भर्खरै :

स्वास्थ्य तथा फोहोर व्यवस्थापनबारे 

स्वास्थ्य तथा फोहोर व्यवस्थापनबारे 

भक्तपुर नपाले स्वास्थ्य तथा सरसफाइमा गरिआएको कामबाट हामी भक्तपुरका बासिन्दा अत्यन्त खुसी छौँ । भक्तपुर जिल्लामा मात्र होइन सिङ्गो मुलुकका लागि स्वास्थ्य र सरसफाइमा गरिआएको काम प्रशंसनीय छ । यसको लागि नपा परिवारलार्ई धन्यवाद व्यक्त गर्दछु । साथै यसको निरन्तरताको कामना गर्दछु ।
हालैका दिनमा नपाको पटकपटकको सार्वजनिक सूचनाको समेत बेवास्ता गर्दै सञ्चालनमा आएको ठेलागाडा पसलले फैलाएको फोहोर, त्यसबाट सृजित समस्या, हो हल्ला तथा कोलाहलको विषयमा केही भन्नैपर्ने भएकोले यो ब्यहोरा लेखिएको हो ।
सुन्नमा आएअनुसार काठमाडौँबाट लखेटिएका ठेलागाडा व्यवसायीहरू भक्तपुर आए । यसको कारण भक्तपुर थप अव्यवस्थित भएको महसुस गरिँदै छ । विशेषगरी चना चटपटे, जथाभावी तवरले खाद्यान्न, अन्य सामग्रीहरूको बिक्री बढेसँगै जनताको स्वास्थ्यमा प्रतिकुल असर पर्नुका साथै प्लास्टिकजन्य फोहोरले वातावरण दूषित हुन गएको छ । पान परागका खोल, चाउचाउ, बिस्कुटका खोल, चिजबल्सका खोलहरूले सडकलाई शोभा दिनुको साटो फोहोर बढाउने गरेको पाइएकोले यस्ता ठेलगाडा पसललाई व्यवस्थित गर्नु र जथाभावी सञ्चालनमा ल्याएका अन्य पसललाई बन्दोबस्त गर्नुपर्ने आवश्यक देखिन्छ । यसबाट फोहोरको समस्या पनि उकालो लागिरहेको छ । यिनीहरूलाई करको दायरामा ल्याई वातावरण सुधार गर्नुपर्ने खाँचो छ । कतिपय बहालमा सञ्चालित पसललाई पनि राहत मिल्नेछ, आज एकातिर कोठा वा सटर लिएर पसल सञ्चालन गर्नेले भन्दा कम शुल्कमा अव्यवस्थित पसल सञ्चालनलाई प्रश्रय दिने हो भने भोलिका दिनमा थप समस्या उत्पन्न हुने सम्भावना प्रवल छ । सांस्कृतिक नगरमा यस किसिमका अव्यवस्थित पसल एवम् फुटपाथ पसलमा रोक लगाउनुपर्दछ । कर तिरेरै पनि बहालमा बस्न नचाहने वा आफ्नो व्यापार व्यवस्थित गर्न नचाहने कथित व्यवसायीलाई कारबाही गर्नुपर्छ । यसको लागि बेलाबखत अनुगमन गर्नुपर्दछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *