भर्खरै :

देशभक्त नेता

देशभक्त नेता

उनी बरोबर भन्ने गर्थे, “देश पार्टी र जनताभन्दा माथि हुन्छ । देश नरहे न त जनता रहन्छ, न त पार्टी रहन्छ । देशलाई घात हुने काम कोेही कसैले गर्छ भने त्यो देशद्रोही हो ।”
उनको त्यो भनाइले सबैले उनलाई देशभक्त नेताको रूपमा चिनेका थिए । राष्ट्रवादी चिनाउन उनी जहाँ गए पनि उनको पहिरन जहिले पनि दौरा सुरुवाल, ढाका टोपी र रातो गलबन्दी हुन्थ्यो भने भाषण र कुरा गराइ भारतीय विस्तारवाद र देशमाथि भइरहेको थिचोमिचो, नेपालीमाथि भइरहेको अन्याय अत्याचारबारे हुन्थ्यो । कहिले उनी सुस्ता र दसगजामा भइरहेको भारतीय थिचोमिचोको कुरा उठाउँथे त कहिले दोधारा चाँदनी र कालापानी लिपुलेकको कुरा उठाई भारतको विरोध गर्थे । भारतीय हस्तक्षेपबारे जोसिलो भाषण गर्न सक्ने भएकोले पार्टीको अक्सर हरेक सभा कार्यक्रममा उनी वक्ता हुन्थे ।
एक कार्यक्रममा उनले भने, “के नेपाल भारतको प्रशासनिक एकाइ हो ? नेपालभित्र स्वतन्त्ररूपले कसैको परामर्श नलिई हातहतियारसहित बर्दीमा आई नेपालीको घरघरमा आएर धम्की दिनु र समातेर लानलाई ? नेपाल एक सार्वभौम राज्य हो । नेपालमाथि भएको कसैको हस्तक्षेप र अन्याय अत्याचार हामी सहन सक्दैनौँ । हामी भारतको विस्तारवादी नीतिको घोर विरोध गर्छौँ ………।”
उनको क्रान्तिकारी, जोसिलो भाषण र भारतीय अन्याय र अत्याचारको बारे बोल्दा स्रोताहरू जोडले ताली बजाउने र भारतीय विस्तारवादप्रति आक्रोश र रगत तताउने गर्थे ।
पत्रपत्रिकामा पनि बरोबर भारतीय विस्तारवादको ज्यादती र भारतसँग भएको सन्धि–सम्झौताबारे उनको सारगर्भित लेख रचनाहरू प्रकाशित भएको हुन्थ्यो । उनको भावना र भाषणले पार्टी पङ्क्तिमा मात्र होइन अरु पार्टीका नेता तथा कार्यकर्ताहरूले पनि स्पष्ट वक्ता र राष्ट्रवादी भनेर प्रशंसा बटुलेका थिए ।
देशमा देशघाती नागरिकताको विषयमा धेरै बहस भइरहेको थियो । संसद् र संसद् बाहिर पनि त्यस विषयमा चर्को विरोध र छलफलको विषय भइरहेको थियो । संसद्मा विधेयक टेबलपछि छलफलको बेलासम्म उनी जमेर नागरिकता विधेयकको विरोधमा थिए । अनुमोदनको लागि निर्णय गर्ने बेलामा राष्ट्रवादी नेताको पार्टी र उनको पनि अनुपस्थिति देख्दा जनता छक्क परे । उनको अनुपस्थितिले एकजना पत्रकारले प्रश्न गरे, “तपाईँ हिजोसम्म भारतको विरोध गर्ने र नागरिकता विधेयकको विरोधमा थिए । आज के भएको ?”
उनको जवाफ थियो, “पार्टीको निर्णयलाई म अस्वीकार गर्न सक्दिनँ । मैले जे निर्णय गरेको छु, सही निर्णय गरेको छु ।”

Leave a Reply

Your email address will not be published. Required fields are marked *