प्यालेस्टिनी जनता र यहुदी सर्वसाधारण – २
- मंसिर २०, २०८०
अरु स्वाधीन र सार्वभौम देशमा आक्रमण गर्नु, अरु देशबिच झगडा या युद्ध गराएर हतियार बेच्नु, अरु देशमा आन्तरिक कलह गराएर कमजोर पार्नु, आफ्नो विचार नसुनेको आधारमा अरु देशका राष्ट्र प्रमुख या नेताहरूको हत्या गराउनु, अरु देशको प्राकृतिक स्रोत र साधनमा आँखा गाड्नु र खनिज र तेल कब्जा गर्नु साम्राज्यवादी देश संयुक्त राज्य अमेरिकाको पर्यायजस्तै भइसकेको छ । अरु देशको सरकारलाई अस्थिर बनाउने, आन्तरिक मामिला चर्काउन सरकारको विपक्षलाई हातहतियार, आर्थिक तथा सेना पठाउने, तेल, ग्यास र खनिज कब्जा गर्नको निम्ति षड्यन्त्र गर्ने देशमा साम्राज्यवादी देश अमेरिका अगाडि छ । युक्रेन र रुसको युद्ध र इजरायल र प्यालेस्टाइनको युद्ध यसको पछिल्लो दृष्टान्त हो । अमेरिकाले भेनेजुयलालाई अस्थिर बनाउने अनेक षड्यन्त्र ग¥यो । भेनेजुयलामा अमेरिकी हस्तक्षेपको उद्देश्य त्यस देशमा रहेको ऊर्जा र खनिज स्रोतमाथि कब्जा गर्नु नै थियो । राष्ट्रपति माडुरोले त्यसबेला भनेका थिए, “साम्राज्यवादीहरू तिनका भाडाका टट्टुहरू हाम्रो देशको तेल, ग्यास र सुन हत्याउन चाहन्छन् । तर, ती स्रोतहरू भेनेजुयाली जनताका हुन् ।”
भेनेजुयलाका एक विपक्षी दलका सांसद ग्वाइडोले आफूले आफैँलाई राष्ट्रपति घोषणा गरे, जबकि त्यहाँ निर्वाचित राष्ट्रपति थिए । त्यसबेला संरा अमेरिकी विदेशमन्त्री माइक पाम्पेओले निर्वाचित राष्ट्रपति माडुरोलाई मान्यता नदिई ‘अन्तरिम राष्ट्रपति’ ग्वाइडोलाई समर्थन गर्न भेनेजुयाली सेनालाई समेत आग्रह गरे । एक स्वाधीन र सार्वभौम देशको निर्वाचित सरकार अपदस्थ गर्न खोज्ने अमेरिकी सरकारमा खोइ नैतिकता ? खोइ मानवीय धर्म ? खोइ प्रजातन्त्र ? तेल खानी कब्जा गर्नकै निम्ति संयुक्त राज्य अमेरिका र बेलायतसमेतले इराकमा बम वर्षा गरे । स्थल र हवाई युद्ध गरेर लाखौँ इराकीहरूको हत्या गरियो र अन्ततः इराकका राष्ट्रपति सद्दाम हुसेनलाई फाँसी दिइयो । विश्वमा आतङ्क मच्चाउँदै, शान्ति बिथोल्दै अघि बढेको अमेरिका एमसीसी सम्झौता गरेर नेपाल पसेको छ । एमसीसी सम्झौता अमेरिकी सेना नेपाल प्रवेश गर्ने माध्यम हो । कुनै शक्ति राष्ट्रले नेपाली भूमिलाई स्प्रिङ बोर्ड बनाउन खोजेको छ । यो नेपाली जनतालाई स्वीकार्य छैन । संरा अमेरिकी सेना तैनाथ गर्नु नै विश्व शान्तिको निम्ति बाधक बनेको छ । देशको सार्वभौमिकताको रक्षा गर्नु नेपाली जनताको एकताको आवश्यकता छ । सत्तारुढ दलले जसरी भए पनि सरकारको नेतृत्व गर्ने या सरकारमा सहभागी हुनेबाहेक देश बनाउने र जोगाउनेतर्फ हेरेको छैन । एउटा परिवारको अभिभावकले घरव्यवहार चलाउने काम गर्छ भने सत्तासीन दलले देश जोगाउने र बनाउने काम गर्नुपर्दैन ?
अरुलाई लडाएर, भिडाएर आफू अघि बढ्ने कामलाई कसरी राम्रो भन्न सकिन्छ ? अहिले पनि संराअका हतियारधारी सेना दर्जनौँ मुलुकमा तैनाथ गरिराखेको छ । अफगानिस्तानलाई ध्वस्त पार्ने काम संयुक्त राज्य अमेरिकाले नै गरेको हो । अफगानिस्तान ध्वस्त भएपछि अमेरिकी सेना फिर्ती भयो । क्युवा र प्रजातान्त्रिक जन–गणतन्त्र कोरियामा दशकौँदेखि नाकाबन्दी छ । क्युवाको नाकाबन्दी हटाउने संयुक्त राष्ट्र सदस्यको ९९ प्रतिशतले मतदान गरे पनि अमेरिकाले हटाएन । के यो अमेरिकी सरकारको ठूलो शक्ति राष्ट्रको अहङ्कार होइन ? अमेरिकाले प्रजग कोरियामा हमला गर्ने चेतावनी धेरैपटक दिइसकेको छ । यसरी साम्राज्यवादको विरोध गर्ने देशलाई एकएक गरेर असफल पार्ने प्रयास अमेरिकाले गरिरहेको छ । अमेरिका अरु स्वाधीन देश र सार्वभौम देशका शासकहरूलाई धम्की दिन्छ । अमेरिकाले धम्की दिए पनि सहेर बस्नुपर्ने कस्तो बाध्यता ? चीनमा व्यापार युद्ध गर्ने अमेरिका नै हो । अमेरिकामा चिनियाँ उद्योगी तथा व्यापारीलाई काम गर्न नदिने, लगानी गर्न नदिने काम अमेरिकाले गरेकै हो । संसारका यी घटनाक्रमले संराअले अरु देशको विकास चाहेको छैन भन्ने प्रस्ट पार्छ । विकास गर्न चाहने, विकास गराउन सहयोग गर्ने देशलाई खुट्टा तान्ने र आफू सधैँ संसारकै पहिलो देश या संसारका मुलुकलाई आफ्नो हातमा राख्ने काम अमेरिकाले गरिरहेको छ । यसको विरोध गर्नैपर्छ ।
Leave a Reply