भर्खरै :

खेलकुद प्रशिक्षक प्रशिक्षण तालिमका सहभागीहरूलाई प्रमाणपत्र वितरण

खेलकुद प्रशिक्षक प्रशिक्षण तालिमका सहभागीहरूलाई प्रमाणपत्र वितरण

भक्तपुर, २४ कार्तिक । भक्तपुर नगरपालिकाको आयोजनामा कार्तिक १७ गतेदेखि २४ गतेसम्म सञ्चालन भएको संस्थागत एवम् सामुदायिक विद्यालयका शिक्षक शिक्षिकाहरूको खेलकुद प्रशिक्षक प्रशिक्षण तालिमको समापन तथा प्रमाणपत्र वितरण कार्यक्रम शुक्रबार सम्पन्न भयो ।
कार्यक्रममा भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले नगरवासीहरूको साझा संस्थाको रूपमा रहेको भक्तपुर नगरपालिकालाई माथि उठाउन सबै सरोकारवाला निकायहरूसँग हातेमालो गर्दै अगाडि बढिरहेको बताउनुभयो ।
उहाँले तालिम सञ्चालनबाट प्रशिक्षकहरू उत्पादन हुनुका साथै विद्यार्थीहरूको खेलकुदमा व्यापक सहभागिता रहने उल्लेख गर्दै खेलकुद क्षेत्रको विकास शैक्षिक उन्नतिको लागि सहयोगी हुने बताउनुभयो ।
सांस्कृतिक नगर भक्तपुरको मूर्त र अमूर्त सम्पदा संरक्षण गरी यहाँको मौलिकता संरक्षणमा नपाले जोड दिँदै आएको बताउँदै प्रमुख प्रजापतिले नेपालमा सांस्कृतिक अतिक्रमणको खतरा बढ्दै गइरहेको तर्फ नयाँ पुस्तालाई सजग बनाउनुपर्ने बताउनुभयो ।
विकासको परिभाषा ठूल्ठूला भवन र संरचनामात्र नभएको बताउँदै उहाँले जनताको राजनीतिक र सामाजिक चेतनास्तर अभिवृद्धि हुनु नै ठूलो उपलब्धि हुने बताउनुभयो ।
भक्तपुर नपाका उपप्रमुख रजनी जोशीले नगरवासीको स्वास्थ्य सेवालाई अझ व्यवस्थित गर्ने उद्देश्यले खेलकुद गतिविधिलाई व्यापकता दिँदै आएको बताउँदै खेलकुदमा अग्रसरता हुनु भनेको जनतालाई स्वस्थ राख्ने अभियानको सिलसिला हो भन्नुभयो ।
कार्यक्रमका सभापति एवम् भक्तपुर नपा वडा नं. १ का वडाध्यक्ष श्यामकृष्ण खत्रीले खेलकुद प्रतियोगिता आयोजनाको उद्देश्यमाथि प्रस्ट पार्दै प्रतियोगितामा सहभागी सबैमा धन्यवादज्ञापन गर्नुभयो ।
उक्त कार्यक्रममा भनपा वडा नं. ४ का वडाध्यक्ष उपेन्द्र सुवाल, वडा सदस्य रामसुन्दर बासी, सैनिक आवासीय महाविद्यालयका प्रअ दलबहादुर पुन, शिक्षाशास्त्र सङ्काय केन्द्रीय विभागका प्राध्यापक शान्तबहादुर श्रेष्ठ, प्रशिक्षार्थीहरू लक्ष्मी जाकिबन्जार र विनय खड्कालगायतले बोल्नुभएको थियो ।
उक्त कार्यक्रममा प्रमुख अतिथि प्रजापतिले प्रशिक्षणका प्रशिक्षक र प्रशिक्षार्थीहरूलाई प्रशंसापत्र प्रदान गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *