भर्खरै :

वागीश्वरी कलेजमा अन्तर्राष्ट्रिय पत्रकारितासम्बन्धी गोष्ठी सुरु

वागीश्वरी कलेजमा अन्तर्राष्ट्रिय पत्रकारितासम्बन्धी गोष्ठी सुरु

चीनमा पनि प्रेस स्वतन्त्रता भएको टिप्पणी
भक्तपुर, १९ कार्तिक । वागीश्वरी कलेजको पत्रकारिता तथा आमसञ्चार विभागको आयोजनामा पत्रकारिताको अन्तर्राष्ट्रिय कानुन, इतिहास तथा आचारसंहिता विषयक गोष्ठी सुरु भयो ।
आइतबारबाट सुरु भएको गोष्ठीअन्तर्गत प्रत्येक दिन फरक–फरक देशको पत्रकारिताको विषयमा कार्यपत्र प्रस्तुत गरिने कलेजले उल्लेख गरेको छ ।
गोष्ठीको पहिलो दिन चीनको पत्रकारिताका इतिहास, कानुन र आचारसंहिताको कार्यपत्र प्रस्तुत गरिएको थियो ।
गोष्ठीको उद्घाटन गर्दै नेपाल मजदुर किसान पार्टीका केन्द्रीय वैकल्पिक सदस्य तथा चीन अध्येता राजेन्द्र चवालले चीनको विषयमा पश्चिमा चस्माबाट हेर्न नहुने र वास्तविकता अर्कै भएको बताउनुभयो ।
चीनमा पनि प्रेस स्वतन्त्रता रहेको र चिनियाँ भाषा पढ्न र बुझ्न कठिन भएकोले अङ्ग्रेजीमा लेखिएका रिपोर्टहरू पढ्दा गलत भाष्य स्थापित भएको उहाँले स्पष्ट पार्नुभयो ।
चीनको मिडियाको बारेमा अहिले बुझ्न सहज हुँदै गएको र चीनले अङ्ग्रेजी भाषा र विभिन्न अन्य भाषामा पनि मिडिया चलाउन थालिएकोले कुनै पनि विषयमा चीनको आधिकारिकता थाहा पाउन पश्चिमा मिडिया नभइकन चिनियाँ मिडिया हेर्नुपर्ने भनाइ उहाँको रहेको छ ।
देशको शान्ति सुरक्षा र भौगोलिक अखण्डता पत्रकार आचारसंहिताको महत्वपूर्ण विषय भएकोले कुनै पनि राष्ट्रले यसलाई अङ्गीकार गर्ने गरेको र चीनले पनि सोही सिद्धान्त अङ्गीकार गरेको उहाँको भनाइ रहेको छ ।
चीनसम्बन्धी कार्यपत्र प्रस्तुत गर्दै पत्रकारिताका विद्यार्थी मोनालिसा शिल्पकारले चीनबाटै कागज र प्रेसको आविष्कार भएको कुरा पत्रकारिताको इतिहासमा उजागर नभएको जानकारी दिनुभयो ।
देशको सार्वभौमिकता, राष्ट्रियता र जनताको पक्षमा चीनको मिडिया भएको बताउँदै चिनियाँ जनताको लागि सरकारले आफ्नै किसिमको सामाजिक सञ्जाल विकास गरेको उहाँले जानकारी दिनुभयो ।
चीनको इतिहास जति पुरानो छ, त्यति नै मिडियाको इतिहास पुरानो रहेको उहाँले बताउँदै चीनमा मिडियाको नियमन चिनियाँ कानुन र अन्तर्राष्ट्रिय मूल्यमान्यताअनुरूप नै भएको आफूले पाएको स्पष्ट पार्नुभयो ।
कार्यक्रममा पत्रकारिता शिक्षक पूर्णभक्त दुवालले विद्यार्थीहरूमा अध्ययन अनुसन्धान गर्ने बानीको विकास गराउन र पत्रकारिताको बारेमा विश्वको परिस्थितिबारे जानकार बनाउन गोष्ठीको आयोजना गरेको जानकारी दिनुभयो ।
वागीश्वरी कलेज अफ म्यानेजमेन्टका प्राचार्य कृष्णप्रसाद धन्छाले चिनियाँ भूराजनीतिबारे प्रशिक्षणात्मक मन्तव्य दिनुभएको थियो ।
वागीश्वरी कलेज मानविकी सङ्कायका प्रमुख राजन फेलुको सभापतित्वमा भएको कार्यक्रममा पत्रकारिताका विद्यार्थीहरू मालती पराजुली, सोनिया देसेमरु, सरिना बाडे, सुमन मचामसीलगायतले कार्यपत्रमाथि टिप्पणी गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *