनिस्ट पार्टीले गर्छ । समाज या समुदायलाई भन्दा व्यक्तिलाई प्राथमिकता दिने पुँजीवादी व्यवस्थाले समाजलाई भाँड्ने काम गर्छ; जनता जुधाउने काम गर्छ; यसले अराजकता फैलाउँछ र द्वन्द्व निम्त्याउँछ ।
राजनीतिक दृष्टिकोण सङ्कीर्ण, साम्प्रदायिक र अल्पमतवर्गको पक्षपोषण भएमा समग्र देशले प्रगति गर्नसक्दैन । देशमा प्रजातन्त्र स्थापना भएको लामो दशकपछि पनि नेपालले विकास गर्न नसक्नुको कारण सीमितवर्गको पक्षमा राजनीति गर्नुले हो । दलगत र व्यक्तिगत स्वार्थ देश विकास नहुनुको अर्काे कारण हो । सरकारको नेतृत्व गर्ने नेता, मन्त्री र सांसदहरू भ्रष्ट भए; पदको दुरूपयोग गरी अकुत सम्पत्ति कुम्ल्याउनेतर्फ लागे; उनीहरूले आ–आफ्नो जिम्मेवारी या दायित्व भुले । देश र जनताभन्दा उनीहरू विदेशमुखी भए । अनियमितता बढ्यो, कालाबजारी भयो, घुसबिना काम भएन । राजनीतिलाई षड्यन्त्रको जाल बनाइयो । सरकार जनउत्तरदायी भएन । सिंहदरबार साँच्चै गाउँमा पुगेन । आयात बढ्यो; निर्यात घट्यो । सार्वजनिक ऋण बढ्यो ।
चालू आर्थिक वर्षको असोज मसान्तसम्ममा भुक्तानी गर्न बाँकी वैदेशिक तथा आन्तरिक ऋण २३ खर्ब ५४ अर्ब ५९ करोड रूपैयाँ पुगेको सार्वजनिक भयो । नेपालको कुल जनसङ्ख्या २ करोड ९१ लाख ६४ हजार पाँच सय ७८ लाई आधार मान्दा प्रत्येक नेपालीको थाप्लोमा ८० हजार ७ सय सार्वजनिक ऋण देखिएको छ । जनताको पैसा ठग्ने, लुट्नेहरूको राज भयो भने के मुलुकको अर्थतन्त्र ओरोलो लाग्दैन ? के आर्थिक स्थिति असाधारण अवस्थामा पुग्दैन ? सरकारी नेताहरू काण्डै काण्डमा मुछिएका छन् । सरकारी नेताहरू आस्थाको आधारमा देशको परराष्ट्र नीति तोड्छन् । आफ्नो पदको मर्यादाको ख्याल गर्दैन । भूमि अतिक्रमण रोकेको छैन । विदेशी सेना पस्दै छ । नेपाली भूमिमा बिनासूचना प्रवेश गरे पनि नेपाल सरकारले बोल्ने आँट गरेको छैन । यहाँका मौलिक मूल्य र मान्यतामा ¥हास हुँदै छ ।
कुकर्म गर्ने र अपराधीहरूको सङ्ख्या बढ्दै छ । महँगीको कुरा गरेर साध्य छैन । अभावै अभावको देश बनेको छ । जनताका आधारभूत कुरा पनि विदेशको भरमा बस्नुपरेको छ । सरकारी नेताहरू विदेशी शक्ति राष्ट्रको उठबसमा चल्छन्, मानौँ नेपाल उनीहरूको क्रिडास्थल हो । स्वदेशमै रोजगारीको व्यवस्था गर्न सकेको छैन । विदेसिने युवाहरूको सङ्ख्या घटेको छैन । स्वच्छ राजनीति भएन । पैसाको भरमा राजनीति चल्छ । पैसाको खोलो बगाएर निर्वाचनमा जितेको हुन्छ । शासकहरू इमानदार भएनन् । सत्ताको चलखेल भइरहेको छ । एकले अर्काको खुट्टा तान्ने, सरकार ढाल्ने र नयाँ सरकार गठन गर्ने खेल भइरहन्थ्यो । सरकार गठन र निर्वाचनमा भागबन्डा भयो । यसकारण, सरकारले निश्चित दिशानिर्देश गर्न सकेन । सरकारको दृष्टिकोण व्यापक देखिएन । यसको परिणाम देश परनिर्भर भयो । सुशासन नाउँमात्रको रह्यो । यसरी देश कसरी बन्छ ? के यो सत्तासीन दलका नेताहरूको कमजोरी होइन ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *