भर्खरै :

कृषक सम्मानका साथ उर्वरभूमि सहकारी संस्थाको वार्षिक साधारणसभा सम्पन्न

कृषक सम्मानका साथ उर्वरभूमि सहकारी संस्थाको वार्षिक साधारणसभा सम्पन्न

भक्तपुर, २६ कार्तिक । “किसान देशको अन्नदाता हो । कृषि पेसालाई सम्मानित पेसाको दर्जा दिनुपर्छ । कृषिप्रधान देश भनिए तापनि कृषि क्षेत्र राज्यको प्राथमिकतामा नपरेकोले युवाहरू कृषि क्षेत्रप्रति आकर्षित नभएको हो । कृषि सहकारीले यस्तो किसान सम्मान कार्यक्रमलाई निरन्तरता दिई किसानहरूलाई उत्साह र हौसला दिने कार्य सराहनीय छ ।”
उक्त विचार नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सदस्य तथा वाग्मती प्रदेशका सांसद सुरेन्द्रराज गोसाईले उर्वरभूमि कृषि सहकारी संस्था लि.को आठौँ वार्षिक साधारणसभामा व्यक्त गर्नुभएको हो ।
राज्यले कृषि क्षेत्रलाई उपेक्षा गरेको, वैदेशिक रोजगारीलाई बढावा दिएको कारणले आर्थिक मन्दीलगायतका समस्याहरू देखा परेको औँल्याउँदै उहाँले कृषकहरूलाई न्यूनतम आवश्यक पर्ने बीउबिजन, मलखाद्, रासायनिक मल, सिँचाइ व्यवस्था, बजार व्यवस्थापनलगायतका विषयमा सरकारको गम्भीर ध्यानाकर्षण गर्नुभयो ।
आदर्श आजाद माध्यमिक विद्यालय/कलेजका प्राचार्य श्रीकृष्ण किसीले नयाँ पुस्ताले कृषिलाई आधुनिकीकरण गर्दै अगाडि बढाउनुपर्ने बताउनुभयो । उहाँले कृषि क्षेत्रलाई सरकारले अनुदानमात्रै दिएर नपुग्ने बताउँदै किसानहरूलाई कृषि पेसामा निरन्तर लाग्न सक्ने वातावरण तयार गर्नुपर्ने विचार व्यक्त गर्नुभयो ।
सूर्यविनायक नगरपालिकाका सहकारी शाखा प्रमुख राजेन्द्रकुमार श्रेष्ठले सहकारीहरूमा व्याप्त तरलता व्यवस्थापनसम्बन्धी जानकारी दिँदै सहकारीहरूको तरलता समस्या हट्दै जाने धारणा व्यक्त गर्नुभयो ।
संस्थाका अध्यक्ष राकेश सुकुपायोको सभापतित्वमा सम्पन्न सो कार्यक्रममा जिल्ला कृषि सहकारी सङ्घ भक्तपुरका अध्यक्ष सनिस लागेजु, जिल्ला सहकारी सङ्घ भक्तपुरका प्रतिनिधि धु्रव रायमाझी, सहकारीकर्मी दिनेश ग्वाछा, संस्थाका पदाधिकारीहरू नारायणप्रसाद मचामसी, सुन्दर ग्वाछा, केशव हाकुदुवाल र नेहा शिल्पकारले बोल्नुभयो ।
सो कार्यक्रममा १४ जना कृषकहरूलाई सम्मान गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *