दोषीमाथि कारबाही होस्
- फाल्गुन २, २०८१
आपराधिक घटनाहरू भइरहेको देख्दा देशमा सरकार छ कि छैन भन्ने अनुभूति हुनु स्वाभाविक हो । राम्रो काम खासै नहुने अनि जहाँतहीँ नराम्रो नराम्रो काम या घटना भएको आधारमा सरकारप्रति जनताको हेराइ कसरी सकारात्मक हुन्छ ? जनता र देशको निम्ति काम भए पो सरकारप्रति जनताको विश्वास हुन्छ, जनताको आस्था बढ्छ । जहिल्यै कहीँ न कहीँ चोरी चकारी, लुटपाट, हत्या हिंसा, भ्रष्टाचार, अनियमितता, उपद्रव, उच्छृङ्खल गतिविधि भइरहेपछि सरकारको विरोध नभए कसको हुन्छ ? सरकारले असल बाटो नखोजी, सत्मार्ग लाने प्रयास नगरी अपराधीहरूको संरक्षणमा सरकार लागेपछि समाज कसरी आदर्शोन्मुख बन्छ ?
हत्या, हिंसा र चोरी–चकारीको घटना घटेको छैन । कहिले नक्कली जोगी बनेर त कहिले पुरुष नारीको भेषमा लागेर सर्वसाधारण जनतासँग ठगिरहेका छन् । बालबालिका बेपत्ता पार्ने, गरगहना लुट्ने, महिला बेचबिखन गर्ने, मानव अङ्ग बेच्ने, ठग्नेजस्ता मानवविरोधी अपराधहरू पनि नियन्त्रण भइरहेको छैन । पद र पैसाको निम्ति राजनीति गर्ने शासकहरूले देश र जनताको निम्ति के भलो गर्लान् ? शासकहरूको राजनीति सत्तामा बसेर कमाउनु रहेको छ† आफ्ना आसेपासेहरूलाई पोस्नु रहेको छ । यस्ता आपराधिक क्रियाकलापमा शासक दलका नेता, मन्त्री र सांसदहरू फसेका छन्† पदको दुरुपयोग गरी अकुत सम्पत्ति कमाउन पल्किएका छन् ।
सत्तासीन दलका नेताहरूले गरेका यस्ता आपराधिक क्रियाकलापकै कारण सरकारविरुद्ध विरोधी पक्ष लागेका छन् । अहिले त ‘राजावादी’हरू पनि उठ्न थालेका छन् । तर, गणतन्त्रको विकल्प संवैधानिक राजतन्त्र होइन । कुनै पनि दल प्रतिगामीतर्फ लाग्ने होइन । पुँजीवादी गणतन्त्रको विकल्प समाजवादी गणतन्त्र हो । समाजवादी गणतन्त्रको निम्ति देशका शासक र कम्युनिस्ट पार्टीहरू लाग्नुपर्छ । पुँजीवादी गणतन्त्रले व्यापक जनताको सेवा गर्दैन भन्ने कुरा घटनाक्रमले प्रस्ट पारिसकेको छ । राजतन्त्र र संवैधानिक राजतन्त्रको अनुभव पनि नेपाली जनतासँग छ । यसकारण अब देशका सम्पूर्ण कम्युनिस्ट पार्टी र देशभक्तहरू समाजवादी गणतन्त्रको पक्षमा लाग्नुपर्छ, समाजवादी गणतन्त्र स्थापना गर्न समाजवादी सिद्धान्त जनतामाझ पु¥याउनुपर्छ, जनतालाई सचेत र सङ्गठित गर्नुपर्छ ।
Leave a Reply