भर्खरै :

पुस्तकको परिधिभन्दा फराकिलो पुस्तकालय

पुस्तकको परिधिभन्दा फराकिलो पुस्तकालय

सिचुवान विश्वविद्यालयको सङ्ग्रहालयअगाडिको बाटो हरेक दिनजसो हिँडेर पनि सङ्ग्रहालयभित्र पस्ने मेसो मिलेको थिएन । फुनान नदीको किनारमै बनाइएको विशाल सङ्ग्रहालय केही वर्षसम्म अन्तर्राष्ट्रिय विद्यार्थीको छात्रावास थियो रे । तर, कोभिडकालमा आफ्नो देशमा फर्केका कतिपय त्यही छात्रावासमा बसेका विदेशी विद्यार्थीहरू आज त्यो ठाउँमा विशाल सङ्ग्रहालय बनेको देख्दा ताजुब पर्छन् । कतिबेला यति ठूलो भवन बनाइयो र यति व्यवस्थित सङ्ग्रहालय बन्यो, धेरैले मेलोमेसै पाउन सकेका छैनन् । छन्तुका धेरै सङ्ग्रहालयको सूचीमा आज सिचुवान विश्वविद्यालयको यो भव्य सङ्ग्रहालय पनि थपिएको छ ।
विच्याटमा दिनहुँजसो आइरहने कुनै न कुनै कार्यक्रमको सूचनामध्ये सिचुवान विश्वविद्यालयको सङ्ग्रहालयमा प्राचीन पुस्तकको संरक्षणसम्बन्धी कार्यक्रम हुने सूचनाले मलाई उत्सुक बनायो । सङ्ग्रहालय घुम्ने यो राम्रो अवसर हुनसक्थ्यो । त्यसमाथि प्राचीन पुस्तक संरक्षणसम्बन्धी प्रदर्शनी र अनुभव आदानप्रदान कार्यक्रमले त्यहाँ जाने हुटहुटी अझ बढायो ।
शुक्रबार कक्षा सकाएर हतारहतार सङ्ग्रहालय पुग्दा प्राचीन पुस्तक संरक्षणसम्बन्धी प्रदर्शनीको उद्घाटन कार्यक्रम सकिसकेको थियो । सहभागीहरू खाना खान बाहिर निस्केका थिए । उनीहरू सबै नपुग्दै मैले प्रदर्शनीमा राखिएका प्राचीन पुस्तक र तस्बिरहरूको एकसरो अवलोकन गरेँ ।
पाँच हजार वर्ष पुरानो इतिहास भएका चिनियाँहरूको जुनसुकै कुरामा पनि लामो इतिहास, कथा वा किवंदन्ती हुन्छ । उनीहरूले लेख्ने हरेक अक्षरदेखि बोल्ने बोलीले पनि लामो इतिहास बोकेको हुन्छ । त्यसकारण, चिनियाँहरूसँग कुरा गर्दा प्रायशः कुनै पनि कुराको व्याख्या गर्नुपर्दा पुराना किस्सा, उखान र किवंदन्ती जोडिरहेका हुन्छन् । उनीहरूका कुरा सुन्दा चीनका हरेक कुरामा कथा लुकेको अनुभव हुन्छ ।
प्राचीन पुस्तकहरूको प्रदर्शनी र अनुभव आदानप्रदान कार्यक्रममा इतिहासको चर्चा नहुने कुरै थिएन । चिनियाँहरूले कागजको आविष्कार गरे । संसारमा सबभन्दा पहिला लिखितरूपमा कुनै पनि कुराको अभिलेख राख्ने विज्ञान पनि त्यहीँ विकास भयो । अनि कागजमा मसीले छापेर अभिलेख राख्ने जुक्ति पनि चिनियाँ दिमागकै आविष्कार हो । कागजमा लेख्ने चलन पनि क्रमशः हराउँदै गएको आजको समयमा कागजको आविष्कारको चर्चाले धेरैको ध्यान आकर्षण नगर्ला । तर, मानव समाजको विगतलाई नियाल्दा कागजको आविष्कारले धेरै फराकिलो अर्थ बोकेको छ । कागज अनि पुस्तकबिना मानव समाजको इतिहासको कल्पना गर्न पनि गा¥हो छ । एक क्षणलाई मानौँ, मानिसले कागज बनाउन जानेको थिएन र प्राचीन युगमा जस्तै ढुङ्गा, पातमा मात्र लेख्थे भने के मानिस आजजस्तो सभ्य प्राणी बन्न सक्लान् ?


मानिसले कागजको आविष्कार गरेसँगै लिपि र भाषाको अझ विकास भयो । त्यसले मानिसलाई ज्ञानीमात्र बनाएन, बरु तत्कालीन समयलाई निकै पछाडिसम्म सङ्ग्रहित गर्न भूमिका खेल्यो । आज हामीले पढिरहेको इतिहासमध्ये अधिकांश हिस्सामा त्यही कागजमा लेखिएका अभिलेखको योगदान छ । त्योभन्दा अघि मानिसले ढुङ्गा, हड्डी, पात, बाँसको खप्टा, रेशमका कपडा आदिमा आफ्ना कुरा लेख्थे । तर, ती सामानको संरक्षण गर्न र एक ठाउँबाट अर्को ठाउँमा लान, ल्याउन सहज थिएन । कागजको आविष्कारले यो युगको आवश्यकता पूरा गर्यो । मानिसले आफ्ना कुरा लेखेनन् मात्र, बरु त्यसरी लेखिएका कुरा उनीहरूले सङ्ग्रह गर्न सिके र क्रमशः त्यसरी लेखिएका कुराले पुस्तकको आकार लिँदै गयो । चीनमा सोंग र युआन वंशको शासनकालमा कागज उत्पादन र छापाखानाको विकाससँगै ठूलो आकारमा पुस्तक प्रकाशन हुन थाल्यो । तर, हजारौँ वर्ष पुराना पुस्तकको संरक्षण फेरि पनि कठिन कार्य हो ।
आफ्नो लामो इतिहासमा गौरव गर्ने चिनियाँहरू आज इतिहासको गहन कुरा बोकेका पुस्तकको संरक्षणमा तदारुकतासाथ लागेका छन् । रोचक कुरा त यस्तो संरक्षणको काममा विश्वविद्यालयका पुस्तकालय र सङ्ग्रहालयहरूले विशेष भूमिका खेलिरहेका छन् । सिचुवान विश्वविद्यालयको सङ्ग्रहालयमा आयोजना गरिएको कार्यक्रमको चच्याङ विश्वविद्यालय, फुतान विश्वविद्यालय र नानचिङ विश्वविद्यालयका पुस्तकालयका विशेषज्ञहरूले पनि आफूले प्राचीन र पुराना पुस्तक संरक्षणमा गरिरहेका कामबारे अनुभव सुनाउँदै थिए । उनीहरूका श्रव्यदृश्य प्रस्तुत हेर्दा पुस्तकालय भन्नासाथ हाम्रो मानसपटलमा आउने सबै सीमा भत्किएको अनुभव भयो ।


सामान्यतः पुस्तकालय भन्नासाथ पुस्तकहरू, पत्रपत्रिका, हिजोआज कम्प्युटर आदिको चित्र दिमागमा आउँछ । केही पुस्तकालयमा बसेर पढ्न मिल्ने ठाउँको बन्दोबस्त पनि गरेको पाउँछौँ । तर, हामीमध्ये धेरैले पुस्तकालय आफैँमा सांस्कृतिक केन्द्र र अनुसन्धान केन्द्र हुनसक्ने कुरा हेक्का नराखेको हुनसक्छौँ । सङ्ग्रहालय भन्नासाथ हामीले सहजै पुराना वस्तुको संरक्षण गरिने ठाउँको रूपमा बुझ्छौँ । तर, पुस्तकालय र सङ्ग्रहालयको परिभाषा त्यतिले मात्र नपुग्ने अनुभव सिचुवान विश्वविद्यालयको सङ्ग्रहालयमा पुग्दा अनुभव भयो ।
समयको प्रवाहमा कतै अल्झेर बसेका निकै पुराना पुस्तक र लेखोटसम्बन्धी प्रदर्शनीमा नानचिङ, फुतान, चच्याङ र सिचुवान विश्वविद्यालयका पुस्तकालयका अधिकारीहरूले प्राचीन पुस्तकको संरक्षणबारे अनुभव आदानप्रदान गर्दै थिए । ती चारवटै विश्वविद्यालयले आफू जन्मेको समयको चित्र र ज्ञान बोकेका पुस्तकलाई लामो आयु दिने विज्ञान र प्रविधिबारे वैज्ञानिक अनुसन्धान गरिरहेका रहेछन् । उनीहरूको अनुसन्धान कसरी पुराना पुस्तकको संरक्षण गर्नेदेखि कसरी आजको युगलाई सुदूर भविष्यसम्म सुरक्षित राख्न उपयुक्त प्रविधि र कागजको विकास गर्ने भन्ने विषयमा अनुसन्धान गरिरहेको त्यहाँ चर्चा गरियो । रसायनशास्त्रका विद्यार्थीहरूको सहायतामा कस्तो कागज बनाउँदा हावा, पानी, आगोबाट कागजलाई बचाउन सकिन्छ भन्ने विषयमा अनुसन्धान भइरहेको त्यहाँ सुनाउँदा पुस्तकालय भनेको पुस्तक लिने दिने ठाउँमात्र होइन रैछ भन्ने लाग्यो ।
सिचुवान विश्वविद्यालयको सङ्ग्रहालयमा प्रदर्शनमा राखिएका विभिन्न लिपिका पुराना पुस्तक नियाल्दा भक्तपुरका विभिन्न भजन टोलीका पुराना भजन पुस्तकजस्तै देखिन्थे । उतिबेलाका कागजमात्र पनि त्यो युगका धेरै कुरा बोलिरहेको थियो । विभिन्न प्रविधि र कच्चा पदार्थ प्रयोग गरेर बनाइएका कागजले तत्कालीन युगको विज्ञान र प्रविधि प्रतिबिम्बित भइरहेको अनुभव हुन्छ ।
कागज उत्पादन, संरक्षण र पुस्तकको संरक्षणबारे पुस्तकालयहरूले गरिरहेको अनुसन्धानबाट सिक्न विश्वविद्यालयका विद्यार्थीहरू सङ्ग्रहालय र पुस्तकालयको भ्रमण गर्छन् । उनीहरूको लागि पुस्तकालय र सङ्ग्रहालय आफैँ कक्षा बनेको छ । त्यहाँ गरिने विभिन्न गतिविधिमा सामेल भएका प्रस्तुतिले पुस्तकालयको परिधि अझ फराकिलो भइरहेको देखाउँछ । पुस्तकालय र सङ्ग्रहालयमा आयोजना हुने विभिन्न गतिविधिमा विभिन्न कलेज र कार्यालयका अधिकारीलाई बोलाएर कक्षा लिइरहेको देखिन्छ । सिचुवान विश्वविद्यालयकै अर्को सङ्ग्रहालयमा चिनियाँ क्रान्तिमा योगदान गरेका सिचुवानका विभिन्न व्यक्तित्वबारे विभिन्न सामग्री प्रदर्शनमा राखिएका छन् । त्यहाँ हरेक दिन विभिन्न क्षेत्रका अधिकारी र विद्यार्थीहरूको समूहगत भ्रमण भइरहेको देखिन्छ । उनीहरूलाई दिइएको विभिन्न तालिमअन्तर्गत सङ्ग्रहालयको भ्रमण पनि समावेश गरिएको हुनुपर्छ ।
पुस्तकालय र सङ्ग्रहालयहरूले प्राचीन पुस्तक संरक्षणको आफ्नो अनुभव सुनाउँदै गर्दा हलबाहिर चिनियाँ र विभिन्न देशका विदेशी विद्यार्थीहरू चिनियाँ लिपि हातले बनाएका कागजमा काठमा साँचोले छापिरहेका थिए ।
कोही चिनियाँ चियालाई सानो काठको ओखलमा पिस्दै, हेर्दै चिटिक्क परेको सुर्केनीमा पोको पार्दै थिए । केही विद्यार्थीहरू पुस्तक पढ्दा चिनो लगाउने कागजको कलात्मक चिनोमा छापा छाप्न व्यस्त थिए । विभिन्न रङका ती किताब चिनोमा विभिन्न आकृति छापिँदा निकै आकर्षक देखिएका थिए ।


त्यहाँबाट ल्याएको आफैँले सानो ओखलमा पिसेको एक पोका चिनियाँ पाते चियापत्ति कोठामा झुन्ड्याउँदा आज पनि कोठाभरि सुगन्ध फैलिरहेको छ ।
पुस्तकालय र सङ्ग्रहालयमा काम गर्ने अधिकारीहरूले पनि विभिन्न विषयमा नियमित अध्ययन र अनुसन्धान गरिरहेको हुँदो रहेछ । पुस्तकालय र सङ्ग्रहालयमा काम गर्ने कर्मचारीहरू आफैँ पनि इतिहास र समाजको गहिरो अध्ययन भएका व्यक्तिहरू हुने रैछ भन्ने अनुभव त्यहाँ कतिपय अधिकारीहरूको गहन प्रस्तुतिले अनुभव गरायो ।
पुस्तकालयलाई पुस्तकको निर्जीव सङ्ग्रहमात्र होइन, जीवन्त सांस्कृतिक केन्द्र पनि बनाउन सकिन्छ जहाँ विगत र भविष्यको गज्जबको सम्मिलिन हुनसक्छ । अमूर्त संस्कृति संरक्षण र पुस्तान्तरणको लागि सङ्ग्रहालय र पुस्तकालय राम्रो थलो हुनसक्छ । पुस्तकालय आफैँ सांस्कृतिक अध्ययन केन्द्र हुनसक्छ ।
सिचुवान विश्वविद्यालयको सङ्ग्रहालयमा चिनियाँ लिपिको विकासक्रमसम्बन्धी सङ्ग्रह अर्को महत्वपूर्ण पक्ष हो । चिनियाँहरूका हरेक अक्षरको इतिहास र विकासक्रम हुन्छ । अनि ती अक्षर भाषा, लिपिसँग जति जोडिएको छ, कलात्मक चित्राङ्कनसँग पनि जोडिएको हुन्छ । चिनियाँ क्यालिग्राफी उनीहरूको संस्कृतिको एउटा महत्वपूर्ण पाटो हो । त्यसको प्रवद्र्धन गर्नु चिनियाँ अमूर्त संस्कृति संवद्र्धनको महत्वपूर्ण पाटो हो ।
चिनियाँ पाते चियाले जिउ न्यानो बनाएर सङ्ग्रहालयबाहिर निस्कँदा छेउको फुनान नदी साँझपख अझ ठूलो आवाजमा उँधो बगिरहेको थियो । आधा दिनको सङ्ग्रहालय बसाइँमा चिनियाँ विगतको एउटा बाक्लो किताब पढिसकेको अनुभव गर्दै फर्केँ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *