भर्खरै :

विदेसिएका युवाहरू बिचल्लीमा : कष्टकर जीवन बिताउन बाध्य

विदेसिएका युवाहरू बिचल्लीमा : कष्टकर जीवन बिताउन बाध्य

काठमाडौँ, २३ माघ । नेका सम्मिलित माओवादीको नेतृत्वमा बनेको सरकारले योग्यताअनुसार काम र कामअनुसारको ज्यालाको बन्दोबस्त गर्न नसक्दा नेपाली युवाहरू कामको खोजीमा बिदेसिन बाध्य भएका छन् । देशमा सन्तुलित विकास गरेर रोजगारीको व्यवस्था गरिएको भए, उनीहरूको योग्यता, क्षमता, कला, सीप र अनुभवको आधारमा काममामको व्यवस्था गरिएको भए नेपाली युवाहरू विदेश जानुपर्ने बाध्यता हुने थिएन । म्यानपावर कम्पनीको लोभलालच, धेरै आयआर्जन हुने लालच र गरिबीको कारण हजारौँ हजार युवाहरूले नेपाली भूमि छोडिरहेका छन् । दलालको लोभमा फसेर कमाउने आसमा कति युवाहरू सेनामा भर्ना भए त कति अर्कै धन्दामा लागे । नेपाली युवाहरू कहिले शान्ति सेनाको नाउँमा त कति दलालीहरूको प्रलोभनमा सेना र अन्य निकायमा संलग्न भए । माघ २३ गते प्रकाशित ‘अन्नपूर्ण पोस्ट’ दैनिकमा ‘बरु कमाइ चाहिएन, सास जोगाइदेऊ’ शीर्षकको समाचार छापियो । रुसी सेनामा भर्ती भएका परिवारका आफन्तहरूले कमात्न्दा ज्यान ठुलो छ भनी स्वदेश फर्काउन आग्रह गरिरहेका छन् ।
ऋण काढेर विदेशमा सेनामा भर्ना भएका नेपाली युवाहरूको कतिको ज्यान गइसकेको छ† कति अझै बेपत्ता छन् । पीडित परिवारहरूले त सास नभए लास भए पनि खोजिदिन सरकारसँग आग्रह गरिरहेका छन् । मानव अधिकार तथा शान्ति समाजद्वारा सोमबार रुसी राजदूतावास अगाडि युक्रेनमाथिको आक्रमण बन्द गर्न, रुसी सेनामा भर्ती नगर्न आग्रह गर्दै प्रदर्शन गरियो । त्यस्तै, संयुक्त अरब इमिरेट्स (यूएई) मा राम्रो कमाइ हुने लोभमा पुगेका नेपाली युवाहरू पनि अलपत्रमा परेका छन् । काठमाडौँको अल सेक्युर म्यानपावर कम्पनीमार्फत पुगेका नेपालीहरू उद्धारको पखाईमा छन् । माघ २३ गतेको ‘राजधानी’ दैनिकमा छापियो, ‘राम्रो कमाइको प्रलोभनमा यूएई पुगेँ, नपाउनु दुःख पाएँ ।’ यूएई पुगेका नेपाली युवाहरूलाई म्यानपावर कम्पनीले धोका दिएको थियो । काम र तलब रोकेको कारण युवाहरूको स्थिति अन्योल छ । विदेश छिरेका नेपाली युवाहरूको यस्तो समस्या त कति छ कति, लेखाजोखा गरेर साध्य छैन । ऋण काढेर विदेश पसेका ती युवाहरू फेरि स्वदेश फर्कन पनि ऋण लिन बाध्य भएका छन् । यसरी नै कति चेलीबेटीहरू पनि राम्रो कमाइ हुने प्रलोभनमा परेर कम्पनीका दलालहरूले वेश्यालय पु¥याएका छन्† बेचेका छन् । बेचिएका र वेश्यालय पु¥याएका युवतीहरूको सङ्ख्या पनि कम छैन ।
यसरी कष्टकर जीवन बिताउन बाध्य नेपालीहरूको दुर्दशा सरकारले कहिलेसम्म हेरिराख्ने ? के शासक र ठुला दलका नेताहरूले त्यस्तो घटनाबाट शिक्षा लिनुपर्दैन ? विदेश जाने काम रोकेर सरकारले स्वदेशमै रोजगारीको व्यवस्था गर्न सक्दैन ? आफ्नै देशमा रोजगारी पाए, सुनिश्चित जीवन बिताउन पाए आफ्नो जन्मभूमि छोडेर युवाहरू विदेश किन जान्छन् ? यसको लागि सरकारले पूर्वाधार तयार गर्नुपर्छ; काममामको व्यवस्था गर्नुपर्छ । सरकारले नेपाली युवाहरूलाई खालि विदेश पठाउने र विदेशीनिर्भर हुने काम रोक्नुपर्छ । देशको नेतृत्व गरेर देशमा केही नगरी विदेश निर्भर हुने सरकार या सत्तारुढ दलका नेता र मन्त्रीहरूको विचार नै गलत छ । दल र दलका नेताहरू देश र जनताप्रति जिम्मेवार नभइकन देशले विकासको काँचुली फेर्न सक्दैन । यतातर्फ सरकारको ध्यान जाओस् !

Leave a Reply

Your email address will not be published. Required fields are marked *