भर्खरै :

साम्राज्यवादी शासकहरू न्यायप्रेमी जनताका वर्गीय शत्रु

नेपालका मजदुर, किसान, प्रगतिशील बुद्धिजीवी, देशभक्त व्यापारी व्यवसायी आदि जनताको प्रजातन्त्र स्थापना गर्न सङ्घर्षरत छन् । सामन्तवाद र विदेशी एकाधिकार पुँजीसँग सम्झौता र आत्मसमर्पण गर्ने नीतिको विरोधमा सच्चा कम्युनिस्टहरू सैद्धान्तिक सङ्घर्ष गर्दै छन् । पञ्चायत कालमा नेपाली जनताले राजनीतिक तथा मौलिक अधिकारका निम्ति लडेका थिए; जनताको दैनिक समस्या समाधानको निम्ति लडेका थिए; विदेशी हस्तक्षेप र प्रभुत्ववादको विरोध लडेका थिए । यो सङ्घीय गणतान्त्रिक या पुँजीवादी व्यवस्थाको विरोधमा पनि जनता सङ्घर्षरत छन् । त्यस्तै, भारतीय जनता पनि नेपालमा भारतीय एकाधिकार पुँजीको थिचोमिचो र विस्तारवादको विरोध गर्थे, गर्दै छन् । तिनीहरू नेपाली काङ्ग्रेसलाई भारतीय एकाधिकार पुँजीको दलाल सम्झन्थे । नेपाल मजदुर किसान पार्टीले पनि स्थापना कालदेखि नै भारतीय विस्तारवादको विरोध गर्दै आएको हो ।
नेमकिपाले साम्राज्यवाद, नयाँ र पुरानो उपनिवेशवाद, विदेशी एकाधिकार पुँजी, देशको स्वतन्त्रता र सार्वभौमिकताको रक्षा गर्न आवाज उठाइरहेको छ । नेमकिपाले पुँजीवादी व्यवस्था अन्त्यको लागि समाजवादी प्रचार अभियान थालेको छ । नेमकिपाले झैँ अन्य कम्युनिस्ट पार्टीले पनि समाजवादी सिद्धान्त र विचार प्रचार गरी पुँजीवादी व्यवस्थाको विरोध गरेमा जनता सुसूचित हुनेछन् र परिवर्तनको निम्ति पूर्वाधार बन्थ्यो । तर, विडम्बना ! कम्युनिस्ट भनिने दल व्यवस्था परिवर्तनभन्दा जसरी भए पनि दल ठूलो बनाउने, सरकारको नेतृत्व गर्ने, गरिरहनेमा केन्द्रित छ । ठूला दलहरू ‘छोरो पाउने कहिले कहिले भोटो सिलाउने पहिले’ भनेझैँ निर्वाचन हुने कहिले कहिले अहिलेदेखि नै एकल सरकार बनाउने भनी प्रचारमा जुटेका छन् । ती दलका नेताहरू एकातिर समाजवादको बखान गर्ने अर्काेतिर पुँजीवादी व्यवस्थामै रहेर शासन गरिरहने द्वैधचरित्र बोक्दै छन् । कतै यो ‘तैँ रानी मै रानी को भर्छ कुवाको पानी’ जस्तो त हुने होइन ?
देशमा उद्योग खोलेर नेपालीलाई आवश्यक आधारभूत वस्तु उत्पादन गर्नु त कता कता भएका उद्योग घाटा भएको भन्दै बन्द गर्ने र व्यक्तिलाई हस्तान्तरण गर्ने काममा सरकार लाग्यो । नेकाका एक युवा नेताले त घाटामा गएको कारण उद्योग बन्द गरेको भन्दै देशको आर्थिक सङ्कट समाधान गर्न सरकारी उद्योगहरू बेचेको खुलासा गरे । सरकारी उद्योग बन्द गर्दै बेच्दै गर्ने सरकारले देशलाई भारत निर्भर बनाउने गोटी चाल्यो । अरुको भरमा बस्नुपर्ने बाध्यता सत्तासीन दलकै नेताहरूले बाटो खनिरहेका छन् । देशलाई स्वाधीन, स्वावलम्बी, आत्मनिर्भर बनाउनेतर्फ सरकार लागेको देखिँदैन । बरु देशलाई दूरगामी असर पु¥याउने एमसीसी सम्झौता र नागरिकता विधेयक पारित गर्ने काम सत्तारुढ र ठुला दलहरूले गरे । यस्तो देशघाती काममा आफूलाई स्वतन्त्र पार्टी भन्ने सांसदहरूले पनि कम्मर कसेर बोलेनन् । कतै अमेरिकी प्रशासनको दबाबमा राष्ट्रिय स्वतन्त्र पार्टीले नबोलेको हो ?
नेपाललाई स्वाधीन र सार्वभौम देश बनाइराख्नुपर्छ । विदेशी थिचोमिचो, दबाब, अतिक्रमण र आक्रमणको सरकारले विरोध गर्नुपर्छ । सरकारले नेपाली भूमि जोगाउनुपर्छ । विदेशी एकाधिकार पुँजीको भ्रममा सरकार फस्नु हुँदैन । ठुला शक्ति राष्ट्रले अतिक्रमण, आक्रमण गर्दै जाने हो भने के संसारमा सानो देश बाँकी रहला ! के संसार भनेको ठुला शक्ति राष्ट्रहरूको मात्र हो ? ठुला शक्ति राष्ट्रले जे पनि गर्न पाउनु नै स्वतन्त्रता र प्रजातन्त्र हो ? ‘जसको लठी उसको भैँसी’ बनाएर या बल मिचेर के संसारका न्यायप्रेमी र शान्तिप्रेमी जनताले सन्तोषको सास फेर्नु पर्दैन ? साम्राज्यवादी देशहरूकै कारण संसारका जनता आतङ्कित छन् । उनीहरूले आक्रमण गरेकै कारण संसारका जनता भोग, रोग र शोकले मरिरहेका छन् । संहारकारी साम्राज्यवादी शासकहरू संसारका न्यायप्रेमी जनताका वर्गीय शत्रु हुन् । उनीहरूविरुद्ध संसारका न्यायप्रेमी जनता उठ्नुपर्छ र आक्रमणको निन्दा गर्नुपर्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *