“राजनीतिक परिवर्तन हुन एक युग लाग्न सक्छ”
- आश्विन २३, २०८१
भक्तपुर, २६ कार्तिक । दीपावली र नेपाल संवत् ११४४ को अवसरमा आइतबार बासु माध्यमिक विद्यालयमा शुभकामना कार्यक्रम सम्पन्न भयो ।
कार्यक्रममा नेपाल मजदुर किसान पार्टीका सचिव एवं सांसद प्रेम सुवालले सरकारी र सार्वजनिक गुठीअन्तर्गतका विद्यालयहरूलाई गुणस्तरीय बनाउन आवश्यक भएको उल्लेख गर्दै भक्तपुरबाट यो काम सुरू गरी बाँकी ७६ जिल्लालाई नमुनाको रूपमा देखाउनु जरूरी रहेको बताउनुभयो ।
उहाँले भन्नुभयो, “विद्यार्थीहरूलाई पाठ्यपुस्तकबाहेक राष्ट्रिय र अन्तर्राष्ट्रिय विषयमा जानकारी गराई योग्य बनाउनु पर्दछ । यस विषयमा नेपाल मजदुर किसान पार्टीका अध्यक्ष (रोहित) ले लेख्नुभएको ‘मार्गनिर्देशनबारे भाइबहिनीलाई चिठी’ पुस्तक सन्दर्भ सामग्री हुनेछ ।”
सांसद सुवालले भन्नुभयो, “पुँजीवादी व्यवस्थाले मानव जातिको समस्या समाधान गर्न नसकेको हुँदा समाजवाद अपरिहार्य भएको हो । नेमकिपाका अध्यक्ष रोहितले २०४६ सालको आन्दोलनलगत्तै तत्कालीन माले र माक्र्सवादी हालको एमाले, नेकपा संयुक्त (मानन्धर समूह) लाई पुँजीवादी सरकारमा कम्युनिस्टहरू जान नहुने सुझाव दिनुभएको तर नमानेको हुँदा अहिले देश र जनताले दुःख पाएका हुन् ।”
अमेरिकी सरकारले इजरायल र युक्रेनमा हतियार पठाएर युद्ध गराइरहेको हो । यसकारण, प्यालेस्टाइनमा जातीय नरसंहारको दोषी अमेरिकी साम्राज्यवाद हो । प्यालेस्टिनीहरूको जातीय संहारको विरोध संसारभरि भइरहेको छ । नेपाली जनताले पनि गरिरहेको छ, उहाँ भन्नुभयो ।
कार्यक्रममा विद्यालयका प्राचार्य अम्बिका न्याइच्याई, भनपा वडा नं. २ का वडा अध्यक्ष हरिप्रसाद बासुकला, नेक्राशिसङ्घका गणेशराम थुसा, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बालमुकुन्द बासुकला, पूर्वविद्यार्थी डा. सत्यनारायण सुवाल र विद्यालयका उपप्राचार्य राजकुमार ह्यौँमिखाले पनि बोल्नुभएको थियो ।
Leave a Reply