भर्खरै :

नगर प्रमुख प्रजापति र कर्णाली प्रदेशसभा सदस्य भण्डारीबिच भेट

नगर प्रमुख प्रजापति र कर्णाली प्रदेशसभा सदस्य भण्डारीबिच भेट

भक्तपुर, १४ कार्तिक । भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिसँग कर्णाली प्रदेशका सभासद् एवम् सामाजिक विकास समितिका सभापति घनश्याम भण्डारीले आज भक्तपुर नपाको सभाकक्षमा भेट गर्नुभयो । प्रमुख प्रजापतिले सभासद् भण्डारीलाई सांस्कृतिक नगरी भक्तपुरमा स्वागत गर्दै उहाँहरूबिच नगरपालिकाको कार्य सम्पादन र कार्यशैलीबारे अनुभव आदानप्रदान भयो ।
भेटमा सभासद् भण्डारीले आफू नगर प्रमुख भएको बेला दुल्लु नगरपालिकाले प्राविधिक शिक्षालय र अस्पताल सञ्चालन सुरु गरेको र उक्त संस्थाहरू सञ्चालन तथा व्यवस्थापनको लागि भक्तपुरको विकास मोडलको अध्ययनको सिलसिलामा भक्तपुर भ्रमणमा आएको बताउनुभयो ।
उहाँले भक्तपुर नगरपालिकाद्वारा सञ्चालित कलेजहरूमा कर्णालीका धेरै विद्यार्थीहरू अध्ययनरत रहेको र त्यहाँबाट उत्पादित प्राविधिक जनशक्ति देशका विभिन्न सङ्घ संस्थाहरूमा इमानदारीपूर्वक काम गरिरहेको अवगत गराउनुभयो ।
भेटमा प्रमुख प्रजापतिले कर्णाली विकासको धेरै सम्भावना रहेको प्रदेश भएको र त्यहाँ फलफुल, जडिबुटी, पशुपालन तथा जलविद्युत्को क्षेत्रमा विकास गरी देशकै सम्पन्न प्रदेशको रूपमा अगाडि बढ्न सकिन्छ भन्नुभयो ।
समुदायलाई बलियो बनाउने नीतिअनुरूप भक्तपुर नपाले शिक्षा क्षेत्रलाई प्राथमिकतामा राख्दै शिशुशालादेखि उच्च शिक्षा अध्ययन गर्ने शैक्षिक संस्थाहरू सञ्चालनमा ल्याएको उहाँले बताउनुभयो । उहाँले भक्तपुर नपाभित्र सञ्चालित सामुदायिक विद्यालयहरूको शैक्षिक गुणस्तर कायम गर्न नपाले विद्यालयहरूलाई आर्थिक तथा भौतिक सहयोग पनि गर्दै आएको बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *