भर्खरै :

जिल्लाव्यापी देउसी भैलो प्रतियोगिता

जिल्लाव्यापी देउसी भैलो प्रतियोगिता

भक्तपुर, २३ कार्तिक । भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले इस्ट प्वाइन्ट एकेडेमी स्कूलको आयोजनामा भएको जिल्लाव्यापी देउसी भैलो प्रतियोगिताको बिहीबार एक कार्यक्रमबिच उद्घाटन गर्नुभयो ।
कार्यक्रमको उद्घाटन गर्दै भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले देउसीभैलो प्रतियोगिता भने देशको कला संस्कृतिको संरक्षणको सिलसिला भएको बताउँदै कला संस्कृति र सम्पदा संरक्षण सबैको साझा कर्तव्य भएको बताउनुभयो ।
उहाँले भक्तपुरमा संसारका धेरै देशबाट सम्पदा अवलोकन गर्न आन्तरिक तथा बाह्य पर्यटकहरू भक्तपुर आउने क्रम बढिरहेको बताउँदै पर्यटन शुल्कबाट उठेको रकमबाट पर्यटन विकासका साथै नगरको शिक्षा, स्वास्थ्य, पुनःनिर्माण, सरसफाइ आदिमा खर्च गर्दै आएको बताउनुभयो ।
प्रमुख प्रजापतिले नेपालमा विदेशी सांस्कृतिक अतिक्रमण बढ्दै गएको तर्फ नयाँ पुस्ता सजग हुनुपर्ने बताउँदै देशलाई जोगाउन यहाँका मौलिक सम्पदा जोगाउनु आवश्यक भएको बताउनुभयो । सक्रिय व्यक्तिको आयु लामो हुने बताउँदै उहाँले नगरवासीहरूलाई सक्रिय बनाइराख्न भक्तपुर नपाले विविध गतिविधि सञ्चालनमा जोड दिँदै आएको सोही अवसरमा प्रस्ट पार्नुभयो ।
कार्यक्रममा इस्ट प्वाइन्ट एकेडेमीका प्रिन्सिपल रमेशचन्द्र श्रेष्ठले विद्यार्थीहरूमा निहित अतिरिक्त प्रतिभा प्रस्फुटन गराउने र संस्कृति जगेर्ना गराउने उद्देश्यले प्रत्येक वर्ष देउसी भैलो प्रतियोगिता आयोजना गर्दै आएको बताउँदै प्रतियोगिताले विद्यार्थीहरूमा उत्साह बढेको बताउनुभयो ।
उक्त देउसी भैलो प्रतियोगितामा १० वटा विद्यालयहरूको सहभागिता थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *