सङ्गठनभित्र घुसाइएका व्यक्तिहरूबाटै त्यो घटना घटाइएको हुन सक्छ !
- भाद्र ८, २०८३
भक्तपुर नगरपालिका २००६ सालमा स्थापना भएको हो । यो नगर १२ औँ देखि १५ औँ शताब्दीसम्म नेपाल मण्डलको राजधानी नगर र १८ औँ शताब्दीसम्म एक स्वतन्त्र राज्य रहेको इतिहास छ । यस नगरपालिकामा स्थापनाकालदेखि आजसम्म धेरै जनप्रतिनिधिहरूले काम गरे, जनताले विभिन्नरूपमा साथ दिए र आजको रूपमा आइपुगेको छ । हाम्रा अग्रजहरूको निःस्वार्थरूपले जनताको सेवा गर्ने भावनाले नै भक्तपुर आजको अवस्थामा आइपुगेको हो । यो अवस्थासम्म भक्तपुरलाई पु¥याउन सहयोग गर्ने तमाम जनप्रतिनिधि, राजनीतिक कार्यकर्ता र प्रत्यक्ष अप्रत्यक्ष सहयोग गर्ने जनतालाई हामी आजको दिन उच्च सम्मान व्यक्त गर्दछौँ ।
२०३९ सालदेखि भक्तपुर नगरपालिकामा नेमकिपाले पूर्ण बहुमत प्राप्त गरी जनताको सेवा गर्दै आएको हो । प्रतिक्रियावादी सङ्घ संस्थाभित्र गएर जनताको सेवा गर्ने नीतिअनुसार नेमकिपा (तत्कालीन सङ्गठन) ले पञ्चायती चुनावलाई उपयोग ग¥यो । त्यतिबेला भक्तपुर नगर शिक्षा, स्वास्थ्य, सम्पदा संरक्षण र सरसफाइको क्षेत्रमा अत्यन्त पछाडि थियो । सम्पदाहरू संरक्षणको अभावमा बिग्रे भत्केका थिए भने कति लोपोन्मुख अवस्थामा थिए । पञ्चायती व्यवस्थामा निर्वाचनमा भाग लिएर जनताको सेवा गर्नु त्यति सहज थिएन । पार्टी गतिविधि प्रतिबन्धित थियो । त्यस्तो अवस्थामा निर्वाचित जनप्रतिनिधिहरूले शिक्षामा जोड दिए ।
सबै सरकारी विद्यालयमा १–१ जना शिक्षक नियुक्ति, कक्षा ७ सम्म निःशुल्क शिक्षाको व्यवस्था भक्तपुर नगर पञ्चायतले लागु ग¥यो । त्यतिबेला पञ्चायती सरकारले ५ कक्षासम्म मात्रै निःशुल्क गरेको थियो । हाम्रा निर्वाचित अग्रजहरूले सरसफाइ अभियानको नेतृत्व गरे† ‘पञ्चायत’ नामक मासिक बुलेटिन प्रकाशित गरी नगर पञ्चायतका हरेक गतिविधि जनतासमक्ष सार्वजनिक गरे । पञ्चायती कालमा त्यो क्रान्तिकारी कदम थियो । भक्तपुर नगर पञ्चायत इमानदारी र पारदर्शिताको नमुना बन्यो । २०४३ सालमा सम्पन्न स्थानीय निर्वाचनमा पनि नेमकिसङ्गठनका उम्मेदवारहरू निर्वाचित भएपछि अघिल्ला जनप्रतिनिधिहरूले गरेका कार्यहरूलाई निरन्तरता दिँदै पञ्चायत पत्रिकामार्फत सर्वहारावर्गका महान् गुरुहरू माक्र्स, लेनिन, स्तालिन, माओका जीवनीहरू छाप्न थाले । त्यसले भक्तपुर नगर पञ्चायत पञ्चहरूको आँखाको कसिङ्गर बन्यो । २०४५ सालको भक्तपुर काण्ड त्यसैको परिणाम थियो ।
भक्तपुर काण्डमा नेमकिसङ्गठनका अध्यक्ष रोहितलगायत ६७ जना नेता कार्यकर्ताहरूलाई ज्यान मुद्दा चलाइयो । इतिहासकै पहिलोपल्टक प्रधानमन्त्री मरिचमान सिंह र राष्ट्रिय पञ्चायतका अध्यक्ष नवराज सुवेदीलगायतका पञ्चहरूले रोहितलाई फाँसीको माग गरे । जनताको चेतनास्तर उठिरहेको थियो । २० महिनापछि नेपाली जनताले पञ्चायती व्यवस्था अन्त्यको माग गर्दै २०४६ सालमा आन्दोलन गरे र त्यसको परिणाम पञ्चायती व्यवस्था सदाको लागि इतिहासको पानामा सीमित हुन पुग्यो । बहुदलीय व्यवस्था पुनःस्थापनापछि नेमकिसङ्गठनका नेता कार्यकर्ताहरू जेलबाट छुटे, प्रवास र भूमिगत जीवनबाट सार्वजनिक भए । जनताको सेवामा राजनीतिलाई अझ सशक्तरूपमा अगाडि बढाइयो ।
चुनावमा भाग लिएर जनताको सेवा गर्नु पनि एक राजनैतिक आन्दोलन हो । आन्दोलन समुद्रको छालजस्तै कहिले माथि उठ्छ त कहिले तल झर्छ । २०४९ सालको निर्वाचनमा पनि भक्तपुर नगरपालिकामा नेपाल मजदुर किसान पार्टीका साथीहरूले बहुमत प्राप्त गरे । नेपाल मजदुर किसान सङ्गठनको नाम नेमकिपा भइसकेको थियो । निर्वाचित साथीहरूले भक्तपुरको विकासको निम्ति नयाँ कदमहरू चाल्न थाले । त्यसमध्ये एक हो, पर्यटन शुल्क । २०५० साल साउन ६ गतेबाट पर्यटकहरूसँग १ डलर पर्यटन शुल्क उठाउन सुरु गरियो । भक्तपुर पर्यटन शुल्क सुरु गर्ने नेपालकै पहिलो नगरपालिका हो । त्यतिबेला वर्तमान राष्ट्रपति रामचन्द्र पौडेल स्थानीय विकास मन्त्री हुनुहुन्थ्यो । पर्यटन शुल्क लिएको विषयमा व्यापक विरोध भयो । केहीले अब पर्यटक ‘भक्तपुर आउँदैन’ सम्म भने । तत्कालीन स्थानीय विकासमन्त्री पौडेलले पर्यटन शुल्क उठाउन बन्द गर्न निकै दबाब दिनुभयो । तर, हामी पछि हट्ने कुरा थिएन । त्यसबेला नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ र तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाबिच भएको एउटा भेटमा अध्यक्षज्यूले पर्यटन शुल्कको आवश्यकता र त्यसको औचित्यबारे स्पष्ट पार्नु भएपछि त्यो विवाद त्यतिकै सेलाएर गयो ।
पयर्टन शुल्कको निरन्तरताले अहिले त्यो भक्तपुर नपाको एउटा महत्वपूर्ण स्रोत बनेको छ । काठमाडौँ, ललितपुर, चाँगुनारायण, पोखरालगायत नगरपालिकाहरूले पर्यटन शुल्क लिन थालेका हुन् । यस अर्थमा शिक्षा, पर्यटन शुल्कमा पनि भक्तपुर नपाले अगुवाइ गरेको देखिन्छ ।
२०५४ सालको स्थानीय निकाय निर्वाचन घोषणापत्रमा शिक्षालाई जोड दिने उल्लेख थियो । त्यसको कार्यान्वयनको सिलसिलामा नेमकिपाका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) ले २०५६ सालमा एउटा बुद्धिजीवीहरूको बृहत् भेलामा १५ वर्षभित्र एक घर एक स्नातकको घोषणा गर्नुभयो । त्यो निकै चर्चाको विषय बन्यो । केही कथित बुद्धिजीवीहरूले असम्भव र महत्वाकाङ्क्षी भनी त्यस घोषणाको आलोचना गरे । हामी जनप्रतिनिधिहरू त्यो घोषणा कार्यान्वयनतर्फ अगाडि बढ्यौँ । त्यतिबेला नगर प्रमुख प्रेम सुवाल हुनुहुन्थ्यो । २०५६ सालमै ख्वप मावि स्थापना भयो । ख्वप मा.वि. स्थानीय निकायले सञ्चालन गरेको नेपालको पहिलो शिक्षालय हो ।
२०५८ सालमा ख्वप कलेज र सोही वर्ष पूर्वाञ्चल विश्वविद्यालयबाट सम्बन्ध लिई ख्वप इन्जिनियरिङ कलेजको पनि स्थापना भयो । ३ वर्षभित्र ३ वटा उच्च शिक्षा प्रदान गर्ने शिक्षालयहरू स्थापना गर्न भक्तपुर नपा सफल भयो । शैक्षिक संस्था स्थापनाको क्रम त्यतिकै रोकिएन । २०६० सालमा ख्वप बहुप्राविधिक अध्ययन संस्थान, २०६५ सालमा त्रिभुवन विश्वविद्यालयको सम्बन्धनमा ख्वप कलेज अफ इन्जिनियरिङ स्थापना भयो । पछि शारदा कलेज तथा शारदा मावि पनि नगरपालिकामा हस्तान्तरण भयो । त्यसपछि सातवटा शैक्षिक संस्थाहरू सञ्चालनमा आयो । २०७९ सालमा ख्वप कलेज अफ ल को स्थापना भई अहिले बीएएलएलबीको ५ वर्षे स्नातक कक्षा सञ्चालन भइरहेको छ । अहिले भक्तपुर नगरपालिका ख्वप विश्वविद्यालयको सञ्चालनको तयारीमा छ ।
भक्तपुरलाई ज्ञानविज्ञानको केन्द्र बनाउने र १५ वर्षभित्र एक घर एक स्नातकको घोषणाले अहिले भक्तपुरमा घरघरमा इन्जिनियर, स्नातक र स्नातकोत्तरहरू भेटिन थालेका छन् । २०५९ सालदेखि २०७४ सालसम्म १५ वर्षसम्म स्थानीय निकाय जनप्रतिनिधिविहीन हुँदा भक्तपुर विकासमा धेरै पछि पर्यो । त्यो तीतो अनुभव पनि हामीसँग छ । त्यतिबेला सर्वदलीय संयन्त्र गठन गरेर स्थानीय निकाय चलाउने व्यवस्था थियो । कतिपय राजनैतिक दलका प्रतिनिधिहरूले ख्वप कलेजहरूलाई जस्तै अन्य निजी कलेजहरूलाई पनि नपाले अनुदान दिनुपर्नेमा जोड दिए । त्यसबारे विवादपछि सर्वदलीय बैठक नै बस्न सकेन ।
सर्वदलीय बैठक विकासभन्दा भागबन्डामा केन्द्रित हुन्थ्यो, अहिले शासक दलहरूबिच शिक्षक, कर्मचारी, उपकुलपति, राजदूत भागबन्डा गरेजस्तै । दलहरूबिच हरेक क्षेत्रमा भागबन्डाकै कारण देश बिग्रिएको हो । हामीले भक्तपुर नगरपालिकामा भागबन्डाको प्रवृत्तिलाई भित्र्याउन दिएनौँ । सबै काम पारदर्शी तरिकाले गर्दै आएका छौँ । २०५६ सालमा भनपालाई ट्रान्सपरेन्सी इन्टरनेसनलले सदाचारको टापु घोषणा गरेको पनि हामी यहाँ स्मरण गर्न चाहन्छौँ ।
२०७२ सालमा भूकम्प गएपछि स्थानीय निकाय जनप्रतिनिधिबिहीन भएको कारण देशले धेरै समस्या भोग्नुपर्यो । सर्वदलीय संयन्त्रले काम गर्न सक्ने अवस्था थिएन । लाखौँ घर र हजारौँ सम्पदाहरू क्षतविक्षत भएको अवस्थाको पुनःनिर्माण राजनैतिक दलहरूको निम्ति ठूलो चुनौती बन्यो । २०७४ सालमा निर्वाचन भयो ।
हामी २०७४ सालमा निर्वाचित हुँदा भक्तपुर भूकम्प पूरै क्षतिग्रस्त अवस्थामा थियो । पूर्ण र आंशिक गरी ८ हजार घर र १२० भन्दा बढी सम्पदाहरू बिग्रे भत्केका थिए । त्यही मौकामा धेरै विदेशी गैरसरकारी र अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाहरू सहयोगको नाउँमा आउन थाले । नेपाल मजदुर किसान पार्टीले अरुको सहयोग लिनुभन्दा आफैँले बनाउनेतिर जोड दियो । जर्मनी सरकारले यहाँका सम्पदा पुनःनिर्माणको लागि पठाएको १ करोड युरो (१ अर्ब २० करोड रूपैयाँ) समेत अस्वीकार गरी भनपाले पैसा फिर्ता गर्यो । आफ्नै बलबुत्ताले पुनःनिमाणमा अघि बढ्ने भक्तपुर नगरपालिकाले अठोट गर्यो ।
जर्मनी पैसासँगै उनीहरूको स्वार्थ पनि थियो । अहिलेको एमसीसीका बुँदाहरूजस्तै कर्मचारी आफँै नियुक्ति गर्ने, उनीहरूको सिफारिसमा सामान खरिद गर्नुपर्ने, मुद्दा परेमा जर्मनी कानुनअनुसार चलाउने, हिसाब उनीहरूकै अडिटरले हेर्ने, हाम्रा सम्पदाहरूमा हाम्रो कानुनविपरीत दण्डी सिमेन्ट प्रयोग गर्ने जस्ता शर्तहरूको कारण हामीले त्यसलाई अस्वीकार गरेका थियौँ । त्यतिबेला हाम्रा विपक्षीहरूले भक्तपुर कैयौँ वर्षसम्म भग्नावशेषमा रहने भयो भनेर आलोचना गरे । हामीले त्यसको कामले जवाफ दिने नीति लियौँ† जनतालाई पुनःनिर्माणमा सहयोग गर्न आग्रह गर्यौँ । विदेशी सहयोग लिएमा स्वाभिमानमा आँच पुग्न सक्नेबारे जनतालाई सम्झायौँ । सम्पदाहरू निर्माणमा सयौँ र हजारौँ नगरवासीले सहयोग गरे । लाखौँ र करोडौँ सहयोग प्राप्त भयो ।
भक्तपुर विचार, सिद्धान्त र जनताको सेवा गर्ने भावनाले बनेको हो । जनतालाई निर्वाचनको बेला दिएको बचनअनुसार काम गर्यौँ । ५ वर्षमा १२४ वटा सम्पदा पुनःनिर्माण र जीर्णोद्धार सम्पन्न भए भने अहिलेसम्ममा कुल १४५ वटा सम्पदाहरूको पुनः निर्माण सम्पन्न भएको छ । जनताको आर्थिक, भौतिक र श्रमदानसमेत गर्दा थोरै रकममा धेरै सम्पदाहरू पुनःनिर्माण गर्न सफल भयौँ । जनप्रतिनिधि, राजनैतिक कार्यकर्ता र स्थानीय जनताका एक मनको एकताले नै भक्तपुर आजको अवस्थामा पुग्न सम्भव भएको हो ।
स्वास्थ्य क्षेत्रमा हामीले घरदैलो सुरु गर्यौँ । नेपाल सरकारले पनि ३।४ वर्षपछि घरदैलो नर्स सुरु गर्यो । सुरुमा भक्तपुर र बर्दिबासमा लागू गर्यो भने अहिले अन्य नपामा पनि विस्तार गर्दै छ । यस अर्थमा घरदैलो नर्सिङ पनि नेपालमा पहिलोपटक भक्तपुर नगरपालिकाले नै सुरु गरेको हो । वडा वडामा स्वास्थ्य केन्द्रहरू स्थापना गर्दै छौँ । छिटो छरितो स्वास्थ्य सेवामा जनताका पहुँच पु¥याउने गरी काम गर्दै छौँ । १०० शøयाको ख्वप अस्पताल सञ्चालन गरी जनताको सेवा गर्दै छौँ । ख्वप तिलगङ्गा आँखा अस्पताल सञ्चालन, श्वासप्रश्वास केन्द्र र नागरिक आरोग्य केन्द्र स्थापना गरी जनतालाई सेवा प्रदान गरिरहेका छौँ । एउटा एनजीओले निजी संस्थाको रूपमा सञ्चालन गरिरहेको क्यान्सर अस्पताललाई राज्यको स्वामित्वमा ल्याउन पहल गर्यौँ र बनाएरै छाड्यौँ । भक्तपुर अस्पताल पनि राम्रो अस्पताल बनेको छ । अङ्ग प्रत्यारोपण केन्द्रले पनि राम्रो सेवा दिइरहेको छ । स्वास्थ्य सेवामा भक्तपुर अहिले धेरै अगाडि बढेको छ ।
विभिन्न सञ्चारमाध्यमहरूमार्फत हाम्रा गतिविधि जनतालाई जानकारी दिने उद्देश्यले सञ्चालन गरिरहेका छौँ भने युवाहरूलाई विभिन्न सीपमूलक तालिमहरू दिइरहेका छौँ । संविधान र कानुनको घेराभित्र बसेर जनताको सेवा गरिरहेका छौँ ।
यो वर्ष अरनिको सभाभवन निर्माण कार्य अगाडि बढाउने, ख्वप विश्वविद्यालय सञ्चालन गर्ने, थन्थु दरबार पुनःनिर्माण गर्ने, उपचार पोखरीहरूको निर्माण कार्यलाई तीव्र गतिमा अगाडि बढाउने हाम्रो योजना छ । हामी भक्तपुरलाई सफा, सुन्दर नगर र एउटा उदाहरणीय नगर बनाउने प्रयासमा लागिरहेका छौँ । भक्तपुर आजको अवस्थामा आइपुग्न हजारौँ जनताले प्रत्यक्ष र अप्रत्यक्ष सहयोग गरेका छन् । आजको यो सभामार्फत ती सबै सहयोगी हातहरूलाई हार्दिक धन्यवादज्ञापन गर्दछौँ । धन्यवाद ¤
(२०८० पुस २ गते भक्तपुर नपाको ७४ औँ स्थापना दिवसको अवसरमा आयोजित प्रवचन कार्यक्रममा भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको मन्तव्य)
Leave a Reply