भर्खरै :

संस्थाका ज्येष्ठ सदस्यहरूलाई पौष्टिक आहार वितरण

संस्थाका ज्येष्ठ सदस्यहरूलाई पौष्टिक आहार वितरण

सच्चा कम्युनिस्ट पार्टीले देश र जनताको हितविपरीत काम नगर्ने
भक्तपुर, १९ कार्तिक । भक्तपुर बचत तथा ऋण सहकारी संस्थाले २७ औँ स्थापना दिवसको अवसरमा आइतबार संस्थाका ज्येष्ठ सदस्यहरूलाई पौष्टिक आहार वितरण गरेको छ ।
सयौँ ज्येष्ठ सदस्यहरू सहभागी भएको उक्त भेलामा नेपाल क्रान्तिकारी किसान सङ्घका केन्द्रीय उपाध्यक्ष गोविन्द दुवालले नाचगान, वाद्यवादन, खेतीपाती, किसान आन्दोलन र देशभक्तिपूर्ण आन्दोलनमा सरिक भएर देश र जनताको सेवा गर्ने नागरिकहरू सम्मान गर्न योग्य भएको विचार व्यक्त गर्नुभयो ।
शोषितपीडित जनताको मुक्ति गर्न, देश जोगाउन र बनाउन देशका श्रमजीवी जनता एकत्रिट र सङ्गठित हुनुपर्ने आवश्यकता औँल्याउँदै उहाँले सच्चा कम्युनिस्ट पार्टीले देश र जनताको हितविपरीत काम नगर्ने बताउनुभयो ।
असल, इमानदार र देश र जनताप्रति समर्पित नेता भए देशै राम्रो या विकास हुने विचार व्यक्त गर्दै उहाँले भन्नुभयो, “सत्तासीन नेताहरू सही नभएकाले देशले विकासमा प्रगति गर्न सकेन ।”
विदेशीलाई सजिलैसँग वंशजको नेपाली नागरिकता दिने बन्दोबस्तले देशको स्वाधीनता र सार्वभौमिकतामा आँच पुग्नेतर्फ सचेत पार्दै उहाँले प्यालेस्टाइनी जनताले गरेको देशभक्तिपूर्ण आन्दोलनप्रति ऐक्यबद्धता जनाउनुभयो ।
पञ्चायतको विरोध गर्ने हिजोका बहुदलवादीहरू बहुमत र गणतन्त्र स्थापनापछि इमान र नैतिकता छोडी बाटो बिराएकोमा चिन्ता व्यक्त गर्दै सङ्घका उपाध्यक्ष दुवालले कम्युनिस्ट भनिने दलको सरकारले सरकारी कलकारखाना निजीकरण गरेर व्यक्ति पोस्ने काम गरेको बताउनुभयो ।
देशमै कारखानाको विकास गरेर युवाहरूलाई स्वदेशमै रोजगारीको बन्दोबस्त गर्नुपर्ने चर्चा गर्दै उहाँले कम्युनिस्ट पार्टी भन्ने ठूला दलले कम्युनिस्टको सिद्धान्त र विचारलाई व्यवहारमा लागु गर्ने प्रयास नगरेको बताउनुभयो ।
सहकारीमा राखेको रकमको फाइदा सहकारीकै सदस्यहरूले पाउने उल्लेख गर्दै उहाँले नेपालमै रासायनिक मल कारखाना स्थापना गर्न पहिलेदेखि सङ्घले जोड दिँदै आएको बताउनुभयो ।
धेरै धान फल्ने उन्नत बीउ बनाउन स्वदेशमै कृषि विज्ञ तयार गर्न पहिले नै सरकारको ध्यानाकर्षण गरेको उल्लेख गर्दै उहाँले नापी आउँदा आफ्नो जोत कायम गर्न किसान अग्रजहरूले खेतखेतमा गएर गरेको गुण बिर्सन नहुने बताउनुभयो ।
संस्थाका सल्लाहकार विष्णुगोपाल कुसीले भक्तपुर बचत तथा ऋण सहकारी संस्था नमुनाको रूपमा विकास भइरहेको चर्चा गर्दै ज्येष्ठ नागरिकहरूको जीवन सुनिश्चित गर्न राज्यले निः शुल्क स्वास्थ्य सेवा, आदर निकतेन स्थापना र खानपिनको जोहो गर्नुपर्नेमा जोड दिनुभयो ।
संस्थाका अध्यक्ष निर्मल प्रजापतिको सभापतित्वमा भएको उक्त भेलामा उपाध्यक्ष लक्ष्मीप्रसाद कुसीले स्वागत र सचिव जगनाथ प्रजापतिले भेलाको औचित्यताबारे प्रकाश पार्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *